close

कानमा लगाए पनि बाहिरको आवाज सुन्न मिल्ने नथिङ इयरबड्स सार्वजनिक

टेकपाना टेकपाना

असोज १२, २०८१ १९:४५

कानमा लगाए पनि बाहिरको आवाज सुन्न मिल्ने नथिङ इयरबड्स सार्वजनिक

 

काठमाडौं । लण्डनमा आधारित हार्डवेयर कम्पनी नथिङले नयाँ इयरबड्स ‘इयर ओपन’ सार्वजनिक गरेको छ । कानबाहिर लगाउन मिल्ने गरी डिजाइन गरिएको यो इयरबड्स कम्पनीले गत मङ्गलवार सार्वजनिक गरेको हो । 

यस इयरबड्सले बाहिरी आवाज रोक्ने भन्दापनि वरपरको वातावरण बुझ्न सहयोग गर्ने बताइएको छ । एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) भएका इयरबड्सले बाहिरी आवाज कानसम्म पुग्न रोक्छन् । तर यो इयरबड्सले प्रयोगकर्तालाई आफू वरपरको अवस्था बुझ्न मद्‍दत गर्ने कम्पनीले जनाएको छ । यसैले हिँड्दा, साइकल चलाउँदा यो इयरबड्स उपयुक्त हुने कम्पनीको भनाइ छ । 

तर यस्तो इयरबड्समा आवाज लिक (इयरबड्सबाट आएको आवाज कानसम्म नपुग्ने) हुने सम्भावना रहेको छ । किनकि यसले कानलाई पूरै बन्द गरेका हुँदैनन् । तर कम्पनीले आफ्नो ‘साउन्ड सिल सिस्टम’ र ‘डिरेक्सनल स्पिकर’ले आवाजको लिकेजलाई कम गराउने दाबी गरेको छ ।

नथिङ भिन्न डिजाइनका कारण चिनिएको ब्रान्ड हो । कम्पनीले यस कुरालाई यस इयरबड्समा पनि निरन्तरता दिएको छ । यहीकारण नथिङको ‘ओपन इयर’ अन्य इयरबड्स जस्तो सस्तो र भद्दा देखिँदैन ।

नथिङका अनुसार साधारण इयरबड्सको तुलनामा यो ३० प्रतिशत हलुका रहेको छ । यसबाट एक पटकको फुल चार्जमा ८ घण्टासम्म लगातार गीत सुन्न सकिने र चार्जिङ केसमा कुल ३० घण्टाको प्लेब्याक समय पाइने कम्पनीले जनाएको छ ।

कम्पनीले यसमा च्याटजीपीटी पनि एकीकृत गरेको छ, जसलाई चलाउन नथिङ एक्स प्रयोग गर्नुपर्ने हुन्छ ।

अहिले अमेरिका, क्यानडा, बेलायत र युरोपमा यसको प्रिबुकिङ खुलिसकेको छ । नेपालमा कहिले आउँछ भनेर भने नथिङको आधिकारिक वितरक सीजी मोबाइलले केही जानकारी दिएको छैन । 

आगामी अक्टोबर १ देखि मात्र बजारमा उपलब्ध हुने यस ओपन इयर इयरबड्सको मूल्य १४९ डलर (करिब २० हजार रुपैयाँ) तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १२, २०८१ १९:४५