काठमाडौं । च्याटजीपीटी निर्माता ओपनएआईले दुई अर्ब बढी तिरेर खरिद गरेको डोमेन नेपालमा प्रतिबन्धमा रहेको पाइएको छ । ओपनएआईले हालै मात्र एक करोड ५० लाख डलर (दुई अर्ब रुपैयाँ बढी) तिरेर लिएको च्याट डटकम डोमेन नेपालमा भने प्रतिबन्धको सूचीमा रहेको पाइएको हो ।
अहिले अधिकांश सेवाप्रदायकको इन्टेरनेटबाट ‘chat.com’ सर्च गर्ने हो भने नेपालको कानुनले प्रतिबन्ध लगाएको छ भन्ने सूचना देखिन्छ ।
“तपाईंले ब्राउज गर्न खोज्नु भएको वेबसाइट (Website) मा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले बन्देज लगाएको सामग्रीहरू रहेकोले नेपाल सरकार तथा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार त्यस्तो सामग्रीहरूको पहुँचमा रोक लगाइएको छ,” सूचनामा लेखिएको छ ।
विभिन्न मोबाइल तथा इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिले नियामकबाट ‘प्रतिबन्ध लगाउनू’ भनेर पठाएको साइटको सूचीमा च्याट डटकम रहेकाले प्रतिबन्ध लगाइएको बताएका छन् । केही सेवाप्रदायकको नेटवर्कबाट भने यो वेबसाइट निर्बाध चलिरहेको छ ।
दूरसञ्चार प्राधिकरणको सूचना अनुसार च्याट डटकमलाई अश्लील साइटका रूपमा परिभाषित गरिएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ अन्तर्गत उपदफा (क), (ख), (ग) र (घ) मा अश्लील सामग्रीबारे उल्लेख गरिएको छ ।
बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यसहित तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ मा नेपालमा अश्लील वेबसाइट बन्द गर्ने निर्णय गरेको थियो ।
नियामक दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले च्याट डटकममाथि लागेको प्रतिबन्धबारे थप बुझेर मात्र जानकारी दिने बताए । “यस विषयमा के भएको रहेछ, म बुझेर खबर गर्छु,” उनले भने ।
च्याट डटकम ओपनएआईले खरिद गर्नुअघि एक भिडिओ च्याट वेबसाइट थियो । यसमा विभिन्न व्यक्तिले अपरिचित व्यक्तिसँग भिडिओमै कुरा गर्न सक्थे । वेबसाइटमा जोडिनासाथ चार जना अपरिचित व्यक्ति आइपुग्थे । त्यतिबेला यसमा ५० लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको बताइन्छ ।
ओपनएआईले च्याटजीपीटीलाई च्याटमा रिब्रान्ड गर्ने योजनासहित च्याट डटकम डोमेन खरिद गरेको हो । सुरुवातमा च्याटजीपीटी ब्राउज गर्न chat.openai.com/chat ब्राउज गर्नुपर्ने हुन्थ्यो ।
पछि कम्पनीले chatgpt.com डोमेन प्रयोगमा ल्यायो । यसलाई अझ छोटो बनाउन अहिले chat.com लाई पनि च्याटजीपीटी डटकममै रिडाइरेक्ट हुने बनाइएको छ । अर्थात् अहिले ब्राउजरमा च्याट डटकम ब्राउज गर्दा च्याटजीपीटी डटकम खुल्छ । नेपालमा भने च्याट डटकममै प्रतिबन्ध लगाएकाले च्याटजीपीटीमा रिडाइरेक्ट हुन पाउँदैन ।