close

दशैंको दक्षिणाले डोमेन नेम किन्ने कि ?

टेकपाना टेकपाना

असोज २७, २०८१ १६:२

दशैंको दक्षिणाले डोमेन नेम किन्ने कि ?

काठमाडौं । दशैंमा टीका लगाउनु भयो भने पक्कै पनि आशीर्वादसँगै केही दक्षिणा पनि पाउनु भएकै होला । अब त्यो दक्षिणालाई कसरी र कहाँ खर्च गर्ने भन्ने तपाईंमै भर पर्छ । तर, कसैले दिएको दक्षिणालाई जीवन्त राख्ने एउटा उपयुक्त तरिका हो, डोमेन नेम लिने । नेपालमा हजार रुपैयाँभन्दा माथि जुनसुकै डोमेन नेम लिन सकिन्छ । तर, तपाईंले लिन चाहेको डोमेन नेम पहिले कसैले दर्ता गरिसकेको हुनुहुँदैन । दर्ता भएको छ भने पनि कतिपयले डोमेन बिक्रीका लागि राखेका हुन्छन् । तर त्यस्ता डोमेन निकै महँगो हुन्छन् । 

आज हामी डोमेन नेम के हो अनि नेपालबाट कसरी कसरी खरिद गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्दैछौं । 

डोमेन नेम के हो?

‘डोमेन नेम’ (डोमेनको नाम) तपाईंको डिजिटल उपस्थितिको मेरुदण्ड हो ।  विशेषगरी यदि तपाईं आफ्नो  डिजिटल उपस्थितिमा आफ्नो  व्यवसाय गर्न खोज्दै हुनुहुन्छ भने ‘डोमेन नेम’ निकै महत्वपूर्ण हुन्छ ।

‘डोमेन नेम’ एउटा वेबसाइटको भौतिक नाम हो । तपाईंको भौतिक ठेगाना वा फोन नम्बर जस्तै, डिजिटल संसारमा दुई समान ‘डोमेन नेम’ हुन सक्दैनन् । ‘डोमेन नेम’ लाई आईपी एड्रेसको पोइन्टर भनेर पनि बुझ्न सकिन्छ | तपाईंले आफ्नो ब्राउजरको एड्रेस बारमा सर्च गर्ने ‘डोमेन नेम’ (जस्तै facebook.com ) को आईपी एड्रेस (69.63.184.142) लाई ब्राउजर (क्रोम, एज, फायरफक्स आदी ) ले पहिचान गर्छ र सम्बन्धित वेब  पेजमा पुर्‍याउँछ ।

‘डोमेन नेम’ भनेको मानिसहरूलाई तपाईंको वेबसाइटमा पहुँच  राख्न सजिलो बनाउनको लागि हो । त्यसैले यो सरल र सजिलै याद गर्न सकिने किसिमको राख्दा उपयुक्त हुन्छ ।

‘डोमेन नेम’ गोड्याडी (godaddy.com), ओहो डोमेन (Ohodomain.com) जस्ता अनलाइन मार्केटमा गएर किनबेच गर्न पनि सकिन्छ । राम्रो ‘डोमेन नेम’को महत्त्व धेरै छ र त्यसको अभाव पनि | राम्रा  डोमेन नामहरूको बजारमा उच्च माग छ ।  केही ‘डोमेन नेम’ लाखौँ डलरमा बिक्री हुन्छन् ।

‘डोमेन नेम’का ३ भाग

कुनै पनि वेब पेज जस्तै ‘www.example.com’ मा ‘.com’  टप लेभल डोमेन, ‘example’ सेकेन्ड लेभल डोमेन र ‘www’  सब डोमेन हो । ‘टप लेभल डोमेन’लाई ‘एक्स्टेन्सन’ पनि भनिन्छ । केही धेरै प्रयोग हुने ‘टप लेभल डोमेन’ (TLD) यस्ता छन् ।

१. ‘.com’

२. ‘.net’

३. ‘.org’

४. ‘.edu’

