काठमाडौं । तपाईंले पछिल्लो समय युट्युबको ट्रेन्डिङ सेक्सन कत्तिको नियाल्नु भएको छ ? यदि नियाल्ने गर्नुभएको छ भन्ने पक्कै पनि अधिकांश शर्ट्स भिडिओ ट्रेन्डिङमा आइरहेको देख्नु भएको होला । आफूलाई रुचि नहुने किसिमका शर्ट्स ट्रेन्डिङमा देख्दा कतिपयले ट्रेन्डिङ सेक्सन हेर्नै छोड्नुभयो होला ।
ट्रेन्डिङ सेक्सनमा कूल ५० ओटा भिडिओ समेटिएका हुन्छन् । यो समाचार तयार पार्दासम्म नेपाली क्षेत्रको ट्रेन्डिङ सेक्सनमा कूल १० ओटा मात्र लामो फर्म्याटका भिडिओ छन् । त्यसमा पनि नेपाली पाँच ओटा भिडिओ मात्र रहेका छन् ।
बाँकी केही भारतीय फिल्म र ट्रेलर ट्रेन्डिङमा छन् । त्यसबाहेक ट्रेन्डिङ सेक्सनमा अधिकांश शर्ट्स भिडिओ रहेका छन् । ती शर्ट्स भिडिओमा नेपालका वा नेपालसँग सम्बन्धित कुनै पनि भिडिओ छैनन् । अधिकांश शर्ट्स भिडिओ अश्लीलता दर्शाउने किसिमका छन् ।
नेपालको युट्युब ट्रेन्डिङ सेक्सनलाई अमेरिकाको ट्रेन्डिङ सेक्सनसँग तुलना गर्ने हो भने आकाश-जमिनको फरक पाउन सकिन्छ । अमेरिकी क्षेत्रमा शर्ट्स भिडिओका लागि छुट्टै सेक्सन राखिएको छ भने लामो फर्मका ट्रेन्डिङ भिडिओका लागि छुट्टै सेक्सन राखिएको छ । शर्ट्समा पनि केही उपयोगी शिक्षा दिने किसिमका भिडिओ छन् । लामो फर्मको ‘ट्रेन्डिङ नाउ’ सेक्सनमा पनि उपयोगी सामग्री छन् ।
छोटो समयमा धेरै भ्युज पाउने भिडिओ वा धेरै हेरिने भिडिओ ट्रेन्डिङमा पर्ने गर्छन् । भ्युज नै ट्रेन्डिङमा पर्ने मुख्य आधार भने होइन । त्यसमा भ्युअरहरूको अन्तर्क्रिया जस्तै लाइक, डिस्लाइक, कमेन्ट र शेयर पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
बढी इङ्गेजमेन्ट भएको भिडिओ कम भ्युज हुँदा पनि ट्रेन्डिङमा पर्छ । नयाँ भिडिओहरू युट्युब ट्रेन्डिङमा समेटिन्छन् । त्यसबाहेक भिडिओको क्वालिटी, त्यो कुन विषय वस्तुमा बनाइएको छ, प्रयोगकर्ताको अनुभव कस्तो रहन्छ भन्ने विषयले पनि भिडिओ ट्रेन्डिङमा पर्ने नपर्ने निर्धारण गर्न सक्छ ।