close

नयाँ मोबाइल किन्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

टेकपाना टेकपाना

कात्तिक १, २०८१ १५:५२

नयाँ मोबाइल किन्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

काठमाडाैं । नेपालमा उत्पादक तथा विक्रेताका लागि आफ्ना सामान बिक्री गर्ने र अधिकांश उपभोक्ताका लागि वर्षभरी आफूले जोहो गरेको पैसाबाट किनमेल गर्ने भनेकै दशैं-तिहारको बेला हो । दशैं सकिएर तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ ।

आफ्नो आवश्यकता अनुसारका वस्तु तथा उत्पादन पहिचान गर्न सके चाडबाडका बेला ठगिने सम्भावना पनि कम हुन्छ । यसै सन्दर्भमा खास गरेर मोबाइल तथा ग्याजेटहरू खरिद गर्ने तयारीमा रहेका उपभोक्ताहरूको सहजताका लागि हामीले केही सामग्री तयार पारेका छौं ।

स्मार्टफोन छनौट गर्नुअघि आफ्नो आवश्यकता र प्राथमिकतालाई ख्याल गर्नुहाेस् । वास्तवमा स्मार्टफाेन भनेकै विभिन्न प्रयोजनको सहजताका लागि खल्तीमा बोक्ने एक किसिमको कम्प्युटर नै हो । स्मार्टफोनको प्रयोग वास्तविक रूपमा हरेक दिन कुन प्रयोजनका लागि कसरी प्रयोग गर्ने भन्ने विषय नियाल्नु जरुरी छ ।

सामाजिक सञ्जाल चलाउनकै लागि मात्र हो भने स्मार्टफोनमा २० हजार रुपैयाँभन्दा बढी खर्च गर्न आवश्यक छैन । यदि मोबाइल गेममा विशेष रुचि छ र एकदमै ‘स्मुथ’ किसिमले गेमको आनन्द लिन चाहनुभएको हो भने ४० हजार रुपैयाँ आसपासमा त्यस्ता स्मार्टफोन प्राप्त गर्न सकिन्छ । उत्तमभन्दा उत्तम डिजाइन र ‘पर्फर्मेन्स’ चाहनुभएको हो भने चाहिँ ५० हजार रुपैयाँभन्दा माथि खर्च गर्न तयार हुनैपर्छ ।

अपरेटिङ सिस्टम

तपाईं एन्ड्रोइड मोबाइल खरिद गर्दै हुनुहुन्छ भने, बजारमा गुगल सफ्टवेयरका विभिन्न भर्सनपिच्छे मोबाइल उपलब्ध छन् । नयाँ स्मार्टफोन खरिद गर्नुपूर्व पछिल्ला एन्ड्रोइड भर्सनको भिन्नता जान्न जरुरी छ । एन्ड्रोइड १़३, एन्ड्रोइड १४ पछिल्ला एन्ड्रोइड भर्सन हुन् । एनड्रोइड फोन खरिद गर्दै हुनुहुन्छ भने भरसक एन्ड्रोइड १३ वा १४ भएको फोन खरिद गर्नुहोस् । त्यसमा कति वर्षसम्मको ओएस अपडेट आउँछ भन्ने विषय पनि महत्त्वपूर्ण हुन्छ । 

डिजाइन तथा फिचर

स्मार्टफोन तथा ग्याजेटका लागि बाहिरी बनावट र सफ्टवेयर दुवैमा व्यक्तिगत रुचि नै निर्णायक पक्ष हो । कसैलाई घुमाउरो तथा गोलो किनारा र सिधा डिजाइन मन पर्न सक्छ । अनि मजबुत किसिमको तीखो धारयुक्त धातुबाट बनेकोमा अरूको ध्यान होला ।

पछिल्लो समयमा ग्राहकका बेग्ला बेग्लै रुचिअनुसारका एकपछि अर्को ग्याजेट्स बजारमा आउने क्रम चलिरहेको छ । तर, ग्याजेट्सको डिजाइनमा त्यसमा रहने फिचरको पनि भूमिका रहन्छ ।