देश अनुसार ‘टप लेभल डोमेन’ फरक फरक पनि हुन सक्छन् । जस्तै;

१. ‘.au’ (अस्ट्रेलिया)

२. ‘.ca’ (क्यानाडा)

३. ‘.de’ (जर्मनी)

४. ‘.np’ (नेपाल)

५. ‘.in’ (भारत) 

‘सेकेन्ड लेभल डोमेन’ टप लेभल डोमेन (TLD) सँग जोडिने तपाईको डोमेन नाम हो । जस्तै,

१. example.com

२. example.net

३. example.org

‘सब डोमेन’

‘सब डोमेन’  ठुलो डोमेनको एउटा अंश मात्र हो, यो वैकल्पिक हुन्छ । तपाईंले जुन मुख्य डोमेन नेम लिनु भएको छ त्यसैको अघि आफूलाई उचित लाग्ने सबडोमेन नेम छान्न सक्नुहुन्छ । जस्तै blog.example.com, news.example.com आदि । 

नेपामा कसरी लिने डोमेन नेम ? 

पछिल्लो समय नेपालमा डोमेन नेम खरिद गरिदिने थुप्रै प्लेटफर्म आइसकेका छन् । यदि तपाईंसँग डलर कार्ड छ भने तपाईं अन्तर्राष्ट्रिय डोमेन नेम प्रयायक जस्तै गोड्याडी (godaddy.com), नेमचिप (namecheap.com), डोमेन डटकम (domain.com), होस्टिन्जर (hostinger.com), ब्लुहोस्ट (bluehost.com) आदिबाट खरिद गर्न सक्नुहुन्छ । तर डलर कार्ड छैन अनि डोमेन खरिद गर्दा केही समस्या आयो भने विदेशी कम्पनीसँग सहकार्य गर्न सकिंदैन भन्ने भयो भने तपाईंका लागि नेपाली कम्पनीहरू पनि छन् । 

डोमेन तथा होस्टिङ प्रोभाइडर कम्पनी ओहोडोमेन, कैलाश क्लाउड, हिमालयनहोस्ट, बबाल होस्ट, सास टेक नेपाल, नेस्ट नेपाल, प्रभु होस्ट, गोर्खा होस्ट, वेब लिङ्क नेपाल, वेब टेक नेपाल, क्रेजी होस्ट नेपाल, योहो क्लाउड, डोको होस्ट आदिबाट डोमेन नेम खरिद गर्न सक्नुहुन्छ । त्यसबाहेक पनि नेपालमा अन्य थुप्रै डोमेन प्रदायक छन् जसले सुपथ मूल्यमा डोमेन नेम उपलब्ध गराउँदै आएका छन् । यिनै प्लेटफर्मबाट आफूलाई उपयुक्त लाग्ने डोमेन नेम सर्च गरेर अर्डर गर्नुपर्ने हुन्छ ।

अर्डर कन्फर्म गर्दा तपाईंले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल एड्रेस लगायतका विवरण उपलब्ध गराउनु पर्ने हुन्छ । सबै विवरण उपलब्ध गराइसकेपछि भुक्तानी गर्नुरप्ने हुन्छ । त्यसपछि ती प्लेटफर्ममा अकाउन्ट बनाएर त्यसैबाट आफ्नो डोमेन नेम प्रयोग गर्न सक्नुहुन्छ । नेम सर्भर परिवर्तन, डोमेन रिन्यु तथा अन्य व्यवस्थापनका काम गर्नका लागि उक्त अकाउन्ट महत्त्वपूर्ण हुन्छ । डोमेन खरिद गरिसकेपछि होस्टिङ खरिद गर्नुपर्ने हुन्छ । अधिकांश डोमेन प्रदायकले नै होस्टिङ उपलब्ध गराउने हुँदा आफूले डोमेन नेम लिएको प्रदायकबाट होस्टिङ खरिद गर्न सक्नुहुन्छ । 

 

पछिल्लो अध्यावधिक: असोज २७, २०८१ १६:२