काठमाडौं । दशरथ रङ्गशालामा आज हुने साफ वुमन्स च्याम्पियनशिप २०२४ को फाइनल खेलको टिकटिङ प्रणाली विवादित बनेको छ । अन्तिम समयमा आएर अनलाइन टिकट रद्द गर्नु र भौतिक टिकट बिक्री खुला भएको तीन घण्टामै सोल्डआउट हुँदा हजारौं समर्थक आक्रोशित बनेका छन् ।
प्रतियोगिताको सेमिफाइनल खेलसम्म अनलाइन टिकटको व्यवस्था थियो । फाइनल खेलका लागि समेत अनलाइनमार्फत केही हजार टिकट बिक्री भइसकेको थियो । तर अन्तिम खेलमा अनलाइन टिकट रोकिँदा विभिन्न प्रश्न उठेका छन् ।
त्यस्तै, अनलाइन टिकट बन्द भएपछि भौतिक रूपमा टिकट काट्न गएका दर्शकहरू आज बिहानैदेखि लाइनमा उभिए । तर त्यसो गर्दा समेत धेरैले टिकट पाएनन् । रित्तो हात फर्किए । त्यसमाथि टिकट नपाएपछि आक्रोश पोख्दा दर्शकहरूमाथि प्रहरीले बल प्रयोग गरेको अवस्था छ ।
यस्तो अवस्था कसरी सिर्जना हुन गयो, त्यसबारे केही बुझौं:
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक सूचना निकाल्दै चलिरहेको टिकट बिक्री रोक्यो । यस प्रतियोगिताको टिकट बिक्री गर्न माउन्ट एभरेष्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिले ठेक्का पाएको थियो भने डिजिटल वालेट खल्तीमार्फत टिकट काट्ने व्यवस्था मिलाइएको थियो ।
तर, टिकट काट्ने अधिकार पाएको कम्पनीले बढी बेचेको भन्दै एन्फाले सोमबार सम्झौता बदर गर्यो । अनि आफैं टिकट काट्ने भनेर अर्को सूचना निकाल्यो । सोही सूचनामा बुधबार बिहान जाउलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीस्थित आर्मी मुख्यालयको गेट बाहिर गरी तीन ठाउँमा भौतिक टिकट बिक्री गरिने उल्लेख थियो ।
त्यस्तै, रङ्गशालाको १५ हजार सिट क्षमता भए पनि भीआईपीतर्फ एक हजार र साधारणतर्फ १० हजार गरी कुल ११ हजार टिकट मात्र बिक्री गर्ने एन्फाले जनायो । यसका साथै अनलाइन माध्यमबाट पहिल्यै काटिएका भीआईपी टिकट रिफन्ड (फिर्ता) हुने र साधारण टिकटले मात्र मान्यता पाउने जानकारी दिइयो ।
यसका लागि टिकट काउन्टरमा रहेको खल्ती डेस्कमा गई आफ्नो डिजिटल टिकट देखाएर भौतिक टिकट लिन सकिने बताइएको थियो । सँगै खल्तीले जेनेरल टिकट काटेका प्रयोगकर्तालाई मेसेज पठाएर नै टिकट यथावत् रहेको सूचना दिएको थियो । तर आज बिहान भौतिक टिकट लिन जाने समयमा आफूहरूले खल्तीको काउन्टर नदेखेको धेरै समर्थकहरूले जनाएका छन् ।
अनलाइन नहुँदा सास्ती
अन्तिम समयमा आएर एन्फाले अनलाइन टिकट रोक्नुलाई नै समस्याको थालनी मान्न सकिन्छ । किनकि आजको डिजिटल युगमा अनलाइन व्यवस्था गरिसकेपछि पुनः कागजी प्रक्रियामा फर्कनु आफैंमा लज्जास्पद छ । एन्फाले आज पनि अनलाइन टिकटको व्यवस्था गरेको भए भद्रगोल परिस्थिति सिर्जना हुने थिएन ।