पछिल्लो समय पछाडिपट्टि ग्लासले बनेको फोन जस्तै गोरिल्ला ग्लास, सेरामिक्स र थ्रीडी ग्लास बढी रोजाइमा पर्ने गरेका छन् । फोन खस्ने बित्तिकै फुट्ने जोखिम यसमा रहिरहन्छ । त्यस्तै प्लास्टिकका सन्दर्भमा पोलिकार्बोनेट, थर्मोप्लास्टिक पोलियुथेरिन बढी प्रयोग हुन्छ । त्यस्तै धातु र लेदरको ब्याकप्यानल भएका फोन पनि उत्तिकै आउन थालेका छन् । 

कुनै पनि डिभाइस खरिद गर्नुपूर्व आफ्नो सहजतालाई पनि ख्याल गरेर गुणस्तर जाँच्न आवश्यक हुन्छ ।

आकार तथा डिस्प्लेको प्रकार

समाचार अपडेट तथा एन्ड्रोइड गेमको उच्च गुणस्तरीय ग्राफिक्स चाहनेहरुका लागि कम्तिमा पनि ५.५ इन्चको डिस्प्ले उपयुक्त हुन्छ । खास गरेर फेसबुक, एक्स, टिकटक लगायतका सामाजिक सञ्जालका लागि स्मार्टफो प्रयोग गर्नेहरुका लागि भने सानो स्क्रिन भए पनि काम चल्छ । खास गरेर एन्ड्रोइडको डिस्प्ले एलसिडी एमोलेड गरी दुई किसिमको प्रविधिमा उपलब्ध छ । दुवैबीचको मुख्य भिन्नता भनेकै लाइट हो ।

सैद्धान्तिक रूपमा एलसीडी स्क्रिन चम्किलो र सूर्यको सोझो प्रकाशमा हेर्न उत्तम मानिन्छ । जब कि एमोलेड डिस्प्ले चाहिँ तीखो प्रकाश र सीमित रङ्ग भएको अवस्थाका लागि उपयुक्त मानिन्छ । तर, नयाँ प्रविधिको आगमनसँगै दुवै किसिमका डिस्प्लेबीचको भिन्नता कम महत्वको विषय बन्दै गएको छ । तस्विरका लागि फुल एचडी तथा क्यू एचडी रेजोलुन लगभग त्रुटिरहित मान्न सकिन्छ । तपाईंलाई स्तरीय फोन चाहिएको हो भने एमोलेड डिस्प्ले नै छान्न सक्नुहुन्छ । 

प्रोसेसर

प्रोसेसरलाई डिभाइसको अत्यन्त महत्वपूर्ण पक्ष मानिन्छ । यसैमा डिभाइसको ‘पर्फरमेन्स’ निर्भर हुन्छ । कहिलेकाहीं प्रोसेसरको क्षमताले सफ्टवेयरको अपडेटलाई सीमित पारिदिन्छ । क्वालकम र मिडियाटेकलाई प्रोसेसरका लागि सुरक्षित मान्न सकिन्छ ।

यस आधारमा कुनै पनि प्रोसेसरले सही रूपमा काम गर्नका लागि उपलब्ध र्‍यामको मात्रा महत्वपूर्ण हुन्छ । प्रोसेसर महत्त्वपूर्ण हुँदाहुँदै स्मार्टफोन र त्यसको प्राविधिक ‘स्पेसिफिकेसन’ सम्पूर्ण रूपमा नियाल्न भने जरुरी छ ।

कनेक्टिभिटी

फोनमा कनेक्टिभिटी अर्को महत्त्वपूर्ण पक्ष हो । नेपालमा हाल फाइभ जी सुरु नभए पनि फाइभजी फोनको पर्फमेन्स स्तरीय हुन्छ । त्यसैले तपाईंले खरिद गर्न लागेको फोन फाइभजीमा पनि उपलब्ध छ कि बुझ्नुहोस् । फोनमा नेटवर्कको न्यूनतम मापदण्ड कम्तीमा पनि थ्रीजी सपोर्ट गर्ने हुनुपर्छ ।

