काठमाडौं । सायद तपाईंले विभिन्न नेताहरूले फरक-फरक गीत गुनगुनाएको, नाचेको भिडिओ सञ्जालमा कतै न कतै देख्नु भएको होला । त्यस्ता भिडिओ वास्तविक नभएर एआई प्रयोग गरी तयार पारिएका हुन् ।
झट्ट हेर्दा ती भिडिओ वास्तविक जस्ता लाग्न सक्छन् । त्यस्ता भिडिओबारे बुझ्नै पर्ने कुरा के हो भने ती भिडिओमा देखिएका सम्बन्धित व्यक्तिले कहिल्यै त्यसो गरेको छैनन् । डीप फेकजस्ता प्रविधि प्रयोग गरेर उनीहरूले कहिल्यै नभनेका/नगरेका कुरा देखाइएका हुन्छन् ।
यसो गर्नु कानुनतः गलत हो । तर अहिले सामाजिक सञ्जालमा एआईमार्फत बनाइएको भिडिओ प्रशस्तै भेट्न सकिन्छ । भनौं, नेपालमा यो अभ्यास चल्तीमा आइसकेको छ ।
हालै यसबारे प्रधानमन्त्री केपी शर्मा ओली खुलेका छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनमा ओलीले त्यस्ता भिडिओ हेर्ने उल्लेख गरे ।
कार्यक्रममा ओली फ्युज मसिन्सका संस्थापक एवं प्रबन्ध निर्देशक समीर मास्केसँग कुराकानीमा थिए । जहाँ उनले एआईले आफ्नो स्वरमा गीत गाएको कुरा सुनाए । “एआईको दुरुपयोग गरी बनाइएका मैले गाएको/नाचेको भिडिओ हेर्छु । मलाई गीत त गाउन आउँदैन । एआईले मेरो स्वरमा राम्रो गीत गाउँछ । यो मैले हेरिरहेको छु,” ओलीले भनेका थिए ।
यद्यपि एआईलाई यसरी दुरुपयोग गर्न नहुने उनको भनाइ थियो । एआईले धेरै ठूलो सहयोग गरेता पनि यसको दुरुपयोगको सम्भावना रहेको र त्यसले समाजमा विकृत र विसङ्गत पक्षहरूलाई बढाएको उनले बताए ।
त्यस्ता भिडिओ मनोरञ्जनात्मक देखिए पनि तिनको असर मापनयोग्य छैन । किनकि नकारात्मक मनसाय भएका व्यक्तिले यही प्रविधिमार्फत आपराधिक गतिविधि गर्न सक्छन् । ओलीले त्यसरी एआईको दुरुपयोग नगरी जीवनलाई सरल र सहज बनाउन प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।