close

ईभीमा लङ ड्राइभ जानुअघि थाहा पाइराख्नुहोस् यी ६ कुरा

टेकपाना टेकपाना

असोज २३, २०८१ १३:५१

ईभीमा लङ ड्राइभ जानुअघि थाहा पाइराख्नुहोस् यी ६ कुरा

काठमाडौं । दशैं लागेसँगै ईभी लिएर लामो यात्रामा निस्किनेहरूको सङ्ख्या बढेको छ । पछिल्लो समय नेपालमा ईभी प्रतिको आकर्षण बढ्दै गए पनि पूर्ण रूपमा ईभी सुहाउँदा चार्जिङ स्टेसन लगायतका पर्याप्त पूर्वाधार भने विकास भइसकेका छैनन् ।

यस्तो अवस्थामा ईभीमा सानो समस्या आउँदा पनि चालक तथा सवारी धनीले लामो यात्रामा कठिनाइ र असहजता भोग्न पर्ने हुनसक्छ । विशेष गरी पहिला लामो यात्रामा ननिस्किएका वा नयाँ सवारी धनीलाई यस किसिमको समस्या आउन सक्ने सम्भावना बढी हुन्छ ।

यसै कुरालाई मध्यनजर गर्दै हामी आज तपाईंलाई लामो यात्रामा निस्किनु अघि चालक वा सवारी धनी आफैँले जाँच गर्नसक्ने ५ महत्त्वपूर्ण कुराबारे बताउँदै छौँ:

१ ) ब्याट्री चार्ज लेभल र चार्जिङ स्टेसन  

लामो यात्रामा निस्किँदा ईभी चालकहरूको सबैभन्दा ठूलो चिन्ताको विषय नै बीच बाटोमै चार्ज सकिएर अलपत्र परिने पो हो कि भन्ने हुन्छ । यसकारण ईभी लिएर लामो यात्रामा निस्किँदा आफ्नो गाडीमा पर्याप्त मात्रामा चार्ज छ कि छैन भन्ने चेक गर्नुपर्ने हुन्छ । 

आफ्नो गाडीको माइलेज तथा रेन्ज र बाटोमा रहेका चार्जिङ स्टेसनबारे जानकारी लिएर यात्राको योजना बनाउनु पर्छ । नजिकैको चार्जिङ स्टेसनमा पुग्दासम्म पनि कम्तीमा २० देखि ३० प्रतिशत चार्ज बाँकी नै रहने ढङ्गबाट यात्राको योजना बनाउनु उपयुक्त हुन्छ । 

ईभीको ब्याट्री २० देखी ८० प्रतिशत चार्ज गर्दा कम समय खपत हुने र सो समय यात्रामा लगाउन सकिने हुँदा बाटोमा पर्याप्त मात्रामा चार्जिङ स्टेसन भएको खण्डमा २०-८० को अनुपात कायम गर्दा राम्रो हुन्छ । देशका कुन कुन ठाउँमा फास्ट चार्जिङ स्टेसन छन् भन्ने थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

२ ) टायर प्रेसर र अवस्था

चालक आफैँले टायरको प्रेसर र अवस्था बारे जानकारी प्राप्त गर्न सक्छन् । आफ्नो गाडीको टायरमा कति मात्रामा टायरको प्रेसर हुनुपर्छ भन्ने जानकारी गाडीको 'युजर म्यानुअल' वा साइड डोर ज्याम्बमा देख्न सकिन्छ । यस बाहेक टायरको अवस्थाबारे पनि चालक स्वयंले निरीक्षण गर्न सक्छन् ।

३ )  फ्लुइडको मात्रा

लामो यात्रामा निस्किनु पूर्व चालक आफैँले जाँच गर्न सक्ने आर्को पक्ष हो, फ्लुइडको मात्रा । प्रायजसो ईभीहरुमा कुलेन्ट रिजर्भेयरका लागि बोनोट भित्र  एक पारदर्शी ट्यांक रहेको हुन्छ, जसमा प्रायः केलेन्टको प्रतीक वा ‘कुलेन्ट’ लेखिएको हुन्छ । रिजर्भेयरमा कुलन्टको न्यूनतम र अधिकतम मात्राको बारे जानकारी दिइएको हुन्छ । 

सोही अनुरूप चालकले कुलेन्टको उपयुक्त मात्रा कायम गर्न सक्छन् । 

यस्तै विन्डशिल्ड वाशर फ्लुइड रिजर्भेयर पनि सामान्यतः बोनट भित्रै हुन्छ । यसमा पारदर्शी प्लास्टिक डिजाइन र त्यसमा विन्डशिल्डको प्रतीक वा निलो रङ्गको ढक्कन हुने भएकाले सजिलै चिन्न सकिन्छ । चालकले उक्त ढक्कन खोलेर आवश्यक भएको खण्डमा वाशर फ्लुइड अर्थात् सफा पानी थप्न सक्छन् ।

४ ) ब्रेक तथा लाइट

लामो यात्रामा निस्किनु अगाडि चालकले ब्रेक र लाइटको अवस्था बारे निरीक्षण गर्नु पर्छ । यसो गर्नाले  बाटोमा पर्न सक्ने असुविधा र सम्भावित दुर्घटनालाई पनि न्यूनीकरण गर्न सकिन्छ ।

५ ) सफ्टवेयर तथा नेभिगेसन अपडेट

लामो यात्रा अनि नौलो गन्तव्यमा निस्किनु पूर्व चालकले ध्यान दिनु पर्ने र्को पक्ष हो , सफ्टवेयर तथा नेभिगेसन अपडेट ।  गाडीको सफ्टवेयर र नेभिगेसन प्रणाली अपडेट भएको खण्डमा दूरी मापन र चार्जिङ स्टेसनको जानकारी पाउन सहज हुन्छ । यसले समग्र यात्रालाई नै सहज बनादिन सक्छ ।

६) चार्जर सम्बन्धी एप र पर्याप्त ब्यालेन्स

प्रायः जसो ईभी धनीहरूले घरमै एसी चार्जरबाट गाडी चार्ज गरिरहेका हुन्छन् । कतिपयका लागि सार्वजनिक चार्जिङ स्टेसनको आवश्यकता लामो दुरीको यात्राकै क्रममा मात्रै पर्ने हुन्छ । 

यस्तोमा सार्वजनिक चार्जिङ स्टेसनमा ईभी चार्ज गर्ने तरिका र भुक्तानीको प्रक्रियाबारे थाहा नहुन सक्छ । त्यसैले लामो दुरीको यात्रामा निस्किनुअघि नेपाल विद्युत् प्राधिकरणका चार्जिङ स्टेसन, तपाईंकै ईभी कम्पनीका चार्जिङ स्टेसन अथवा अन्य चार्जिङ स्टेसनको सम्पर्क र भुक्तानी गर्ने विकल्पबारे जानकारी राख्न जरुरी हुन्छ ।

उदाहरणका लागि तपाईंले नेपाल विद्युत प्राधिकरणका चार्जिङ स्टेसन ‘म्यानलेस’ अर्थात् चार्जिङ स्टेसनमा मानवीय सहायता बिनै प्रयोग गर्नुपर्ने हुन्छ । यस्तोमा ‘एनईए चार्ज’ नामक एप डाउनलोड गरी त्यसमा पर्याप्त ब्यालेन्स लोड गर्ने कुरा निश्चित गर्न नभुल्नुहोस् । यस बाहेक आफ्नो ब्रान्डको कम्पनीको एप (उपलब्ध भएसम्म) र चार्जिङ गर्ने विधि प्रक्रियाबारे जानकारी राख्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २३, २०८१ १३:५१