काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन ओटा परम रुद्र सुपरकम्प्युटरको उद्घाटन गरेका छन् । राष्ट्रिय सुपरकम्प्युटिङ मिसन अन्तर्गत भारतमै विकास भएका यी सुपरकम्प्युटर मोदीले हालै भिडिओ कन्फेरेन्समार्फत उद्घाटन गरेका हुन् ।
सो अवसरमा मोदीले ब्रह्माण्डको रहस्य उजागर गर्नेदेखि स्वास्थ्य, कृषि, जलवायु विज्ञान र ऊर्जा व्यवस्थापनमा क्रान्ति ल्याउन सुपरकम्प्युटरमार्फत नयाँ डिजिटल युगको सुरुवात भएको बताए ।
“आज विज्ञान र प्रविधिको संसारमा भारतका लागि ठूलो उपलब्धिको दिन हो,” सुपरकम्प्युटरको उद्घाटन गर्दै मोदीले भने, “ भारत आजको दिन २१ औं शताब्दीको विज्ञान, प्रविधि र अनुसन्धानलाई प्राथमिकता दिएर कसरी अगाडि बढिरहेको छ भन्ने प्रतिबिम्ब पनि हो ।”
यी तीन ओटा सुपरकम्प्युटर भारतका वैज्ञानिक र इन्जिनियरले निर्माण गरेका हुन् । मोदीका अनुसार तीन सुपरकम्प्युटर दिल्ली, पुणे र कोलकातामा स्थापित भएका छन् । यी कम्प्युटर प्रयोगमा आएसँगै एआई, मसिन लर्निङ र डेटा एनालिटिक्सका क्षेत्रमा भारतले उल्लेखनीय प्रगति गर्ने अपेक्षा गरिएको छ ।
कम्प्युटरसँगै ‘आर्का’ र ‘अरुणिका’ नामका दुई ओटा उच्च क्षमताको कम्प्युटिङ प्रणालीको पनि उद्घाटन गरिएको छ ।
सार्वजनिक गरिएका तीन कम्प्युटरले भौतिक शास्त्र, पृथ्वी विज्ञान र ब्रह्माण्डको विषमा गहन खोज तथा अनुसन्धान गर्न सघाउने बताइएको छ । ती तीन कम्प्युटर निर्माण गर्नका लागि १३० करोड भारू (दुई अर्ब आठ करोड नेपाली रुपैयाँ) लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
त्यस्तै मौसम तथा जलवायुसम्बन्धी अध्ययन गर्नका लागि ८५० करोड भारू (१३ अर्ब ६० करोड रुपैयाँ) बराबरको कम्प्युटिङ सिस्टमको सुरुवात गरिएको छ ।
मोदीले भारतले आफ्नै सेमिकन्डक्टर इकोसिस्टम निर्माण गरिरहेको र यो विश्वव्यापी आपूर्ति श्रृंखलाको महत्वपूर्ण हिस्सा हुने पनि बताए । “प्रविधि र कम्प्युटिङ क्षमतामा कुनै पनि क्षेत्र निर्भर छैन,” मोदीले भने, “ यो क्रान्तिमा हाम्रो हिस्सेदारी बिट्स र बाइट्समा होइन, टेराबाइट्स र पेटाबाइट्समा हुनुपर्छ । यस उपलब्धिले हामी सही दिशामा र सही गतिमा अघि बढिरहेको पुष्टि गर्छ ।”