close

माइक्रोसफ्ट वर्ड प्रयोग गर्ने कि गुगल डक्स ?

टेकपाना टेकपाना

असोज २१, २०८१ ९:५३

माइक्रोसफ्ट वर्ड प्रयोग गर्ने कि गुगल डक्स ?

काठमाडौं । वर्ड टाइप गर्नका लागि माइक्रोसफ्ट वर्ड र गुगल डक्स (Google Docs) सर्वाधिक बढी प्रयोग हुने टुल हुन् । प्रयोग गर्दै जाँदा यी दुई फरक टुलका विशेष फिचर रहेको थाहा पाउन सकिन्छ । आज‍ हामी यी टुलमा पाइने यस्ता फिचरको चर्चा गर्छौं, जसले गर्दा तपाईंलाई कुन टुल उपयुक्त छ भन्ने निर्णय लिन सहज हुनेछ:

१) फिचर 
माइक्रोसफ्ट वर्ड शक्तिशाली वर्ड प्रोसेसिङ टुल हो । यसमा थुप्रै फर्म्याटिङ र कस्टमाइजेसनका फिचरहरू छन् । यसमा गुगल डक्समा नभएका म्याक्रोज, फोकस मोड, मेल मर्ज जस्ता उपयोगी फिचर छन् । जसले गर्दा माइक्रोसफ्ट वर्ड डक्सभन्दा विशेष छ ।

यता गुगल डक्स साधारण, तर बहुउपयोगी वर्ड प्रोसेसिङ टुल हो । यसमा तपाईँलाई आवश्यक पर्ने कैयन् फिचरहरू छन् । जसले तपाईंको अनुभवलाई स्तरीय बनाउन मद्दत गर्छन् । खासगरी बेसिक फर्म्याटिङ, स्पेल चेकिङ, पेज लेआउटका अप्सन यसमा उपलब्ध छन् । एड-अनको फिचर पनि रहेको छ । यसले गर्दा तपाईंले गुगल डक्सलाई विभिन्न थर्ड-पार्टी एपसँग कनेक्ट गर्न सक्नुहुन्छ ।

एड्भान्स फिचरको कुरा गर्ने हो भने गुगल डक्सभन्दा माइक्रोसफ्ट वर्ड नै अगाडि छ ।

२) युजर इन्टरफेस
माइक्रोसफ्ट वर्षौंदेखि प्रयोगमा आएको टुल हो । यसको इन्टरफेस स्तरीय छ । यसमा रिबन स्टाइलको टुलबार छ, जसमा फर्म्याटिङ, डिजाइनदेखि लेआउटसम्मका विभिन्न टुल छन् । तपाईंले आफ्नो आवश्यकता अनुसार उक्त रिबनलाई कस्टमाइज गर्न सक्नुहुन्छ । 

यता गुगल डक्समा साधारण इन्टरफेस छ । यसमा आवश्यक पर्ने सबै फिचर समावेश गरिएका छन् । साधारण डिजाइन मन पराउनेका लागि गुगल डक्स उपयुक्त छ । अनलाइनमा वर्ड टाइप गर्नका लागि स्तरीय अनुभव लिन चाहनुहुन्छ भने गुगल डक्स तपाईंका लागि सही हुन्छ ।

माइक्रोसफ्ट वर्डमा अनेकन् फिचर भए पनि इन्टरफेस भने जटिल छ । यदि तपाईंले पहिले कुनै अफिस एप प्रयोग गर्नु भएको छैन भने तपाईंलाई वर्ड प्रयोग गर्न जटिल लाग्न सक्छ । त्यस्तै सामान्य तरिकाले त्यति धेरै फिचर प्रयोग नगरी शब्द टाइप गर्न खोज्ने प्रयोगकर्ताका लागि गुगल डक्स राम्रो हो ।

३) फाइल शेयरिङ
माइक्रोसफ्ट वर्डमा फाइल शेयर गर्ने सुविधा छ । तपाईंले वर्ड फाइल ईमेल, वनड्राइभ वा शेयर पोइन्टबाट शेयर गर्न सक्नुहुन्छ । त्यसमा अर्को व्यक्तिले एडिट वा कमेन्ट गर्ने अनुमति दिन सकिन्छ । यसको ट्रयाक चेन्ज फिचरको सहायताले वर्डमा के के परिवर्तन भयो भन्ने थाहा पाउन सकिन्छ ।

यता गुगल डक्समा पनि वर्ड जस्तै फाइल शेयर गर्न सकिने सुविधा छ । तपाईंले लिङ्क शेयर गरेर वा ईमेलमार्फत फाइल शेयर गर्न सक्नुहुन्छ । अर्को व्यक्तिले तपाईंको डक्समा पहुँच पाएको छ भने रियल टाइममा उसले के के एडिट गर्‍यो भन्ने थाहा पाउन सकिन्छ ।

