काठमाडौं । सायद जीवनमा कुनै पनि गल्ती नगर्ने मान्छे कमै होलान् । जान अञ्जानमा मानिसबाट भूल भइरहेको हुन्छ । कतिपय गल्तीको बारेमा सारा समाजलाई थाहा हुन्छ भने कतिपय त्यस्ता गल्ती हुन्छन्, जो गर्ने व्यक्तिबाहेक अर्कोलाई थाहा हुँदैन ।
तपाईंले गरेका सबै गलत कामले जेलसम्मै डोर्याउँछन् भन्ने त हुँदैन । कानुनले गर्न नहुने भनेको गल्ती गर्नु भएको छ भने चाहिँ जेल पर्न पनि सक्नुहुन्छ । यदि कानुनले अपराध करार गरेको गलत काम गर्नुभएको छ भने प्रहरी तपाईं भएकै ठाउँमा आइपुग्छ र नियन्त्रणमा लिएर त्यसपछिको प्रक्रिया अगाडि बढाउँछ ।
सामाजिक सञ्जाल प्रयोगका क्रममा कुन बेला मान्छेबाट कहाँ कस्तो गल्ती भएको हुन्छ भन्ने थाहा हुँदैन । तर, जामाना यति अगाडि बढिसक्यो कि अहिले केही देशमा अनलाइनमै 'प्रहरी'ले हतकडी लगाई दिन सक्छ ।
अर्थात् डिजिटल रूपमै 'पक्राउ' गर्न सक्छ । तपाईंलाई यस्तो पनि हुन्छ र भन्ने लाग्यो होला है ! तर, हाम्रै छिमेकी राष्ट्र भारतमा अहिले यस्तै भइरहेको छ । त्यसैलाई ‘डिजिटल अरेस्ट स्क्याम’ नाम दिइएको छ ।
सर्वसाधारण र असाक्षर मात्रै होइन, पढेलेखेका विद्वान्देखि डाक्टर बनिसकेहरू समेत यस्तो ठगीको शिकार भएका छन् । आज हामी तपाईंलाई ‘डिजिटल अरेस्ट स्क्याम’ के हो अनि यसमार्फत कसरी सजिलै ठगिन्छ भन्ने विषयमा बताउने छौँ ।
के हो डिजिटल अरेस्ट ?
भारतका ८२ वर्षीय सर पल ओसवाल वर्धमान ग्रुपका सीईओ हुन् । उनलाई एक दिन एउटा अपरिचित नम्बरबाट ह्वाट्सएपमा फोन आयो । फोनमा बोल्ने व्यक्तिले भने, “म सीबीआईबाट बोलिरहेको छु । एउटा पुरानो केसको सन्दर्भमा तपाईंको नाम पक्राउ पुर्जीमा आएको छ । तपाईं अहिले डिजिटल रूपमा अरेस्ट भई सक्नु भयो ।”
उनलाई उक्त नम्बरबाट पक्राउ पुर्जी जस्तो देखिने फोटो पठाइयो । फोटो पठाइसकेपछि फोनमा बोल्ने व्यक्तिले भने, “तपाईं डिजिटल्ली अरेस्ट भइसकेकाले तपाईं त्यहाँबाट हलचल गर्न पाउनु हुन्न ।” यति भएपछि फोन गर्ने व्यक्तिले ओसवालको फोनमा पहुँच मागे । र, उनका विभिन्न खाताबाट झन्डै सात करोड भारु आफ्नो खातामा ट्रान्सफर गरे ।
यो काम यति पेसेवर तरिकाले गरिरहेको थियो कि त्यति ठुलो कम्पनीका अनुभवी सीईओले केही मेसो नै पाउन सकेनन् । ती कुनै सीबीआईका प्रतिनिधि नभई अनलाइन ठग थिए । फोन काटिसकेपछि ओसवालले आफू ठगिएको थाहा पाए ।
ओसवाललाई ठगी गरेको आरोपमा प्रहरीले पन्जाबबाट दुई जनालाई पक्राउ गरेको छ । ती व्यक्तिबाट पाँच करोड भारुभन्दा बढी असुल गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतभर यस्तो ठगीमा ठुलो गिरोह नै सक्रिय रहेको छ । केही समूहमा मिलेर ठगी गर्छन् भने केहीले व्यक्तिगत तवरमा ठगी गरिरहेका हुन्छन् । ओसवाल प्रभावशाली उद्यमी भएकाले उनको घटना बाहिर आयो । प्रहरीले पनि तत्कालै घटनामाथि अनुसन्धान थाल्यो र आरोपितलाई नियन्त्रणमा लियो ।
