close

नेपालको आईटी लगायतका क्षेत्रमा लगानी गर्न इच्छुक देखिए कतारका लगानीकर्ता

टेकपाना टेकपाना

असोज १७, २०८१ १९:३४

नेपालको आईटी लगायतका क्षेत्रमा लगानी गर्न इच्छुक देखिए कतारका लगानीकर्ता

काठमाडौं । कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर खोजीरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक तथा वित्तीय संस्था सम्बद्ध सेवाहरू, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरूले रुचि देखाएका हुन् । 

“यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजीरहेका छन्,” कतार चेम्बर अफ कमर्सका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने, “हामी थप लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्नेछौँ ।”

नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्ष स्तरीय बैठकमा अध्यक्ष थानी र महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालका साथै प्रतिनिधिमण्डलबिच बुधबार कतारको राजधानी दोहामा सम्पन्न बैठकमा आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको हो । 

कतारका अमीर सेखतमीम बिन हमाद अल थानीको गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासङ्घ र कतार चेम्बरबिच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । काउन्सिलको यस पहिलो अध्यक्ष स्तरीय बैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आआफ्नो नेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राखेका  थिए । आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि भएको छ । 

बैठकमा अध्यक्ष ढकालले नेपालमा बाह्य क्षेत्र स्थायीत्व रहेको र कानुनहरूमा गरिएको सुधारले लगानीको अवसर जुटदै गएको बताए । साथै उनले कतारका लगानीकर्ताहरूलाई नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, सीप विकास लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आह्वान समेत गरे । 

यसै गरी कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता पनि जनाएका थिए ।

 

पछिल्लो अध्यावधिक: असोज १७, २०८१ १९:३४