close

आईफोन १४ प्लसको क्यामेरामा देखियो समस्या, एप्पलले निःशुल्क मर्मत गरिदिने

टेकपाना टेकपाना

कात्तिक १७, २०८१ १९:३

आईफोन १४ प्लसको क्यामेरामा देखियो समस्या, एप्पलले निःशुल्क मर्मत गरिदिने

काठमाडौं । आईफोन १४ प्लसको क्यामेरामा समस्या देखिएको छ । केही प्रयोगकर्ताले रियर क्यामेराले प्रिभ्यु नदेखाएको गुनासो गरेपछि एप्पलले यसलाई समस्याको रूपमा पहिचान गरेको छ । एप्पलका अनुसार यो समस्या एकदमै थोरै मात्रामा निर्मित आईफोन १४ प्लसका मोडेलमा देखिएको छ ।

यसअन्तर्गत १० अप्रिल २०२३ देखि २८ अप्रिल २०२४ बीचमा उत्पादित फोनको क्यामेरामा प्रिभ्यु नदेखिने समस्या छ । यसले गर्दा प्रयोगकर्तालाई फोटो खिच्न निकै असहज भएको छ । यदि तपाईको आईफोन १४ प्लसमा पनि यस्तो समस्या आएको छ भने जाँच गर्न एप्पल सर्भिस प्रोग्राम पेजमा गई आफ्नो सिरियल नम्बर इन्टर गर्न सक्नुहुन्छ ।

एप्पलले यस समस्याको कारणबारे औपचारिक रूपमा केही खुलाएको छैन । विश्लेषकहरूले उत्पादन प्रक्रियामा देखिएको कुनै प्राविधिक त्रुटिका कारण यो समस्या उत्पन्न भएको हुनसक्ने बताएका छन् ।

समस्या देखिएका डिभाइसको एप्पल स्टोर वा अधिकृत सर्भिस सेन्टरबाट निःशुल्क मर्मत हुने कम्पनीले जनाएको छ । त्यस्तै यसअघि नै क्यामेरा मर्मतका लागि पैसा तिरेका ग्राहकहरूले रकम फिर्ता पाउन सक्नेछन् । 

एप्पलले यस प्रकारका सर्भिस प्रोग्राम समय-समयमा सञ्चालन गर्दै आएको छ । यसअघि पनि आईफोन १२ र १२ प्रोको रिसिभरमा देखिएको समस्या र एयरपड्स प्रोको साउन्डमा आएको समस्या सम्बोधन गर्न यस्ता कार्यक्रम सञ्चालन गरिएका थिए ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८१ १९:९