त्यस्तै डा रुचिका टन्डन पीजीआई लखनउकी डाक्टर हुन् । १ अगस्टमा उनलाई एक अपरिचित नम्बरबाट फोन आयो । उक्त कलमा आवाज सुनियो, “म ट्राई अर्थात् टेलिकम रेगुलेटरी अथोरिटीबाट बोल्दै छु । प्रहरीले तपाईंको फोन बन्द गर्ने निर्देशन दिएको छ किनभने मुम्बईमा तपाईंको नम्बरविरुद्ध २२ ओटा केस दर्ता भएका छन् । तपाईंको नम्बरबाट व्यक्तिलाई दुर्व्यवहार सहितका मेसेज पठाएको देखिएको छ ।”
डा टन्डन पहिले त यसलाई बेवास्ता गर्छिन् । भन्छिन्, “मैले कहिल्यै कसैलाई यस्तो मेसेज पठाएको छैन ।” जवाफमा उक्त फोन गर्ने व्यक्ति भन्छन्, “तपाईं हाम्रो आईपीएस (भारतीय प्रहरी सेवा) अफिसरसँग कुरा गर्नुहोस् ।”
त्यसपछि आफूलाई आईपीएस भन्ने व्यक्ति लाइनमा जोडिएको जस्तो गर्छन् र, डा. टन्डनसँग कुरा गर्छन् । अनि भन्छन्, “यो घटना तपाईंको नम्बरबाट गएको मेसेजको मात्र होइन, तपाईंको अकाउन्टबाट पनि सात करोड भारुको मनी लाउन्डरिङ भएको छ । तपाईंलाई तत्काल पक्राउ गर्ने निर्देशन आएको छ । अब तपाईं कतै जान पाउनु हुन्न । तपाईंलाई हामी डिजिटल कस्टडीमा लिंदैछौं ।”
उनी डिजिटल रूपमा पक्राउ परेकाले यसको जानकारी ती डाक्टरले कसैलाई पनि दिन नमिल्ने ती व्यक्ति बताउँछन् । यदि भनेको नमानेमा तीनदेखि पाँच वर्षसम्मको जेल सजाय समेत हुन सक्ने डर देखाउँछन् ।
त्यसपछि डा टन्डनलाई उनको फोनमा ह्वाट्सएप र स्काइप डाउनलोड गर्न लगाइन्छ । सात दिनसम्म उनलाई भिडिओ कलमा कैद गरेर राखिन्छ । अर्थात् सात दिनसम्म कलबाट अलग जान नदिने बनाइन्छ । र, यस बिचमा विभिन्न अकाउन्टमा दुई करोड भारुभन्दा बढी ट्रान्सफर गर्न लगाइन्छ ।
अब, उनलाई रिहा गरेको भन्दै फोन काटिन्छ । त्यसपछि डा टन्डन आफू ठगिएको महसुस गर्छिन् र यस विषयमा प्रहरीमा उजुरी दिन्छिन् । त्यस्तै अर्को घटनामा बैङ्गलोरकी एक महिलालाई त्यसैगरी अपरिचित नम्बरबाट कल आउँछ । कल गर्ने व्यक्ति ती महिलाको आधार कार्ड लागुऔषध ओसारपसारमा प्रयोग भएको बताउँछन् ।
त्यसपछि महिलालाई स्काइप डाउनलोड गर्न लगाइन्छ । त्यसमा उनीसँग कुरा गर्न आफूलाई डीसीपी दाबी गर्ने व्यक्ति जोडिन्छन् र, महिलाको आधार कार्ड झन्डै १० करोडको मनी लाउन्ड्रिङमा दुरुपयोग भएकाले उनी डिजिटल अरेस्ट भएको बताउँछन् । डिजिटल अरेस्टमा परेकाले यो कुरा कसैलाई भन्न नपाउने डर देखाइन्छ ।
त्यसपछि आफूलाई रिजर्भ बैंक इन्डियाको प्रतिनिधि बताउने व्यक्ति जोडिन्छन् र महिलाको खाता जाँच गर्नुपर्ने बताउँछन् । त्यसका लागि मोबाइलको कन्ट्रोल दिन बाध्य पार्छन् । त्यसपछि ती महिलाको मोबाइल बैंकिङ एपबाट ऋणका लागि आवेदन दिन्छन् । ५० लाख ऋण माग गरेकोमा केही घण्टामै ४९ लाख भारु खातामा आउँछ र त्यो रकम उनीहरू आफ्नो खातामा ट्रान्सफर गर्छन् र, फोन काटिदिन्छन् । यसरी १० घण्टामा महिलाको ५० लाख भारु लुटिन्छ ।
कसरी डिजिटल रूपमा पक्राउ गरिएको अनुभूति गराउँछन् ठग ?
