काठमाडौं । एप्पलको प्राइभेट क्लाउड कम्प्युट (पीसीसी) मा भएको कमजोरी पत्ता लगाउने साइबर सुरक्षा अनुसन्धानकर्ताले १० लाख डलर (१३ करोड रुपैयाँभन्दा बढी) पुरस्कार पाउने भएका छन् । कम्पनीले इन्टेलिजेन्समा आउने रिक्वेस्ट सपोर्ट गर्ने पीसीसी सिस्टममा भएको सुरक्षा कमजोरी पत्ता लगाउने ह्याकरलाई पुरस्कार दिने घोषणा गरेको हो ।
कम्पनीले धेरैजसो एआई फिचर म्याक, आईफोन वा अन्य एप्पल हार्डवेयरमै सुरक्षित रूपमा चल्ने दाबी गरेको छ । तर, एआईले थप जटिल काम गर्नुपरेको अवस्थामा भने सर्भरमार्फत एप्पल सिलिकन र नयाँ अपरेटिङ सिस्टममा आधारित पीसीसीमा रिक्वेस्ट जानेछ ।
यस्तोमा सुरक्षा जोखिम बढी हुन सक्छ । त्यसैले कम्पनी यी सिस्टममा हुने सुरक्षा कमजोरी पहिचान गरी दिन साइबर सुरक्षा अनुसन्धानकर्तालाई अनुरोध गरेको हो ।
अन्य कम्पनीका धेरैजसो एआई एपहरू पनि जटिल काम गर्न सर्भरहरूमा निर्भर हुन्छन् । तर त्यस्ता सर्भर-आधारित कामको सुरक्षाबारे प्रयोगकर्तालाई पूर्ण जानकारी भने हुँदैन । एप्पलले लामो समयदेखि प्रयोगकर्ताहरूको गोपनीयतामा ध्यान दिइएको कुरा ठुलो दाबीका साथ प्रस्तुत गर्दै आएको छ ।
एआईको लागि कमजोर रूपमा डिजाइन गरिएका क्लाउड सर्भरहरूले कम्पनीको यस छविमा धक्का पुर्याउन सक्छन् । त्यसो हुन नदिन एप्पलले पीसीसी प्रणालीलाई कमजोरी मुक्त बनाउन खोजेको छ ।
यसको सुरक्षा र गोपनीयता सम्बन्धी ग्यारेन्टीहरू लागु गर्न सकियोस् र सुरक्षा अनुसन्धानकर्ताहरूले स्वतन्त्र रूपमा यी ग्यारेन्टीहरूको सत्यता प्रमाणित गर्न सकून् भन्नका लागि नै यसको डिजाइन गरिएको हो ।
पीसीसीआईको प्राविधिक विवरणको सेक्युरिटी गाइड हेर्नयहाँ क्लिक गर्न सक्नु हुन्छ । त्यस्तै म्याकमै पीसीसीको सेक्युरिटी एनालाइसिस गर्नयहाँ क्लिक गरेर भर्चुअल रिसर्च इन्भाइरोमेन्टमा जान सक्नुहुन्छ ।
तर यसका लागि एप्पल सिलिकन चिपसेट र १६ जीबी र्याम तथा पछिल्लो म्याक ओएस भएको म्याक आवश्यक पर्छ । यसकोसोर्सकोड गिटहबमा राखिएको छ ।
यस बगबाउन्टी अन्तर्गत कमजोरी पत्ता लगाउने अनुसन्धानकर्ताले ५० हजार डलर (करिब ६७ लाख रुपैयाँ) देखि १० लाख डलर (करिब १३ करोड रुपैयाँ) पाउनेछन् । विभिन्न वर्गका सुरक्षा कमजोरी अनुसार अनुसन्धानकर्ताले पाउने पुरस्कारको रकम छुट्याइएको छ ।
पछिल्लो समय बजारमा आएका सबै आईफोनमा पहिलो एप्पल इन्टेलिजेन्स फिचर आईओएस १८.१ अपडेटमा उपलब्ध गराएको छ । एप्पल इन्टेलिजेन्सका अन्य फिचर जेनमोजी र च्याटजीपीटी आईओएस १८.२ को डेभलपर भर्सनमा उपलब्ध भइसकेका छन् ।