close

जग्गा बेचेर बुवाले बैंकमा जम्मा गरेको १ करोड रुपैयाँ छोराले यसरी अनलाइन स्क्याममा डुबाए

हिक्मत आचार्य हिक्मत आचार्य

कात्तिक २७, २०८१ १९:८

जग्गा बेचेर बुवाले बैंकमा जम्मा गरेको १ करोड रुपैयाँ छोराले यसरी अनलाइन स्क्याममा डुबाए

काठमाडौं । १६ वर्षीय सुशान्त बस्याल (नाम परिवर्तन)ले एक दिन फेसबुकमा लोभलाग्दो विज्ञापन फेला पारे । विज्ञापनमा घरमै बसिबसी लाखौं कमाउन सकिने बताइएको थियो । के रहेछ भनेर बुझ्न विज्ञापनमा दिइएको लिङ्कमा क्लिक गर्दा उनी एक ह्वाट्सएप च्याटमा पुगे । त्यसपछि उनलाई इन्स्टाग्राम पोस्टका लिङ्क पठाएर लाइक गरेको भरमा पैसा कमाउन सकिने प्रलोभन देखाइयो । 

च्याटमा भनिए झैं सुशान्तले नै इन्स्टाग्राम पोस्ट लाइक गरी ह्वाट्सएपमा स्क्रिनशट पठाइदिए । त्यसपछि ह्वाट्सएपबाट उनलाई टेलिग्राममा सम्पर्क गर्न सुझाव आयो । उनले आफ्नो आईडी नम्बर र नाम दिएर च्याट गर्न थाले ।

उक्त टेलिग्राम अकाउन्ट सञ्चालकले सुशान्तलाई बैंक खाता पठाउन भने ।  उनले बैंक खाताको क्यूआर कोड स्क्रिनशट गरी पठाइदिए । त्यसको केही समयमै उनको अकाउन्टमा २०० रुपैयाँ आयो । 

यति भएपछि उनको पहिलो दिनको काम सकियो । र, दोस्रो दिनको कामका लागि पर्खिए ।

दोस्रो दिन पनि उनलाई त्यसरी नै पोस्ट लाइक गर्न लगाएर रकम पठाइयो । यसरी लगातार चार दिनसम्म पोस्ट लाइक गर्न लगाएर उनको खातामा आठ सय रुपैयाँ पठाइयो । 

सुशान्तलाई थप आम्दानी गर्न चाहे भीआईपी क्लबमा जोइन हुनुपर्ने बताइयो । अगाडि केही रकम पाएका सुशान्त सजिलै उक्त प्रलोभनमा परे । सुरुमा उनलाई पाँच हजार जम्मा गर्न लगाइयो । 

उनको मोबाइलमा बुवाको मोबाइल बैङ्किङ एप थियो । केही समयअघि मात्र ती किशोरका बुवाले जग्गा बेचेर आएको एक करोड भन्दा बढी रकम सोही खातामा जम्मा गरेका थिए । यता ती किशोरले बुवालाई थाहै नदिइ त्यही अकाउन्टबाट पाँच हजार जम्मा गरिदिए ।

त्यसपछि रकम बढाउँदै ३० हजार, ५० हजार, ७० हजार हुँदै लाखौं सम्म पुर्‍याइयो । जति जम्मा गर्‍यो त्यति नै बढी कमिसन वेबसाइटमा देखिएपछि किशोर लोभिए र आँखा चिम्लेर भने अनुसार रकम जम्मा गर्दै गए ।

यसरी सुशान्तको बुवाको खातामा भएको एक करोड बढी रकम सबै सक्कियो । 

“यसरी प्रलोभनमा परेर छोटो समयमै जग्गा बेचेको सबै रकम गुमाएपछि ती किशोरका बुवा हाम्रो कार्यालयमा उजुरी दिन आउनु भयो,”  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवम् प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले भने, “यो एक साता अगाडिको घटना हो । अहिले यसमा अनुसन्धान भइरहेको छ ।” 