इन्टर्नल मेमोरी र स्पेस

अहिले तपाईंले प्रयोग गरिरहेको पुरानो मोबाइलमा भएको स्पेस थोरै भएको अनुभूति गर्नुभएको छ र त्यसको विस्तार गर्न चाहनुभएको हो भने स्मार्टफोनमा रहेको र्‍याम र आन्तरिक मेमोरी राम्रोसँग जाँच गर्नुस् । स्टिकर र बट्टामा लेखिएकै विषयलाई मात्र आधार भने नबनाउनुस् । पहिले नै इन्स्टल गरिएका एपहरुले कति ठाउँ ओगटिरहेका छन्, त्यसलाई पनि ख्याल राख्नुहोस् ।

माइक्रो एसडी कार्डमार्फत स्मार्टफोनको स्टोरेजको क्षमता बढाउने सकिने भए पनि बाहिरी मेमोरीकार्ड प्रयोग गर्नुभन्दा ठूलो आन्तरिक मेमोरी रोज्नु उपयुक्त हुन्छ ।

अहिलेको समयमा कम्तीमा पनि ४ जीबी र्‍याम र १२८ जीबी आन्तरिक मेमोरी छनौट गर्नुपर्ने हुन्छ । यद्यपि तपाईंको आवश्यकता त्यति धेरै होइन भने कम स्टोरेजको लिनुभए पनि हुन्छ । फिल्म, म्युजिक, फाइल र हेभी एप सेभ गर्नका लागि कम्प्युटरको हार्ड ड्राइभको रूपमा प्रयोग गरिरहनु भएको छ कि ? हुन त अहिले जहाँकहीं इन्टरनेट हुने भएकाले फोनमा फिल्म वा म्युजिक डाउनलोड गरिरहनु पर्छ भन्ने हुँदैन । तर, तपाईं इन्टरनेट नहुने ठाउँमा हुनुहुन्छ भने त्यस्तो बेला बढी स्टोरेज आवश्यक पर्न सक्छ । 

हार्ड ड्राइभको विकल्पमा पछिल्लो समयमा उपलब्ध क्लाउड सेवालाई पनि उपयोग गर्न सकिने विकल्प त छँदैछ । फोन खरिद गर्दा बढी र्‍याम भन्दा पनि आन्तरिक स्टोरेजलाई प्राथमिकता दिनुभयो भने त्यसले तपाईंलाई पछि फाइदा नै दिन्छ । 

ब्याट्री लाइफ 

स्मार्टफोनको छनौट गर्दा अर्को एउटा महत्त्वपूर्ण पक्ष ब्याट्रीको लाइफ हो । एमएएचको उच्च अङ्क हुनुसँग ब्याट्रीको आयुको खासै त्यति मतलब हुँदैन । चार्ज लामो समय टिक्नका लागि विभिन्न पक्षले काम गरिरहेको हुन्छ । जस्तो, उच्च रेजुलेसनले बढी ऊर्जा खपत गर्छ भन्ने कतिपयलाई लाग्न सक्छ जब कि पछिल्ला प्रोसेसरले ब्याट्रीको आयु बढाउँछ । जसमा सुस्त र तीव्र चार्ज गर्ने प्रविधि पनि रहेको छ ।

एउटा मात्रै प्राविधिक विशेषता हेर्नुभन्दा डिभाइसमा यस्ता सबै कारकले समग्रमा कसरी काम गर्छ भन्ने मापदण्ड र त्यसको परिणाम थाहा पाउन जरुरी छ । तैपनि न्यूनतम ४००० हजार एमएएचको ब्याट्रीलाई एउटा आधारकाे रूपमा भने लिन सक्नुहुन्छ । आईफोनको सन्दर्भमा भने ठ्याक्कै ब्याट्री यति एमएएचको हुन्छ भनेर कम्पनीले खुलाउँदैन । त्यसैले कति घण्टा प्लेब्याक दिन्छ भन्ने कुरा हेर्नुपर्ने हुन्छ । 

क्यामेरा

स्मार्टफोन र ग्याजेट्सका प्रयोगकर्ताका लागि क्यामेराको गुणस्तर तथा फिचर एकदमै ममत्वपूर्ण विषय हो । त्यही अनुसार स्मार्टफोन निर्माता कम्पनीहरूले पनि क्यामेराको गुणस्तर बढाउन विशेष ध्यान दिइरहेका छन् ।

