close

सर्च रिजल्टमा दम्पतीको वेबसाइट नदेखिने बनाउँदा गुगलले तिर्नुपर्‍यो ३४९ अर्ब क्षतिपूर्ति

टेकपाना टेकपाना

कात्तिक १४, २०८१ १५:३६

सर्च रिजल्टमा दम्पतीको वेबसाइट नदेखिने बनाउँदा गुगलले तिर्नुपर्‍यो ३४९ अर्ब क्षतिपूर्ति

काठमाडौं । ठूला कम्पनी विरुद्ध सानो कम्पनी (व्यक्ति) कानुनी लडाइँमा उत्रँदा के होला ? धेरैले अनुमान गर्छन्, मुद्दा ठूलै कम्पनीले जित्छ । तर हालै एक जोडीले गुगल विरुद्धको मुद्दा जितेको छ । मुद्दा जितेसँगै यो जोडीले दुई अर्ब पाउन्ड (करिब ३४९ अर्ब रुपैयाँ) क्षतिपूर्ति पनि पाउने भएको छ ।

यो कथा हो, फाउन्डेम नामक वेबसाइटको, जसलाई बेलायती नागरिक सिवन राफ र उनका पति एडम राफले सन् २००६ को जुन महिनामा सार्वजनिक गरेका थिए । यस वेबसाइटको काम विभिन्न उत्पादनको मूल्य तुलना गर्न ग्राहकलाई सहज बनाउनु थियो ।

तर वेबसाइट सार्वजनिक भएपछि उनीहरूले सोचे जस्तो परिणाम आएन । गुगलको स्पाम फिल्टरले उनीहरूको वेबसाइटलाई स्वतः कारवाही गर्न थाल्यो । नतिजा स्वरूप गुगल सर्चमा वेबसाइट धेरै तलमात्र देखा पर्न थाल्यो । कोही प्रयोगकर्ताले 'प्राइस कम्प्यारिजन', 'कम्प्यारिजन शपिङ' जस्ता शब्द राखेर सर्च गर्दा समेत उनीहरूले वेबसाइट भेट्न सकेनन् ।

यसले आर्थिक रूपमा ठूलो असर पारेको उनीहरूले बीबीसीसँग बताएका छन्, किनकि वेबसाइटमा जति क्लिक आउँथ्यो, त्यति नै आम्दानी बढ्थ्यो । (यही कारण वेबसाइट सन् २०१६ मा बन्द भयो)

त्यसबेला उनीहरूलाई सो कुरा प्राविधिक समस्या जस्तो लागेको थियो । त्यसपछि उनीहरूले गुगलसँग गुनासो गरे । समस्या समाधान हुने विश्वासमा उनीहरूले गुगललाई अनुरोध गरे, तर गुगलले उनीहरूको अनुरोधलाई बेवास्ता गर्‍यो ।

यसबीच फाउन्डेम अन्य सर्च इन्जिनहरूको र्‍याङ्कमा परिरहेको थियो । अनि फाउन्डेमले सन् २००८ मा च्यानल फाइभको ‘द ग्याजेट शो’बाट एउटा पुरस्कार पनि जित्यो । त्यसपछि राफ दम्पतीले आफ्नो वेबसाइटलाई गुगलले स्पाम नभइ एउटा वैध व्यवसाय मान्ने आशा गरेका थिए, तर गुगलले कुनै प्रतिक्रिया देखाएन । गुगलको त्यस्तो प्रतिक्रिया देखेर उनीहरूले आफूहरूमाथि अन्यायपूर्ण व्यवहार गरिएको अनुभव गरे।

यसपछि उनीहरूले गुगल विरुद्ध मुद्दा लड्ने निर्णय गरे र सन् २०१० मा युरोपेली आयोगमा मुद्दा दर्ता गरे। लगत्तै आयोगले अनुसन्धान सुरु गर्‍यो ।

मुद्दामाथि लामो अनुसन्धान र बहस भए। यो मुद्दा दर्ता भएको सात वर्षपछि, सन् २०१७ मा आयोगको फैसला आयो। जसमा युरोपेली आयोगले गुगललाई दोषी ठहर गर्दै उसमाथि २.४ अर्ब युरो (दुई अर्ब पाउण्ड) जरिबाना तिर्न लगाएको थियो। आयोगले त्यतिबेला सर्च रिजल्टमा मूल्य तुलना गर्न सेवा दिने वेबसाइटहरूलाई कम प्राथमिकता दिने कुरा पत्ता लगाएको थियो।

तर गुगलले आयोगको उक्त निर्णयमा असहमति जनाउँदै अदालतमा अपिल गर्यो। यद्यपि युरोपेली न्यायालय (European Court of Justice) ले सेप्टेम्बर २०२४ मा गुगलको अपिल अस्वीकृत गर्दै आयोगकै फैसलालाई मान्यता दिएको थियो।

यसको अर्थ गुगल हारेर राफ दम्पतीले मुद्दा जिते ।

-विभिन्न अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८१ १६:५६