प्रारम्भिक अनुसन्धानका क्रममा रकम फरक फरक खातामा गएको देखिएको छ । यस्ता खाता कसले सञ्चालन गरेको हो र कसरी रकम सर्कुलेट भइरहेको छ भन्ने विषयमा अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए । 

दोस्रो घटना

कपिलवस्तुका एक प्रहरी कार्यालय सहायकले केही समयअघि ५० लाखको लट्री परेको भन्ने मेसेज पाए । उनले त्यो रकम पाउन कर तिर्नुपर्ने भनिएको थियो । त्यति धेरै रकम पाउने भएपछि कर बापतको रकम तिर्न के गाह्रो भन्ने सोची उनले भने अनुसारको रकम पठाउन तयार भए ।

पहिले जम्मा गरेको रकम बुझाए पनि पछि उनीसँग पैसाको अभाव भयो । र, दुई कट्ठा जग्गा २१ लाखमा बिक्री गरेर त्यो सबै रकम बुझाए । तर, अन्तिममा ५० लाख दिने भनेको व्यक्ति नै गायब भए । यसरी चिट्ठाको प्रलोभनमा पर्दा उनले जम्मा गरेको रकम र जग्गा नै गुमाउन पुगे । 

त्यस्तै अर्को एक चिट्ठाको घटनामा ठगिएकी महिलाको घटना पनि अजिवको छ । गृहिणी रहेकी उनी पैसा जम्मा र खर्च गर्ने जिम्मेवारीमा थिइन् । उनलाई एक अपरिचित नम्बरबाट चिट्ठा परेको भन्दै ह्वाट्सएपमा मेसेज आएको थियो । श्रीमानलाई सरप्राइज दिने भन्दै उनले ह्वाट्सएपको उक्त मेसेजलाई विश्वास गरिन् र भने अनुसारको रकम पठाइदिइन् ।

यसरी विभिन्न समयमा उनले कूल साढे नौ लाख रुपैयाँ बढी बुझाइसकेपछि ठगिएको थाहा पाइन् । र, श्रीमानलाई यसबारे जानकारी दिइन् । त्यसपछि श्रीमान श्रीमती उजुरी दिन केन्द्रीय अनुसन्धान ब्युरो पुगेका थिए । 

“कसैले तपाईंलाई २५ लाख, ५० लाख वा एक करोडको लट्री पर्‍यो भनेको छ भने कर पनि त्यसैबाट तिरेर मिल्यो भने मलाई देऊ भनेर जवाफ पठाउनुस् भनी सम्झाउँछौ,” बोगटी अगाडि भन्छन्, “तर, मान्छे पैसा बाँड्नुपर्‍यो भने घाटा लाग्छ भनेर त्यसो पनि भन्न सक्दैनन् । अनि अर्को कुनै व्यक्तिलाई पनि यसबारे जानकारी दिन सक्दैनन् । भित्रभित्रै भने जति रकम पठाइदिंदा ठगिन पुग्छन् ।”

अनावश्यक फेसबुक लिङ्कमा क्लिक गर्ने व्यक्ति त फस्छ फस्छ, साथै आफन्त पनि फस्छन् ।

सीआईबी प्रवक्ता एवम् प्रहरी उपरीक्षक होवीन्द्र बोगटी

प्रहरी उपरीक्षक बोगटीका अनुसार फेसबुकमा तपाईंको भविष्य कस्तो छ, तपाईंको जोडी कोसँग मिल्छ, तपाईंको घर कस्तो हुन्छ, तपाईंको मिल्ने साथी को हो यसरी जाँच्नुहोस् भन्दै आएका लिङ्कमा क्लिक गर्दा अकाउन्ट ह्याक हुने जोखिम निम्तिन्छ । त्यस्ता लिङ्कमा क्लिक गर्दा प्रयोगकर्ताको अकाउन्ट ह्याक हुन पुग्छ । र, ह्याक भएको सो अकाउन्टबाट स्क्यामरले उक्त व्यक्तिलाई विश्वास गर्ने नजिकका व्यक्तिसँग रकम माग गरी ठग्छ ।