क्यामेराको सङ्ख्या, हाइब्रिड अटो फोकस, अप्टिकल स्ट्याबलाइजेसन, म्यानुअल मोडल, विशेष इफेक्ट र सेल्फी विशेष फिचर डिजिटल क्यामेराका लागि महत्त्वपूर्ण पक्ष हुन् । त्यस्तै भिडिओ रेकर्ड गर्न वा टिकटक बनाउन फोन खरिद गर्न लाग्नु भएको हो भने त्यसमा स्टेबलाइजेसन (भिडिओ हल्लिएको जस्तो नदेखिने) फिचर भए नभएको सुनिश्चित गर्नुहोस् । विशेषतः देखाइएका प्राविधिक अङ्कमा धेरै विश्वास नगर्नुस् ।

मेगापिक्सेल मात्र बढी हुँदैमा गुणस्तरीय फोटो आउने होइन । १२८ मेगापिक्सेलको क्यामेरा भएका केही एन्ड्रोइड फोनभन्दा ४८ मेगापिक्सेल क्यामेरा भएको आईफोनबाट स्तरीय फोटो आउँछ । त्यसैले एकीकृत सेन्सर, लेन्सको गुणस्तर, पिक्सेलको आकार आदि जस्ता धेरै पक्षमा ध्यान दिनुपर्ने हुन्छ । पसलमा हुनुहुन्छ भने मोबाइलको क्यामेरा एप्लिकेसन सुरु गर्न र सटको उज्यालोपन जाँच गर्न तथा सफ्टवेयर फिचरको बारेमा स्वयम् थाहा पाउन सक्नुहुन्छ । पछिल्लो समय बजारमा पाँच ओटासम्म क्यामेरा भएका फोन उपलब्ध हुन थालेका छन् । जति बढी क्यामेरा भए तिनले गर्ने काम पनि फरक फरक हुन्छ । त्यसैले कम्तीमा पनि दुई ओटा क्यामेरा भएको फोन हेर्नुहोस् । बढी क्यामेरा राख्ने नाममा केही स्मार्टफोनमा नक्कली क्यामेरा राखिएको हुन्छ । त्यसमा सजग हुनुहोस् । 

सेल्फी क्यामेराका सन्दर्भमा डिजाइन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । एन्ड्रोइड फोनको सन्दर्भमा पन्चहोल (डिस्प्लेभन्दा केही तल क्यामेरा हुने) र वाटर ड्रप (पानीको थोपा झर्न लागेको जस्तो क्यामेरा बेजल्ससँगै जोडिने) नट भएका फोन बढी छन् । पन्चहोल डिस्प्ले बढी स्तरीय मानिन्छ । यस्ता फोन महँगा पनि हुन्छन् । त्यसैले आफ्नो बजेट अनुसार पन्चहोल डिस्प्ले वा वाटरड्रप नच भएको फोन लिने भन्ने निर्णय आफै लिन सक्नुहुन्छ । अलिकति पैसा थपे पुग्ने अवस्था छ भने पन्चहोल डिस्प्ले भएको फोन लिंदा राम्रो  हुन्छ । फेरि पन्चहोल डिस्प्ले छ भन्दैमा अरू कमजोरी नजरअन्दाज गर्न सकिंदैन । 

सफ्टवेयर तथा फिचर

के तपाईंलाई सबै किसिमका काम पूर्णताका साथ गर्नसक्ने फोनको आवश्यकता हो ? त्यसमा फिङ्गरप्रिन्ट सेन्सर सहित स्तरीय सेन्सर भएको फोन चाहिएको हो ? फिङ्गरप्रिन्ट सेन्सरको सन्दर्भमा पछाडि, लक बटन र डिस्प्लेमा गरी तीन ठाउँमा फिङ्गरप्रिन्ट सेन्सर राखिएको हुन्छ । सबैभन्दा राम्रो डिस्प्लेमै भएको फिङ्गरप्रिन्टलाई मानिन्छ भने त्यसपछि क्रमशः लक बटन र पछाडिपट्टि सेन्सर भएको डिभाइसलाई मानिन्छ । सेन्सर कहाँ छ भन्ने विषयले पनि मूल्यमा भिन्नता ल्याउन सक्छ । तपाईंलाई फिङ्गरप्रिन्ट सेन्सर खासै आवश्यकता विषय होइन भने यसमा त्यति अल्झिरहन आवश्यक हुँदैन । 