दुवै टुलमा फाइल शेयरिङको सुविधा भए पनि गुगल डक्स सहज छ ।

४) अफलाइन प्रयोग
अफलाइन मोड प्रयोग गर्नुहुन्छ भने गुगल डक्सभन्दा माइक्रोसफ्ट वर्ड नै तपाईंका लागि राम्रो हुन्छ । वर्ड डेस्कटप एप भएकाले यसलाई अनलाइन नहुँदा पनि प्रयोग गर्न सकिन्छ । यसका प्रायः सबै फिचर अफलाइन मोडमा पनि प्रयोग गर्न सकिन्छ । अफलाइन हुँदा यसमा टेम्प्लेट छान्न, कोलाबोरेसन टुल प्रयोग गर्न सकिन्छ ।

यता गुगल डक्स क्लाउडमा आधारित छ । यसले पूर्ण रूपमा काम गर्न इन्टरनेट आवश्यक पर्छ । हुन त गुगल डक्सले अफलाइन मोडको फिचर दिएको छ । तर, अफलाइन हुँदा तपाईंले यसका धेरै फिचर प्रयोग गर्न पाउनुहुन्न ।

खासगरी टेबल, चार्ट, ग्राफिक्स, इमोजी वा ड्रइङ राख्ने सुविधा अफलाइन मोडमा छैन । यदि तपाईं ग्रामीण ठाउँमा हुनुहुन्छ र त्यहाँ इन्टरनेटको पहुँच छैन भने तपाईंका लागि माइक्रोसफ्ट वर्ड नै उपयुक्त हुन्छ ।

५) कुन कुन फाइल क्रियट गर्न सकिन्छ ?
गुगल डक्स र वर्डमा थुप्रै फाइल टाइप जस्तै डक्स (docx), पीडीएफ (.pdf), टीएक्सटी (.txt), आरएफटी (.rft), एचटीएमएल (.html) लगायत अन्य पाउन सकिन्छ । तपाईंले गुगल डक्स वर्डमा र वर्ड फाइल डक्समा खोल्न सक्नुहुन्छ । तर, गुगल डक्समा भने फाइल फर्म्याटको कुरा बिग्रिने सम्भावना उच्च हुन्छ । खासगरी विशेष फन्ट, टेबल वा लेआउट गुगल डक्समा बिग्रिन सक्छ ।

तपाईं प्रीति वा अन्य नेपाली फन्टमा टाइप गर्नुहुन्छ भने त्यो फन्ट गुगल डक्समा नहुन सक्छ । त्यसैले तपाईंले छुट्टै युनिकोड टुल प्रयोग गर्नुपर्ने हुन्छ । एक पटक सेट गरिसकेपछि अर्को पटक गुगल डक्स प्रयोग गर्न सजिलो हुन्छ ।

तपाईंले पीडीएफ फाइल वर्ड र गुगल डक्स दुवैमा खोल्नभयो भने गुगल डक्समा फोटो र टेक्स्टको फर्म्याट बिग्रिएको पाउनुहुन्छ । तर वर्डमा पीडीएफ फाइल बिग्रिएको पाइँदैन । त्यसैले तपाईं जटिल फर्म्याट र पेज लेआउटमा काम गर्नुहुन्छ भने तपाईंका लागि माइक्रोसफ्ट वर्ड नै उपयुक्त हुन्छ ।

६) मूल्य र उपलब्धता
माइक्रोसफ्ट वर्ड माइक्रोसफ्ट ३६५ को एक भाग हो । तपाईंले वार्षिक ६९.९९ डलर (करिब साढे नौ हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ । यो शुल्क तिर्नुभयो भने तपाईंले माइक्रोसफ्टका अन्य टुल प्रयोग गर्न पाउनुका साथै १ टीबीसम्मको वनड्राइभ क्लाउड स्टोरेज पनि पाउनुहुन्छ । त्यस्तै तपाईंले एकै पटक १४९.९९ डलर (करिब २० हजार रुपैयाँ) तिर्नुभयो भने स्टुडेन्ट प्याकेजमा लाइफ टाइम सब्स्क्रिप्सन पाउन सक्नुहुन्छ ।

कतिपयले माइक्रोसफ्ट अफिसको क्रयाक भर्सन प्रयोग गरिरहेका हुन्छन् । क्रयाक भर्सन प्रयोग गर्दा फाइल हराउने जोखिम हुन्छ भने उक्त भर्सन उपलब्ध गराउने व्यक्ति वा संस्थाले मालवेयर पनि फैलाउन सक्छ । यसमा निःशुल्क प्रयोग गर्दा थुप्रै जोखिमको सामना गर्नुपर्ने हुन्छ ।

यता गुगल डक्स भने व्यक्तिगत प्रयोगका लागि निःशुल्क उपलब्ध छ । निःशुल्क प्रयोग गर्दा केही प्रिमियम बाहेक अरू फिचर प्रयोग गर्न सकिन्छ । गुगल डक्स म्याक, विन्डोज, एन्ड्रोइड र आईओएसमा प्रयोग गर्न सकिन्छ । तर, माइक्रोसफ्ट वर्ड सीमित डिभाइसमा प्रयोग गर्न सकिन्छ । यदि तपाईं निःशुल्क प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंका लागि गुगल डक्स नै उपयुक्त हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २१, २०८१ ११:२८