त्यसबाहेक यसरी एउटाको अकाउन्ट ह्याक गरी उक्त अकाउन्टमा यसरी लाखौं कमाउनुहोस् भन्दै एउटा अकाउन्टलाई मेसेज गर्न लगाइन्छ । त्यस्तो अकाउन्टमा मेसेज गरी उनीहरूले भनेकै जस्तो गर्दा अकाउन्ट ह्याक हुने सम्भावना उच्च हुन्छ । सो अकाउन्ट ह्याक भयो भने स्क्यामरले त्यसरी नै अरू व्यक्तिबाट रकम माग्ने र अन्तिममा त्यही अकाउन्ट अरू अकाउन्ट ह्याक गर्न प्रयोग गर्ने गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । 

ट्रुकलरमा बैंकको लोगो राखेर लाखौं ठगी !

केही दिनअघि नागार्जुन नगरपालिकाका एक वडा सदस्यलाई कृषि विकास बैंकबाट भन्दै फोन आयो । एक सहकारीका मेनेजर समेत रहेका ती वडा सदस्यले ट्रुकलरमा बैंकको नाम देखेपछि पत्याइहाले । त्यसपछि बैंकको कर्मचारी दाबी गर्ने उक्त व्यक्तिले मागेको बैंक अकाउन्ट, पासवर्ड, पिन र ओटीपी सबै उपलब्ध गराए । त्यसको केही समयमै उनको अकाउन्टबाट दुई लाख ७५ हजार रुपैयाँ अन्यत्रै ट्रान्सफर गरियो । आफ्नो मोबाइल बैंकिङ एपबाट एकाएक अरूलाई रकम ट्रान्सफर गरे‍को पाएपछि ती वडा सदस्यले प्रहरीलाई खबर गरे र आफू ठगिएको थाहा पाए । 

प्रहरी उपरीक्षक बोगटीका अनुसार यस्तोमा ठगहरू सबैभन्दा पहिले नक्कली डकुमेन्ट बुझाएर सिम निकाल्छन् । त्यसपछि जुन बैंकको ग्राहकलाई ठग्नुपर्ने हो ट्रुकलरमा त्यही बैंकको लोगो र नाम राख्छन् । यस्तो हुँदा कल पाउने व्यक्तिले आफूलाई बैंकबाटै कल आएको भन्ने ठान्छन् र उक्त ठगले मागेका सबै विवरण उपलब्ध गराउँछन् ।

यसरी ठगको लहलहैमा लाग्दा छोटो समयमै बैंकमा भएको सबै रकम गुमाउन पुग्छन् । यस्तोमा कसैले बैंकको कर्मचारी भनेर दाबी गरेको छ भने पहिले बैंकमा बुझ्न प्रहरी उपरीक्षक बोगटीले सुझाव दिएका छन् । “तपाईंको बैंकसँग तपाईंको सबै विवरण हुन्छ, उनीहरूले छुट्टै ओटीपी, पासवर्ड, अकाउन्ट नम्बर माग्नुपर्ने हुँदैन,” प्रहरी उपरीक्षक बोगटी भन्छन्, “जोसुकैले मागे पनि ओटीपी वा अन्य संवेदनशील जानकारी दिनु हुँदैन ।”

फेसबुक ग्रुप र सामाजिक सञ्जालका विज्ञापनबाटै ठगिन्छन् नेपाली

नेपालीको बानी कुनै पनि माध्यमलाई छिटो विश्वास गर्ने छ । खासगरी सामाजिक सञ्जालमा कसैले पोस्ट गरेका वा विज्ञापनका रूपमा स्पोन्सर्ड भएका आएका पोस्टमा झट्ट विश्वास गर्ने केहीको स्वभाव हुन्छ । 

त्यसरी विश्वासमा परेर आफ्ना व्यक्तिगत विवरण ह्याकरको हातमा पार्ने गरेका घटना नौला होइनन् । २५ लाख, ५० लाख र एक करोडको चिट्ठा पर्‍यो भन्दै करका नाममा रकम ठग्ने काम नौलो रहेन । यद्यपि पछिल्लो समय यही शैलीको स्तरीय भर्सन समाजमा देखिन थालेको छ । 

