काठमाडौं । संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प बन्ने निश्चित भएको छ । राष्ट्रपतिका लागि आवश्यक २७० इलेक्ट्रोल भोट नाघेसँगै ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्न लागेका हुन् । ट्रम्प अमेरिकाका ४५ औं राष्ट्रपति समेत हुन् ।
ट्रम्पले २० जनवरी २०२५ मा सपथ ग्रहण गरी कार्यभार सम्हाल्नेछन् । उनी राष्ट्रपति भएको विषय औपचारिक रूपमा घोषणा भइसकेको छैन । यद्यपि विश्वका शीर्ष राष्ट्रहरूले ट्रम्पलाई बधाई तथा शुभकामना दिइरहेका छन् ।
अमेरिकाको राष्ट्रपतीय निर्वाचनलाई विश्वले हेरिरहेको छ । यस्तोबेला विकिपिडिया पेज एडिट गर्नेको लर्को हुन्छ । खासगरी डोनाल्ड ट्रम्पको विकिपिडिया पेज, राष्ट्रपतिको इतिहासको पेज, निर्वाचनको पेज आदिमा एडिट गर्नेहरूको लाम लाग्छ ।
यी पेज निर्वाचनका समयमा सर्वाधिक बढी खोजिने पेजमा पर्छन् । त्यसैले धेरै भ्युज पाउन पनि इन्टरनेट प्रयोगकर्ता विकिपिडिया पेज एडिट गर्न तँछाडमछाड गर्छन् । यस्तोमा बढी एडिट गर्दा जसकोमा राम्रो भ्युज आउछँ, उसले एडिट गरेका सामग्रीले प्राथमिकता पाउँछन् ।
साथै अर्को पटक अरू सामाग्री एप्रुभ हुने सम्भावना उच्च हुन्छ । त्यसैले पनि पेज एडिट गर्नेको होड नै चल्छ ।
पेज अत्यधिक एडिट हुन थालेपछि विकिपिडियाले केही पेज लक गरेको छ । कसैले पक्ष विपक्षमा विकिपिडियाको कन्टेन्ट थप्न खोजेको समयमा प्रयोगकर्ता पहिलेका कन्टेन्ट हटाउने र नयाँ कन्टेन्ट राख्ने गर्छन् । यस्तोमा भ्रामक जानकारी नहोस् भन्नका लागि विकिपिडियाले पेज लक गर्ने गर्छ ।