जो व्यक्तिलाई उनीहरूले निशानामा पारेका छन्, उनीहरूलाई पक्राउ गरिएको कुरामा विश्वस्त बनाउन ठगहरू अनेक तरिका अपनाउछन् । कसैलाई फोन नम्बर दुरुपयोग भएको भन्छन्, त कसैलाई सामाजिक सञ्जालका अकाउन्ट, केहीलाई मेसेजिङ एप भने कसैलाई डकुमेन्ट दुरुपयोग भएको आरोप लगाउँछन् ।
यो काम यसरी गरिन्छ कि निशानामा पारिएका व्यक्तिले त्यो काम आफूबाट भएको हुँदै होइन भन्नै सक्दैनन् । विभिन्न बाहानामा डिजिटल रूपमा पक्राउ गरिएको भनिसकेपछि पीडितको मोबाइलको एक्सेस माग्छन् । त्यसपछि उनीहरूको मोबाइल बैंकिङ एपमा भएको रकम आफ्नो पहुँचमा रहेका खातामा ट्रान्सफर गर्छन् ।
रकम ट्रान्सफर गर्न तयार नभएको खण्डमा भर्चुअल अदालत, भर्चुअल प्रहरी चौकी, भर्चुअल न्यायाधीश, भर्चुअल बहस गराई साँच्चिकै डिजिटल रूपमा पक्राउ परेको भन्ने देखाउँछन् । यस्तोमा लक्षित गरिएको व्यक्ति आफू ठगिन लागेको सुइँको पनि पाउँदैनन् । यति पेसेवर तरिकाले सबै सेटअप मिलाइएको हुन्छ कि लक्षित गरिएको व्यक्ति पढेको होस् वा नपढेको, सजिलै उनीहरूको जालोमा पर्छ ।
त्यही बेला अनुसन्धान प्रक्रियाका लागि व्यक्तिको खातामा भएको रकम सरकारी खातामा पठाउनु पर्ने भन्दै रकम ट्रान्सफर गर्न लगाइन्छ । मनी लाउन्डरिङमा संलग्नता देखिएन भने सबै रकम फिर्ता हुने आश्वासन समेत दिइएको हुन्छ ।
टार्गेटमा परेको व्यक्तिलाई देखाइने भिडिओ अदालतको छ भने अदालतको लोगो, सीबीआईको छ भने सीबीआईको लोगो राखिएको हुन्छ । यतिसम्म कि यसमा संलग्न व्यक्तिहरू निशानामा पारेको व्यक्तिलाई विश्वस्त बनाउन आईडी कार्ड समेत पठाउँछन् ।
सचेत रहन भारतीय प्रधानमन्त्री मोदीको अनुरोध !
भारतमा डिजिटल अरेस्ट स्क्याम व्यापक हुँदै गएपछि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सचेत रहन अनुरोध गरेका छन् । मोदीले भारतीय कानुनमा डिजिटल अरेस्टको त्यस्तो कुनै कानुन नै नभएको भन्दै सर्वसाधारणलाई सचेत गराएका छन् ।
खासगरी कुनै पनि अनुसन्धान अधिकारीले फोन वा भिडिओ कल गरेर व्यक्तिगत जानकारी नमाग्ने समेत उनले स्पष्ट पारेका छन् ।
डिजिटल अरेस्टको नाममा नेपालमा ठगीको जोखिम कति छ ?
साइबर ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पहिले भारतमा हुने साइबर अपराधका घटना क्रमशः नेपालमा देखिने प्रवृत्ति रहेको छ । खासगरी लट्रीको नाममा ठग्ने, उपहार पठाउने नाममा ठग्ने, अनलाइन लगानी गर्न लगाएर ठग्ने अधिकांश घटना भारतबाटै प्रभावित भएको देखिन्छ ।
त्यसैले अहिले भारतमा मौलाइरहेको ‘डिजिटल अरेस्ट स्क्याम’को जालो नेपालसम्म आइपुग्ने जोखिम उत्तिकै रहेको अवस्थीले सुनाए ।
“नेपालमा अहिलेसम्म डिजिटल अरेस्टकै नाममा ठगिएको भन्ने घटना देखिएको त छैन,” अवस्थीले भने, “यसो भन्दैमा डिजिटल अरेस्टका घटना नेपालमा हुँदै नभएको भन्ने पनि नहोला । तर, एउटा कुरा के याद गर्नुपर्छ भने प्रहरीले ह्वाट्सएप वा मेसेन्जरमा डकुमेन्ट पठाएर कारबाही गर्ने भन्ने हुँदैन । पक्राउ गर्नका लागि अदालतबाट पक्राउ पुर्जी लिई प्रहरी भौतिक तथा प्रत्यक्ष रूपमा नै उपस्थित हुनुपर्छ ।”
त्यस्तै फोनमा सम्पर्क गर्दा पनि प्रहरीले आधिकारिक नम्बर नै प्रयोग गर्ने भएकाले त्यसतर्फ सचेत रहन अवस्थीले सुझाए ।