पछिल्लो समय बजारमा आएका मध्यम श्रेणीका स्मार्टफोनहरुले त्यस किसिमको आवश्यकता पूर्ति गर्न सक्छन् । यद्यपि हार्डवेयर फिचरमा भर परेर आफ्ना लागि स्मार्टफोन छनौटको दायरा सीमित पार्नु भने राम्रो होइन । त्यसका लागि डिस्प्ले अन गरेर फोनमा भएका भित्री सफ्टवेयर फिचरहरु हेर्नुहाेस् ।

बेलाबखत बालबालिकालाई आफ्नो ग्याजेट दिने गर्नुभएको छ भने ‘गेस्ट मुड’ वा ‘प्यारेन्टल कन्ट्राेल’ फिचरको सुनिश्चितता गर्न पनि नबिर्सिनुस् । एन्ड्रोइडमै ई-बुक पढ्ने बानी छ भने डिस्प्लेको रङ्ग मिलाउने विकल्प छ कि छैन हेर्नुहाेस् । त्यसले आँखाको सुरक्षाका लागि केही सहयोग पुर्‍याउन सक्छ । त्यसैले बाहिरी बनावट र डिभाइसको फिचर सामान्य किसिमले नियाल्नेमा मात्रै सीमित हुनुहँदैन । त्यस्तै कुन एप कति प्रयोग गरिएको छ भन्ने थाहा पाउने ‘डिजिटल वेलबिङ’ (Digital Wellbeing) फिचर हेर्नुहोस् । 

मूल्य

सम्भवतः आफूसँग स्मार्टफोन खरिदका लागि सीमित रकम मात्रै छ भने, त्यो नै खरिद गर्न लागिएको मोबाइलको मूल्यको लागि पहिलो आधार हो ।

आफ्नो भएभरको सबै तलब प्रयोग गर्ने कि केही सस्तो, तर समानान्तर रूपमा आवश्यकता पूर्ति गर्ने अर्को कुनै सेट किन्ने व्यक्तिगत रोजाइको कुरा हो । तर, सबैजसो रेन्जमा रहेका केही डिभाइस अन्यको तुलनामा उत्तम हुन सक्छन् भन्नेतर्फ चाहिँ विचार गर्न नभुल्नुहाेस् । तपाईंले बजारमा ११ हजार रुपैयाँमै उपलब्ध हुने स्मार्टफोनमा पनि आकर्षक फिचर पाउन सक्नुहुन्छ ।

थप सुझाव
तपाईंले कुनै फोन लिने विचार गर्नुभएको छ भने युट्युबमा त्यस फोन सम्बन्धी बनाएका भिडिओ रिभ्यु हेर्नुहोस् । कतिपयले फोन प्रयोग गरिसकेपछि त्यसैको आधारमा रिभ्यु गरेका हुन्छन् भने कतिपयले विज्ञापनमा उल्लेख भएका सबै फिचर छन् कि छैनन् अथवा पहिलो पटक प्रयोग गर्दा कस्तो अनुभव भयो, के राम्रो विशेषता भेटियो, कुन पक्ष कमजोर लाग्यो भन्ने जानकारी दिएका हुन्छन् । त्यस्ता भिडिओ रिभ्यु हेरेर खरिद गर्ने फोनबारे योजना बनाउन सक्नुहुन्छ । पछिल्लो समय बजारमा उपलब्ध केही फोनमा डिस्प्लेमा लाइन देखिने समस्या छ । तपाईंले खरिद गर्न खोजेको फोनमा त्यस्तो समस्या देखिएको छ कि छैन अध्ययन गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८१ १५:५२