काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल एक्समा शुक्रवार नेपाली समय अनुसार राति ९ बजेतिर २३ सेकेन्डको भिडिओ पोस्ट गरे । भिडिओमा रोनाल्डोको जर्सी लगाएको, रुँदै उभिएर स्मार्टफोनबाट भिडिओ खिचिरहेको वृद्ध मानिस देखिएका छन् ।
ती व्यक्तिले अन्य फ्यान सहित 'रोनाल्डो, रोनाल्डो' भनेर समर्थन गरिरहेको पनि भिडिओमा सुनिन्छ । सोही भिडिओको क्याप्सनमा रोनाल्डोले फ्यानहरूलाई सम्बोधन गर्दै ‘उहाँलाई खोज्दै छु! कुनै जानकारी भएमा जानकारी दिनुहोला’ लेखेका छन् ।
यसबाट भिडिओमा देखिएका उक्त व्यक्तिलाई रोनाल्डोले भेट्न खोजिरहेको बुझ्न सकिन्छ । तर रोनाल्डोले त्यो भिडिओ आफ्ना अन्य सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट गरेका छैनन् । केही थप जानकारी पनि दिएका छैनन् ।
यद्यपि एउटा स्टार खेलाडीले सहयोग मागेपछि उक्त भिडिओ भाइरल भएको छ । यस समाचार तयार पार्दासम्म उक्त भिडिओलाई आठ करोड ४२ पटक हेरिँदा ६७ हजार रिपोस्ट, आठ लाख लाइक र ३३ हजार बुकमार्क गरिएको छ ।
बीइन स्पोर्ट्सका अनुसार उक्त भिडिओ क्लिप हालै सम्पन्न एएफसी च्याम्पियन्स लिग अन्तर्गतको अल नासर र एस्तेगलालबीचको खेलको हुन सक्छ । जहाँ ती वृद्ध स्टेडियमको सबैभन्दा माथिल्लो सिटमा बसेर खेल हेरिरहेका हुन सक्छन् ।
रोनाल्डो आफ्ना फ्यानहरूसँगको गहिरो सम्बन्ध र उनीहरूको कृतज्ञताका कारण परिचित छन् । यहीकारण वृद्ध समर्थकलाई भेटेर व्यक्तिगत रूपमा धन्यवाद दिन खोज्दा नभेटेपछि उनले सामाजिक सञ्जालमा सहयोग मागेको हुन सक्ने कतिपयले अनुमान गरेका छन् ।
विगतमा पनि रोनाल्डोले आफ्ना फ्यानहरूसँग थुप्रै सम्झनायोग्य भेटघाट गरिसकेका छन् । यद्यपि उक्त पोस्ट पछाडिको वास्तविक कारण भने उनले खुलाएका छैनन् ।