close

तपाईंले देखेको फोटो एआईले बनाएको पो हो कि ? यसरी गर्नुहोस् जाँच

टेकपाना टेकपाना

असोज २५, २०८१ १७:८

तपाईंले देखेको फोटो एआईले बनाएको पो हो कि ? यसरी गर्नुहोस् जाँच

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालका विभिन्न माध्यममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट बनाएका फोटो र भिडिओ बढी आउने गरेका छन् ।

टिकटकदेखि फेसबुक हुँदै एक्ससम्म एआईद्वारा तयार पारिएका फोटो र भिडिओ देखिन्छन् । त्यस्ता फोटो र भिडिओलाई वास्तविक जस्तै सोचेर प्रतिक्रिया दिने गरेको देखिन्छ । आज हामी कसरी एआई भिडिओ छुट्याउन सकिन्छ भन्ने विषयमा जानकारी दिंदैछौं:

१) सबैभन्दा पहिले आँखाले फोटो नियाल्नुहोस्

फोटो वास्तविक हो वा एआईबाट तयार पारिएको हो भन्ने पहिचान गर्ने पहिलो माध्यम तपाईंको आँखा नै हो । फोटोबारे केही धारणा बनाउनुअघि त्यो फोटोका विभिन्न पक्ष विश्लेषण गर्नुहोस् । सबैभन्दा पहिले औंला हेर्नुहोस् । एआईले त्यति औंला वास्तविक जस्तो बनाउन सक्दैन ।

केहीमा बढी औंला देखिन्छन् भने केहीमा फरक स्थानबाट औंला आएको देखिन्छ । औंलाको आकार पनि अस्पष्ट हुन्छ । फोटोमा अन्य पक्ष पनि केलाउनुहोस् । खासगरी कुनै गाडीको फोटो छ भने त्यसमा देखिने लोगो ख्याल गर्नुहोस् । एआईले पहिले नै भएको जस्तो लोगो बनाउन सक्दैन । त्यसैले सबैभन्दा पहिले आँखाले सम्भव भएसम्मका पक्ष केलाउनुहोस् । 

) वेबसाइटबाट पहिचान गर्नुहोस्

सधैं तपाईंका आँखाले फोटो एआईबाट तयार पारिएको हो वा वास्तविक हो भन्ने छुट्यान नसक्ला । सामान्य व्यक्तिले आँखाकै सहायताले एआईद्वारा तयार पारिएको फोटो पहिचान गर्न सक्ने सम्भवना ५९.२३ प्रतिशत हुन्छ ।

व्यावसायिक आर्टिस्टले त्यही फोटो पहिचान गर्ने सम्भावना ७५.३२ प्रतिशत हुन्छ भने विज्ञले पहिचान गर्ने सम्भवाना ८३ प्रतिशत हुन्छ । त्यसैले तपाईंले वेबसाइटको सहायता लिन सक्नुहुन्छ ।

त्यसका लागि गुगल रिभर्स इमेज सर्च गर्न सक्नुहुन्छ । गुगल लेन्समा जानुहोस् वा गुगल डटकम वेबसाइटमा गई लेन्सको आइकनमा गएर फोटो अपलोड गर्नुहोस् । रिभर्स इमेज सर्च गर्ने अन्य धेरै टुल हुन्छन् । तपाईंले सर्च गरेको तस्वीर पहिले कहिल्यै आएको छ वा छैन, कसले खिचेको भन्ने लगयातका जानकारी पाउन सकिन्छ । 

३) एआई इमेज डिटेक्टर

सधैं रिभर्स इमेज सर्चबाट पनि फोटो एआईले बनाएको हो वा होइन भन्ने पहिचान गर्न सकस पर्न सक्छ । त्यसैले तपाईंले एआई इमेज डिटेक्टरको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसका लागि सबैभन्दा पहिले यहाँ वा यहाँ क्लिक गर्न सक्नुहुन्छ । एआई फोटो डिटेक्ट गर्ने अन्य थुप्रै टुल अनलाइनमा उपलब्ध छन् ।

 

फोटो एआईबाट पहिचान गर्न सकिने थुप्रै टुल भए पनि सधैं  त्यसैमा निर्भर हुन सकिंदैन । कहिलेकाहीँ ती टुलहरू पनि असफल हुन सक्छन् । त्यसैले शंका लागेको फोटोलाई लिएर आफ्ना धारणा बनाइहाल्नु गलत हुन्छ ।

भरसक आफ्नो मस्तिष्क वा बौद्धिक क्षमता प्रयोग गरी फोटो पहिचान गर्ने प्रयास गर्नुहोस् । त्यसबाहेक अन्य व्यक्तिसँग छलफल गरेर पनि फोटो वास्तविक हो वा एआईद्वारा तयार पारिएको हो भन्ने पहिचान गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २५, २०८१ १७:८