प्रहरीको अनुसन्धान जारी, उता रकम बोर्डर पारी

अनलाइन माध्यमबाट ठगिएको रकम निकाल्न ठगहरू विभिन्न तरिका अपनाउँछन् । प्रहरी उपरीक्षक बोगटीका अनुसार ठगहरूले अनुसन्धान जटिल बनाउन सबैभन्दा पहिले नक्कली कागजात तयार पार्छन् । फोटोकपी गर्ने पसलमा फालेका नागरिकताको फोटोकपीको भरमा सिम निकाल्छन् । त्यसपछि त्यही सिमको सहायताले बैंकमा खाता खोल्छन् । उता ठगी गरेको रकम त्यही विभिन्न व्यक्तिमार्फत अन्तिममा त्यही बैंकमा पठाउन लगाउँछन् । 

सबै रकम आइसपेछि सीमाना पारी खासगरी भारतमा गई एटीएम कार्डमार्फत रकम निकाल्छन् । यस्तोमा अनुसन्धान गर्दा जुन व्यक्तिको नाममा सिम कार्ड निकालिएको देखिन्छ त्यो व्यक्ति निकै विकट ठाउँको हुने गरेको बोगटी सुनाउँछन् । भन्छन्, “विचराहरूले काठमाडौं देखेका पनि हुँदैनन् । कसरी काठमाडौंमा आई सिम निकालेर बैंक अकाउन्ट खोल्न सकून् । न उनीहरू ठगी गर्न सक्ने किसिमका हुन्छन् न दोषी नै बनाउन सकिन्छ ।”

त्यसबाहेक केही व्यक्तिले विकट गाउँमा गएर सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर कागजात माग्ने र त्यसकै भरमा सिम निकाली बैंक अकाउन्ट खोल्ने गरेको देखिएको छ । यसरी बैंक अकाउन्ट खोलिदिएको भरमा केही रकम पनि दिन्छन् । केही हजार रुपैयाँको लोभमा पर्दा उनीहरू पछि करोडौंको ठगीमा मुछिन पुग्ने प्रहरी उपरीक्षक बोगटी सुनाउँछन् ।

अनलाइन ठगीका घटना र अनलाइन जुवामा गुमेको रकम फिर्ता हुने सम्भावना ५ प्रतिशतभन्दा पनि कम हुने प्रहरी उपरीक्षक बोगटीको भनाइ छ । यसरी टेलिकम र बैंकले राम्ररी विचार नगरी सिम वितरण गर्ने र बैंक अकाउन्ट बनाइदिँदा अनुसन्धान गर्नै चुनौती थपिएको उनी बताउँछन् ।

के गर्दा जोगिन सकिन्छ ?

केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगञ्ज

प्रहरी उपरीक्षक बोगटीका अनुसार अनलाइनमा हुने ठगीका घटनाबाट जोगिन सबैभन्दा पहिले सहजै मोटो धन कमाउन सकिने लोभबाट मुक्त हुनुपर्छ । ठगले यसैलाई मुख्य अस्त्र बनाएर ठगी गर्छन् । सबैभन्दा पहिले रकम दिएर पल्क्याउँछन् र पैसा आउने रहेछ भन्ने विश्वास दिलाउँछन् ।

त्यती मात्र नभइ रकम पाएर लाखौंको सम्पत्ति जम्मा गरेको दाबी गर्ने उदाहरणहरू पनि पेस गर्छन् । यी कुराहरू विश्वास गरी स्क्यामरले भनेकै भरमा विभिन्न विवरण दिने र रकम लगानी गर्न खोज्दा ठगिन पुगिन्छ । भरसक सामाजिक सञ्जालमा घरमै बसी लाखौं आम्दानी गर्न सकिने भन्दै आएका विज्ञापन विश्वास गरिनहाल्न प्रहरी उपरीक्षक बोगटीले सुझाव दिएका छन् । 

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८१ २२:१३