काठमाडौं । चीनको अटो पार्ट्स उत्पादक साङ्घाई लन्चको सहायक कम्पनी एलएस अटोको विद्युतीय गाडी एलएस एलईभी ०१ (LEV 01) नेपाल भित्रिने भएको छ । नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले बुधबार काठमाडौंमा यस गाडीको 'सफ्ट लन्च' कार्यक्रम गर्दै यसबारे जानकारी दिएको हो ।
यो प्रिमियम इलेक्ट्रिक एसयूभीको बुकिङ तथा टेस्ट ड्राइभ सुरु भइसकेको छ । ७१ किलोवाट ब्याट्री क्षमता रहेको एलईभी ०१ ले ५५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
यस्तै, कारमा रहेको लेभल टु एड्भान्स ड्राइभिङ एसिस्टेन्स सिस्टममार्फत सवारीधनीले लेन किपिङ असिस्टेन्स, एडापटिभ क्रुज कन्ट्रोल, इमर्जेन्सी ब्रकिङ जस्ता विशेषता प्राप्त गर्नेछन् ।
५ सिटर एसयूभी डिजाइनको ईभीको इन्टेरियरमा १२ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट जडान गरिएको छ । यस्तै, वायरलेस चार्जिङ प्याड, मल्टी जोन क्लाइमेट कन्ट्रोल सिस्टम, प्यानारोमिक सनरुफ लगायतका विशेषताले एलईभीलाई थप आकर्षक बनाएको छ ।
१९ इन्च एलोए व्हिल रहेको यस ईभीको ग्राउन्ड क्लियरेन्स २१० एमएम रहेको कम्पनीको दाबी छ । क्रसओभर एसयूभी डिजाइनमा तयार भएको यस गाडीको लम्बाइ ४६४० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५५ एमएम छ भने २७६० एमएमको ह्विलवेस रहेको छ ।
लक्जरी सेग्मेन्टको यस एसयूभीको नेपाली बजारमा अनुमानित मूल्य ६८ लाख ५० हजार रहेको छ । साथै कम्पनीले मोटर र ब्याट्री दुवैमा आठ वर्ष वा एक लाख ५० हजार किलोमिटर वारेन्टी दिने भएको छ ।
ग्राहकले काठमाडौंको चिनियाँ दूतावास नजिक रहेको शोरुममार्फत एलईभी ०१ को टेस्ट ड्राइभ बुक गर्नसक्ने छन् ।