काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा र प्रमाणपत्र तहका विद्यार्थीहरूलाई पुनः पढाइका लागि अवसर दिने भएको छ । शुक्रवार एक सूचनामार्फत सीटीईभीटीले रोकिएको पढाइ पूरा गर्ने तथा शैक्षिक संस्था परिवर्तन गर्न चाहने विद्यार्थीका लागि निवेदन दिन आग्रह गरेको हो ।
सूचना अनुसार आङ्गिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सम्बन्धन/स्वीकृति प्राप्त शिक्षालयहरूमा डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरू यो प्रक्रियामा सहभागी हुन सक्नेछन् ।
यदि विद्यार्थीले शैक्षिक संस्था परिवर्तन गर्ने भए उपयुक्त कारण खुलाई परीक्षा नियन्त्रण कार्यालयमा आगामी ९ पुससम्म आवश्यक कागजपत्र सहित निवेदन दर्ता गर्नु पर्नेछ । त्यस्तै कारणवश बिचमा नै पढाइ छाडेको, तर उत्तीर्ण भइसक्नु पर्ने समयावधि बाँकी भएका विद्यार्थीले समेत सोही मितिसम्म निवेदन दिनुपर्ने छ ।
१. अध्ययन निरन्तरता सम्बन्धमा
(क) परिषद्मा रजिस्ट्रेसन कायम भएको विद्यार्थी विशेष कारणवश अध्ययन गर्न छुटेमा पाठ्यक्रमले तोकेको समयावधिभित्र सोही कार्यक्रममा अध्ययन निरन्तरताका लागि स्वीकृति लिन निवेदन पेश गर्न सक्नेछ ।
(ख) रजिस्ट्रेसन कायम गरिएको कार्डको प्रतिलिपि ।
(ग) अध्ययन निरन्तरता दिने शिक्षालयको कोटा (छात्रवृत्ति वा पूर्ण शुल्कीय) खुलेको सहमति पत्र ।
(घ) जुन शिक्षालयमा अध्ययन टुटेको हो, सोही शिक्षालयमा मात्र अध्ययन निरन्तरताका लागि निवेदन दिन सक्नेछन् ।
(ङ) अध्ययन निरन्तरता गर्न चाहेको शिक्षालयमा कोटा रिक्त रहेको सक्कल पत्र र अघिल्लो वर्ष/सेमेस्टरको अन्तिम परीक्षाको आन्तरिक मूल्याङ्कनको समष्टिगत (Internal Assessment Sheet) शिक्षालयबाट प्रमाणित भएको पेस गर्नुपर्नेछ ।
(च) शिक्षालयहरूले अध्ययन निरन्तरताका लागि सहमति दिँदा आफ्नो शिक्षालयमा रिक्त कोटाको सङ्ख्यामा मात्र सिफारिस दिनुपर्नेछ।
(छ ) अध्ययन निरन्तरताको सहमति पत्र नलिई प्रशिक्षार्थीलाई अध्ययन गराएमा सो प्रशिक्षार्थीलाई अन्तिम परीक्षामा सामेल गराइने छैन र यसको जिम्मेवार सम्बन्धित शिक्षण संस्था हुनेछ ।
२. प्रशिक्षार्थीको शिक्षालय स्थानान्तरण सम्बन्धमा
(क) प्रशिक्षार्थीले शिक्षालय स्थानान्तरण गरी सोही कार्यक्रममा अध्ययन गर्नका लागि स्पष्ट कारण खुलेको निवेदन ।
(ख) वार्षिक परीक्षा प्रणाली अन्तर्गत प्रथम र दोस्रो वर्षमा तथा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत प्रथम वर्षको दोस्रो खण्ड र दोस्रो वर्षको प्रथम खण्डमा अध्ययन गरी अन्तिम परीक्षाको नियमित परीक्षामा सहभागी भई अध्ययनका लागि स्थानान्तरण स्वीकृति लिन निवेदन पेश गर्न सक्नेछ।
(ग) रजिस्ट्रेसन कायम गरिएको कार्डको प्रतिलिपि ।
(घ) शिक्षालय स्थानान्तरण गरी अध्ययन गर्न दिने र लिने दुवै शिक्षालयको कोटा (छात्रवृत्ति वा पूर्ण शुल्कीय) खुलेको सहमति पत्र, शिक्षालयमा कोटा रिक्त रहेको सक्कल पत्र र अघिल्लो वर्ष/सेमेस्टरको अन्तिम परीक्षाको आन्तरिक मूल्याङ्कनको समष्टिगत (Internal Assessment Sheet) शिक्षालयबाट प्रमाणित भएको पेश गर्नुपर्नेछ ।
(ङ) परिषद्का आङ्गिकबाट आङ्गिकमा, साझेदारीबाट साझेदारीमा, सामुदायिकबाट सामुदायिकमा र निजीबाट निजी शिक्षालयमा मात्र विद्यार्थीहरूले स्थानान्तरणका लागि निवेदन दिन सक्नेछन् ।
(च) (छ) शिक्षालयहरूले शिक्षालय स्थानान्तरणका लागि सहमति दिँदा आफ्नो शिक्षालयमा रिक्त कोटाको सङ्ख्यामा मात्र सिफारिस दिनुपर्नेछ ।
नोट: सबै कागजात एवं प्रक्रियाहरू परीक्षा नियन्त्रण कार्यालयबाट सूचना प्रकाशित मिति पछिको हुनुपर्नेछ । परिवर्तित पाठ्यक्रम लागू भइसकेको भए सिफारिस गरिनेछैन ।