टिकट काट्न भनेर नै दर्शक भौतिक रूपमा गइरहनु पर्दैन थियो । कति टिकट बाँकी छ भन्ने कुरा दर्शकले स्मार्टफोनको स्क्रिनमा हेरेर नै थाहा पाउँथे । तर यी सबै नहुँदा आज एउटा सच्चा खेल प्रेमीमाथि अन्याय गरिएको छ । अझ अनलाइन टिकट काटेका दर्शक (जेनेरल)हरू पुनः भौतिक रूपमा उपस्थिति हुनु पर्यो । भीआईपी टिकट काटेर ढुक्क बसेका दर्शकहरूले त झन् सास्ती नै पाउने भए ।
एन्फाले किन जेनेरल टिकटलाई मान्यता दिँदा भीआईपीलाई दिएन भन्ने कुरा आफैंमा प्रश्नयोग्य छ । यो एउटा सामान्य प्रश्न भयो । तर एन्फाको यस्तो हर्कतका कारण अनेकन् प्रश्न उठाउन सकिन्छ ।
प्रश्न १
अनलाइन टिकटबाट मुख्यत: समय बचाउन किनिन्छ । यो सहज पनि हुन्छ । तर एन्फाले काटिसकेको अनलाइन टिकटलाई मान्यता नदिएर दर्शकलाई दुःख दियो । त्यहाँ पुगेर समेत दर्शकहरूले आफ्नो अनलाइन टिकटसँग भौतिक टिकट साट्न नपाएको गुनासो गरिरहेका छन् । त्यसको लेखाजोखा खै ?
प्रश्न २
समयको कुरा अलिकति माथि गर्यौं । टिकट काट्न जाँदाको समय अरू कुनै काममा लगाउँदा थप उत्पादकत्व बढ्न सक्थ्यो । जति अनलाइन टिकटको व्यवस्था गर्दा जनशक्ति लाग्थ्यो, त्यसको तुलनामा भौतिक टिकटको व्यवस्था गर्दा थप जनशक्ति खटाउनु परेको छ । भौतिक टिकटका लागि सुरक्षाकर्मी पनि ठूलो संख्यामा तैनाथ छन् । त्यसको हिसाबकिताब खोइ ?
प्रश्न ३
एकैपटक धेरै जना भौतिक टिकट लिन जाँदा भीडभाड र सडकमा जाम पनि उत्तिकै परेको छ । यसो हुनुपर्ने कुनै कारण थिएन । यसले कति जनालाई प्रभाव पारेको छ, त्यसको हिसाब किताब खोइ ?
प्रश्न ४
टेकपानाले साफ महिला च्याम्पियनशिपको फाइनल खेलका लागि अनलाइन टिकट बिक्री नगरिएकोमा प्रतिक्रिया लिन सामाजिक सञ्जाल फेसबुकमा प्रश्न राखेको थियो । त्यहाँ अनलाइन टिकट भएको भए आर्थिक पारदर्शिता हुने कुरा आएका थिए ।
आर्थिक पाटोकै कुरा गर्दा अनलाइनमार्फत टिकट काटेकाले भौतिक टिकट लिन नपाउँदा के हुन्छ भन्ने कुरा अहिले जानकारी गराइएको छैन । अनलाइनमार्फत हुँदा लुट्न र कालोबजारी गर्न नपाइने भएर यस्तो गरिएको कुरा पनि आएका छन् । यिनको हिसाब किताब खोइ ?
प्रश्न ५
कतिपय फेसबुक प्रयोगकर्ताले भने एकै जनाले पाँच सय रुपैयाँको टिकट धेरै लिएर कालोबजारीमार्फत बिक्री गरिरहेको लेखेका छन् । त्यसको हिसाब किताब खोइ?
प्रश्न ६
फेसबुकमा राखिएको उक्त प्रश्नमा धेरैले प्रधानमन्त्री केपी शर्मा ओली आउने विषयलाई उल्लेख गरेका छन् । प्रधानमन्त्री ओली आउने हुँदा कार्यकर्ता छिराउन तथा विरोधीहरूलाई नछिराउन यस्तो गरिएको धेरै कमेन्ट आएका छन् । यदि यसो हो भने वास्तविक समर्थकलाई परेको हिसाबकिताब खोइ ?