काठमाडौं । अहिले अमेरिकामा राष्ट्रपति चयनका लागि चुनावी माहोल तातिरहेको छ । अबको चार वर्षसम्म शक्तिशाली राष्ट्र अमेरिकालाई हाक्ने जिम्मेवारीका लागि डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन ५ नोभेम्बरमा हुँदैछ ।
यसैबिच ट्रम्पलाई प्रविधि क्षेत्रका अर्बपति उद्यमी एलन मस्कले खुलेर समर्थन गरिरहेका छन् । उनी ट्रम्पलाई राष्ट्रपति बनाउन चाहन्छन् । चुनावी माहोल तातिन सुरु भएसँगै मस्कले ट्रम्पलाई सामाजिक सञ्जाल एक्समा सक्रिय बनाउन पहल गरे । ट्रम्पका बारेमा पोस्ट राख्ने, उनका एजेन्डा सार्वजनिक गर्ने, विपक्षी उम्मेदवारका कमजोरीबारे बोल्ने, मूलधारका सञ्चारमाध्यममा नआएका विषय एक्सबाट सार्वजनिक गर्ने लगायतका अभियानमा मस्कले साथ दिए ।
त्यसपछि ट्रम्पको र्यालीमा भौतिक रूपमै उपस्थित भएर समर्थन जनाउन थालेका थिए । उनले ‘अमेरिका पीएसी’ नामको समूह नै बनाएर ट्रम्पको चुनावी अभियानलाई सम्पन्न गर्न लागी परेका छन् । पछिल्लो समय उनले अमेरिकाका मतदाता रिझाउन दैनिक १० लाख डलर (करिब १३ करोड ३० लाख रुपैयाँ बढी) को चिट्ठा उपलब्ध गराउने घोषणा गरेका थिए । केही मतदाताले चिट्ठावापतको रकम पाइसकेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।
आखिर मस्क किन मतदातालाई लाखौं डलर दिइरहेका छन् ? यसबाट उनलाई के फाइदा हुन्छ ?
२१ वर्षीय जेन्डर मुन्डी एलन मस्कको एक कार्यक्रममा सहभागी भएका थिए । उनले पहिले भोट दिने विषयमा केही पनि सोचेका थिएनन् । तर, मस्कको कार्यक्रममा गएपछि उनी ट्रम्पलाई भोट दिने विचार गरिरहेका छन् । “जब कोही तपाईंलाई यस चुनावले तपाईंको भविष्य निर्धारण गर्नेछ भन्छ त्यसले मात्र आगामी चार वर्षको लागि हाम्रो राष्ट्रपति तय गर्ने होइन, हाम्रो विश्वको दिशा र पश्चिमी मुलुकहरूको अवस्थालाई पनि प्रभावित गर्नेछ । यो साँच्चै महत्त्वपूर्ण छ,” उनले बीबीसीलाई भने ।
एलन मस्क जे भनिरहेका छन् यसको उद्देश्यमा कुनै शंका छ भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, “थोरै शंका छ । सबैलाई शंका लाग्नु पनि पर्छ । उनी अर्बपति हुन् । म उनका हरेक विचारमा सहमत छैन । तर, उनी जे गरिरहेका छन् त्यो हामीलाई ध्यानमा राखेर नै गरिरहेका छन् ।”
यदि ट्रम्पले राष्ट्रपतिको चुनाव जिते भने उनी एलन मस्कको कुरा सुन्नेछन् । सरकारी काम र फैसलामा पनि उनको प्रभाव रहन्छ । पेन्सिलभेनियाको टाउनहल त मस्कले नै सरकारी कामको रेखदेख गर्नेछन् । सरकारी काममा उनी सक्रिय भएसँगै उनको कारोबारमा पनि प्रत्यक्ष सकारात्मक असर पर्नेछ ।
रान्स स्कुल अफ बिजनेसका प्रोफेसर एरिक गार्डनका अनुसार ट्रम्प राष्ट्रपति बने भने मस्कलाई प्रविधि क्षेत्रमा थप अघि बढ्न मद्दत पुग्ने बताउँछन् । जोसले भरिएको उद्यमी मस्क जो प्रविधि क्षेत्रमा केही न केही अजीवका काम गरिरहेका हुन्छन् उनलाई थप सफलता दिन कानुन महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
“मस्क अहिले जुन रफ्तारमा विकास भइरहेको छ त्यसलाई अझ अगाडि लैजान चाहन्छन् । उनी मंगल ग्रहसम्म पुग्न चाहन्छन्,” उनी भन्छन्, “त्यसैले यस्ता विषयमा बन्ने कानुन उनका लागि महत्त्वपूर्ण हुन्छन् ।”
मस्कलाई समय समयमा कानुन मिचेको आरोप पनि लाग्दै आएको छ । उनले रकेटदेखि विद्युतीय सवारी हुँदै आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा क्रान्ति नै ल्याएका छन् । अमेरिकाको राष्ट्रपति जो भए पनि उनको फाइदावाला सम्बन्ध चलि नै रहन्छ । फरक त्यति हो ट्रम्पले चुनाव जिते उनले चाहे अनुसार अगाडि बढ्न सक्छन् । अमेरिकामा भोलि कानुन कस्तो बन्छ भन्ने विषय चाहिं यो निर्वाचन कसले जित्छ भन्नेमा निर्भर हुन्छ ।