काठमाडौं । राजधानी सहित देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको समयमा सही र सटीक जानकारी प्रवाह गर्नुका साथै आपतमा परेकालाई सहयोग तथा उद्धारमा सघाउन फेसबुकले नेपालमा ‘क्राइसिस रेस्पोन्स’ सेवा सुरु गरेको छ ।
यो सेवा अन्तर्गत व्यक्तिले आफू सुरक्षित भए/नभएको मार्क गरेर जानकारी दिन सक्छन् । त्यस्तै आपत् परेका व्यक्तिलाई उद्धार गर्नुका साथै गाँस, बास र कपासको व्यवस्थापन समेत गर्न सकिन्छ । क्राइसिस रेस्पोन्सको सहायताले आसपासका क्षेत्रमा के भइरहेको छ भन्ने विषयको जानकारी लिन सकिन्छ ।
यसमा फेसबुकले जैविक प्रकोपको सामना गरिरहेका ठाउँको सूची राखेको हुन्छ । नेपाललाई फेसबुकले क्राइसिस रेस्पोन्सको सूचीमा २२ घण्टा अगाडि राखेको थियो ।
यहाँ क्लिक गरेर क्राइसिस रेस्पोन्स अन्तर्गत कसले सहयोगको याचना गरिरहेका छन्, के-कस्ता समाचार आएका छन्, के-कस्ता फोटो र भिडिओ बाहिरिएका छन्, कसले खाद्यान्न तथा बस्ने ठाउँको व्यवस्थापन गरिदिएका छन् भन्ने थाहा पाउन सकिन्छ ।
तपाईंले आफूलाई कुनै आपत् परेको छ वा आफू सहयोग गर्न तयार हुनुहुन्छ भने क्राइसिस रेस्पोन्समा पोस्ट गरेर आफ्नो सम्पर्क विवरण उपलब्ध गराउन सक्नुहुन्छ । तपाईंले उपलब्ध गराएको सम्पर्क विवरण पछ्याएर सहयोग आवश्यक परेका व्यक्तिले सम्पर्क गर्न सक्छन् ।
के हो क्राइसिस रेस्पोन्स ?
क्राइसिस रेस्पोन्स भनेको फेसबुकले आपतकालीन अवस्थामा सहायता पुर्याउन सुरु गरेको एउटा विशेष सुविधा हो । यो सेवा प्राकृतिक विपद्, मानवीय सङ्कटको वा अन्य आपतकालीन घटनाहरूको समयमा प्रभावित व्यक्तिहरूसँग सम्पर्क गर्न, जानकारी आदानप्रदान गर्न, र सहयोग पुर्याउनको लागि डिजाइन गरिएको हो ।
क्राइसिस रेस्पोन्सको प्रयोग कसरी गरिन्छ ?
१) सेफ्टी चेक
जब कुनै ठूलो विपद् वा सङ्कटको घटना हुन्छ, फेसबुकमा ‘सेफ्टी चेक’ नामक सुविधा सक्रिय हुन्छ । यसमा प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरूले आफू सुरक्षित रहेको जानकारी दिन सक्छन् ।
यसले साथीभाइ र परिवारलाई उनीहरूको अवस्था थाहा पाउन मद्दत गर्छ । तपाईंले फेसबुकमा ‘फलानो मार्क्ड हिमसेल्फ/हरसेल्फ सेफ’ भन्ने पोस्ट देख्नु भएको होला । त्यो नै सेफ्टी चेक हो । तपाईंसँग एड भएका कुन-कुन व्यक्तिले आफू सुरक्षित भएको मार्क गरेका छन् भन्ने त्यहींबाट हेर्न सकिन्छ ।
२) समाचार तथा जानकारी
संकटको समयमा सटीक जानकारी प्राप्त गर्न क्राइसिस रेस्पोन्सको प्रयोग गरिन्छ । यसबाट आपतकालीन सेवाहरू, उद्धारकर्ता वा प्रभावित व्यक्तिहरूले घटनासम्बन्धी अपडेटहरू र सहायताका लागि आवश्यक जानकारी सजिलै आदान-प्रदान गर्न सक्छन् ।
३) सहयोग र उद्धार
क्राइसिस रेस्पोन्सले प्रभावित व्यक्तिहरूलाई आवश्यक पर्ने सहयोगको लागि अनुरोध गर्न वा सहयोग गर्ने अवसर दिन्छ । यसमा मानिसहरूले आपतकालीन राहत सामग्री, उद्धार टिम वा अन्य आवश्यक सहयोग उपलब्ध गराउन सक्छन् ।
४) आर्थिक सहयोग सङ्कलन
संकटमा परेकाहरूलाई आर्थिक सहयोगको आवश्यकता परे फेसबुकमार्फत सहयोग उठाउन सकिन्छ । यसले सङ्कटको समयमा सहयोग र उद्धारका लागि स्रोतहरू जुटाउन मद्दत पुर्याउँछ । यसरी क्राइसिस रेस्पोन्स सुविधा सङ्कटको समयमा मानिसहरूलाई सुरक्षित राख्न, आवश्यक जानकारी शेयर गर्न र सहयोग पुर्याउन मद्दत गर्छ ।