काठमाडौं । मेसेज पठाउन, नोट टिप्न, सर्च गर्न- यी यावत कामका लागि टाइप गर्नु जरुरी छ । तुलनात्मक रूपमा, टाइपिङको काम भौतिक किबोर्ड भए सजिलो हुन्छ ।
अहिले सबैको हातमा स्मार्टफोन हुने भएकाले स्मार्टफोनकै कुरा गरौं । सबैका लागि फोनमा टाइप गर्नु सजिलो नहुन सक्छ, विशेषगरी बालबालिका, प्रौढ अथवा शारीरिक रूपमा अशक्त व्यक्तिहरूका लागि । तर स्मार्टफोनमा त्यस्ता विकल्प छन्, जसले गर्दा टाइप गर्न सजिलो बनाउँछ । आज हामी त्यस्तै विकल्पबारे चर्चा गर्नेछौं :
किबोर्ड सेटिङ
फोनमा टाइप गर्न गाह्रो हुनुको मुख्य कारण आकार सानो हुनु हो । यसले गर्दा हिज्जेहरू पनि गलत भइरहेका हुन्छन् । तर किबोर्डको आकार बढाउन मिल्ने सेटिङ र अटो ग्रामर करेक्ट जस्ता फिचरहरूले यो समस्या केही हदसम्म कम गर्छ ।
तपाईंले जुनै पनि किबोर्डको सेटिङमा जानुहोस्, यी सेटिङ फेला पार्न सक्नुहुन्छ । तर यदि तपाईं गुगलको जिबोर्ड प्रयोग गर्नुहुन्छ भने कतिपय नेपाली शब्द अटो करेक्टका कारण बिग्रन सक्छन् । यसमा पनि तपाईंले ख्याल गर्नु पर्छ ।
एक्सटर्नल किबोर्ड
यदि तपाईंले फोनमा धेरै टाइप गर्नु छ भने भौतिक किबोर्ड प्रयोग गर्नु राम्रो हुन्छ । यसका लागि ब्लुटुथ किबोर्ड राम्रो विकल्प हुन्छ । हुन त वायर्ड किबोर्ड पनि प्रयोग गर्न सकिन्छ । तपाईंलाई कुन सहज लाग्छ, त्यही प्रयोग गर्न सक्नुहुन्छ । आईफोन तथा एन्ड्रोइड दुवैमा यसरी टाइप गर्न सकिन्छ । तर सबै अवस्थामा एक्सटर्नल किबोर्ड प्रयोग गर्नु अलि व्यावहारिक भने नहुन सक्छ ।
स्पिच टू टेक्स्ट
यसमा भने तपाईंले टाइप गर्नु पर्दैन । बोले पुग्छ । कतिपय किबोर्डहरूले यो फिचर सपोर्ट गर्छन् । गुगलको जिबोर्डमा त नेपाली भाषा समेत बोलेर नै टाइप गर्न सकिन्छ । यदि तपाईंले आफ्नो अन्य काममा अलि व्यस्त हुनुहुन्छ भने यो विकल्प प्रयोग गर्न सक्नुहुन्छ । तर यो विधि अपनाइरहँदा बोलेका सबै कुरा शुद्ध टाइप नहुन सक्छ ।
यी बाहेक स्मार्टफोनमा टाइपिङ सुधार गर्नुपर्ने अन्य केही साना कुराहरू छन्, जस्तै: यदि तपाईंको लामो नङलाई काट्नु, यदि स्मार्टफोनको स्क्रिन राम्रोसँग टच हुँदैन भने बनाउनु, औंलाको टुप्पोको छालामा घाउ नपार्नु आदि । समग्रमा, जति अभ्यास गर्दै जानुहुन्छ, तपाईंको टाइपिङ त्यति चाँडो हुने गर्छ ।