काठमाडौं । भिन्न डिजाइनका कारण बेलायती प्रविधि ब्रान्ड नथिङको फोनले छोटो समयमा चर्चा पायो । तर यो फोनमा अपरेटिङ सिस्टम एन्ड्रोइड रहेको छ । अहिले विश्वमा गुगलको एन्ड्रोइड र एप्पलको आईओएस प्रमुख मोबाइल अपरेटिङ सिस्टमहरू हुन् ।
यी दुईको दबदबा तोड्न केही कम्पनीले आफ्नै अपरेटिङ सिस्टम ल्याउन प्रयास नगरेका होइनन् । यसो गर्नेमा ह्वावे सफल कम्पनीमा पर्छ । हाल चिनियाँ बजारमा ह्वावेको हार्मोनी ओएसले एन्ड्रोइड तथा आईओएसलाई टक्कर दिइरहेको छ ।
यही बिचमा उही भिन्न डिजाइनले चर्चित नथिङले पनि आफ्नै अपरेटिङ सिस्टम ल्याउन तयारी गरिरहेको खुलेको छ । टेकक्रन्च डिसरप्ट २०२४ मा कम्पनीका संस्थापक तथा प्रखुम कार्यकारी अधिकृत (सीईओ) कार्ल पेईले आफ्नै अपरेटिङ सिस्टमको विकासको सम्भावनाबारे काम भइरहेको बताएका हुन् ।
कार्यक्रममा सीईओ पेईले प्रयोगकर्तालाई केन्द्रमा राखेर नयाँपन ल्याउने प्रतिबद्धता गरेका छन् । उनले एआईका कारण अपरेटिङ सिस्टम ल्याउन पनि खासै गाह्रो नहुने बताएका थिए ।
यसले गर्दा बजारमा नयाँ अपरेटिङ सिस्टम आउन सक्ने आँकलन गर्न सकिन्छ । यद्यपि सीईओ पेईले अपरेटिङ सिस्टमबारे थप केही खुलाएका छैनन् । तर हार्डवेयर जस्तै नथिङको सफ्टवेयर पनि भिन्न हुने भने अनुमान गर्न सकिन्छ ।