close

वितरक कम्पनीसँग स्पेयर पार्ट्स नहुँदा किया निरो ईभी १.५ वर्षसम्म सर्भिस सेन्टरमै थन्किएपछि…

टेकपाना टेकपाना

असोज २०, २०८१ १५:३६

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । कोरियन कम्पनी कियाको एक विद्युतीय गाडी स्पेयर पार्ट्स अभावमा करिब डेढ वर्षसम्म सर्भिस सेन्टरमै थन्किएको तथ्य बाहिरिएको छ । नेपालका लागि कियाको आधिकारिक वितरक कम्पनी कन्टिनेन्टल ट्रेडिङको लापर्बाहीले एक जना विद्युतीय सवारी धनीले नसोचेको दुःख पाएका हुन् । 

२८ भदौ २०७९ को मितिमा काठमाडौं, कमलपोखरी स्थित सिटी सेन्टरको पार्किङबाट निस्किने क्रममा उक्त ईभी दुर्घटनामा परेको थियो । अन्डरग्राउन्ड पार्किङबाट उकालोमा एक्सिलेरेटर थिचेपछि गाडी हुत्तिएको, स्टेरिङ समेत नमोडिएको र एक्सिलेरेटर दबिई रहँदा दुर्घटना निम्तिएको चालकको दाबी थियो ।

गौरीशङ्कर ग्यास उद्योगका मालिक रामचन्द्र सङ्घाईको नाममा रहेको उक्त गाडीमा त्यस दिन उनकी श्रीमती शपिङका लागि गएकी  थिइन् । प्रदेश-३-०१-२२-च नम्बरको सो गाडी त्यस दिन राम श्रेष्ठले चलाइरहेका थिए । नेपाली सेनामा सवारी चालककै जागिर खाएर अवकाश प्राप्त उनले चलाएको त्यो नै पहिलो ईभी पनि थिएन । 

गजुरी, बनेपा, लुभु, एयरपोर्ट लगायतका ठाउँमा उनी त्यही ईभी लिएर दौडिरहन्थे । अचानक त्यही गाडी दुर्घटनामा पर्‍यो र सङ्घाई श्रीमती सामान्य घाइते समेत भइन् । चालक र यात्री कसैलाई गम्भीर चोटपटक नलागे पनि गाडीमा भने ठुलै क्षति भएको थियो । 

उद्योगका कर्मचारी सन्दीप ढकालका अनुसार कम्पनीले गाडी मर्मत गर्न सुरुमा ३८ लाख रुपैयाँको कोटेसन दिएको थियो । जसमा डेढ/दुई सय पार्ट्सको सूची थियो । गाडीमा मात्र नभई दुर्घटनाबाट एउटा घरमा समेत क्षति पुगेको थियो । 

“हामीले छिटो गाडी मर्मत गरिदिन भन्दै लगातार रूपमा कम्पनी र सर्भिस सेन्टरलाई आग्रह गरिरह्‍यौँ,” उनले भने, “तर आवश्यक स्पेयर पार्ट्स नै आइपुगेको छैन भन्दै लगातार रूपमा टार्ने काम मात्रै भयो । हाम्रो साहुजीले समेत गाडी कम्पनीको साहुजीलाई गाडी मर्मतमा ढिलाई भएको जानकारी गराउँदै छिटो गरिदिन अनुरोध गर्नु भएको थियो । तर पछि उहाँले पनि फोन उठाउन छोड्नु भएछ ।”

गाडी बनाउन ढिलाई भएको बारेमा लिखित अनुरोध पठाउँदा समेत वितरक कम्पनीले बुझ्न नचाहेको आरोप सवारी धनीको छ । वितरक कम्पनीले राम्रोसँग वास्ता नगरेपछि त्यस विषयमा कियाको कोरिया स्थित कम्पनीलाई समेत ईमेल लेखिएको ढकालले सुनाए ।

गाडी मर्मतमा ढिलाई भएपछि आफूहरूको थप क्षति भएको उनी बताउँछन् । “कम्पनीकै कारण वर्षौंसम्म मर्मत सम्भार नहुनु निकै गैरजिम्मेवारपूर्ण काम हो । अरू देशमा भए कम्पनीले क्षतिपूर्ति समेत दिनुपर्ने हुन्थ्यो,” उनी भन्छन् । यद्यपि क्षतिपूर्तिको माग राख्दै सवारी धनीको तर्फबाट कहिँकतै उजुरी भने नदिइएको उनले बताए । 

लामो समयसम्म गाडी नबनेपछि बाध्यताले अर्को गाडी किन्नु पर्ने अवस्था आएको कुरा समेत उनले सुनाए । “हाम्रो उद्योगमा कियाकै ६/७ ओटा गाडी छन्,” ढकालले अगाडि भने, “तर कल्पना नै नगरेको हैरानी खेपेपछि कियामा मनै नलाग्ने भएको छ । बरु त्यसको ठाउँमा हामीले टाटाको पेट्रोल गाडी किन्यौं ।”

सङ्घाईले ३ मंसिर २०७६ मा १५० किलोवाट क्षमताको मोटर भएको किया निरो ईभी खरिद गरेका थिए । २०१९ मोडेलको उक्त गाडी तीन वर्ष नपुग्दै दुर्घटनामा परेपछि करिब डेढ वर्ष सर्भिस सेन्टरमै थन्कियो । गएको मङ्सिरमा मात्रै उक्त गाडी मर्मत भएर आएको बताइएको छ । 

ढकालका अनुसार गाडी मर्मत खर्च मध्ये २६ लाख ९९ हजार रुपैयाँ मात्रै बीमाबाट समेटिएको छ । बाँकी मर्मत खर्चदेखि क्षति भएको घरको मर्मत खर्च डेढ लाख रुपैयाँ समेत आफूहरूले ब्यहोर्नु परेको उनल सुनाए । 

तर उता किया नेपालका सर्भिस हेड अमित चौधरीले भने यो विषयमा आफू अनभिज्ञ रहेको बताए । “स्पेयर पार्ट्स नभएर दुई वर्षसम्म कुनै गाडी थन्किएको रेकर्ड हाम्रोमा छैन,” उनले दाबीका साथ भने । तर उक्त गाडी कति समय सर्भिस सेन्टरमा थन्किएको थियो भन्ने कुरा चाहिँ उनले स्पष्टसँग खुलाएनन् ।

गाडी सर्भिसिङका लागि लाग्ने समय दुर्घटनाको प्रकृतिमा भर पर्ने उल्लेख गर्दै चौधरीले आफूहरू म्यानुफ्याक्चरर नभई डिस्ट्रिब्युटर भएकाले केही सीमितता हुने जिकिर गरे । “सर्भिसिङमा विभिन्न कारणले गर्दा ढिलो हुन सक्छ । स्पेयर पार्ट्सहरू सबै कोरियाबाट नै आउने हो । मर्मत गर्न कति समय लाग्छ भन्ने कुराका लागि दुर्घटनाको प्रकृति हेर्नु पर्ने हुन्छ । त्यसको आधारमा हामीसँग स्थानीय रूपमा उपलब्ध स्पेयर पार्ट्सबाट सम्भव भए छिट्टै बनि हाल्छ ।”

तर सर्भिसिङका लागि निश्चित स्तरमा मात्रै सामान राखिएको हुने भन्दै उनले उपलब्ध नभएका सामान कोरियाबाटै अर्डर गर्नुपर्ने जानकारी गराए । “उता पनि उपलब्धता कत्तिको छ भन्ने हुन्छ,” उनले अगाडि भने, “कि भने किया निरो ईभी अहिले नेपाल आउन छोडिसकेको छ । एक समय जे जति आए, आए ।”

पछिल्लो अध्यावधिक: असोज २०, २०८१ १५:५४