काठमाडौं । अहिले भारतको उत्तरी भाग वायु प्रदूषणको चर्को चपेटामा परेको छ । लाखौं मानिस हानिकारक कणले स्वास्थ्यमा पार्ने खतराको उच्च जोखिममा छन् । दिल्ली र राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा प्रदूषित वायु कुहिरोको रूपमा देखिन थालेको छ ।
केही मिटर परको ठाउँ देख्न नाङ्गो आँखालाई सकस पर्ने अवस्था छ । केही मिडियाले त त्यहाँको प्रदूषणलाई चुरोटको धुवाँसँग तुलना गरेका छन् । दिल्लीमा १० मिनेट योगा गर्नु र कुनै स्वच्छ ठाउँमा ४९ चुरोट तान्नुको असर एउटै हुने विश्लेषण गरिएको छ ।
दिल्ली, गुरुग्राम, नोयडा, गाजियाबाद जस्ता सहरहरू गम्भीर वायु गुणस्तरको समस्या सामना गरिरहेका छन् । यी ठाउँमा वायु गुणस्तर सूचाङ्क (एक्यूआई) विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षाको मापदण्डभन्दा धेरै माथि पुगिसकेको छ । यो अवस्था यति गम्भीर भएको छ कि बाक्लो धुवाँको तह अहिले अन्तरिक्षबाट पनि देखिन थालेको छ ।
“उत्तर भारतको आजको प्रदूषण अन्तरिक्षबाट स्पष्ट देख्न सकिन्छ, जुन एक महिनाअघि भन्दा धेरै फरक छ,” एउटा रेड्डिट पोस्टमा भनिएको छ । यसमा क्षेत्रभरि फैलिएको प्रदूषणको बाक्लो तहलाई खैरो रङ्गमा देखाउने म्याप पनि सार्वजनिक भएको छ । फोटोको वास्तविक स्रोत यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।
सो पोस्टमा एक महिनाको अन्तरालमा खिचिएका दुई ओटा फोटो राखिएको छ । अक्टोबरमा लिइएको तस्वीरमा भारतको उत्तरी भाग सफा देखिन्छ । तर, नोभेम्बरसम्ममा दिल्ली क्षेत्र वरपर खैरो कुहिरो स्पष्ट रूपमा देख्न सकिन्छ । यसले प्रदूषणमा उल्लेखनीय वृद्धि भएको सङ्केत गरेको छ ।
पोस्टमा धेरै रेड्डिट प्रयोगकर्ताले आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, “स्थिति यति खराब छ कि मेरो एयर प्युरिफायर निरन्तर चलिरहेको छ । तर, अझै पनि रातो बत्ति देखिरहेको छ । मैले ढोका र झ्याल बन्द गरेको छु । तर कुनै सुधार भएको छैन ।” अर्का प्रयोगकर्ताले टिप्पणी गर्दै आफूहरू अब बर्बाद भएको जनाएका छन् ।
सोमबार दिल्लीको एक्यूआई ५०० भन्दा माथि पुगेर सिजनकै सबैभन्दा उच्च स्तरमा पुगेको थियो । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)का अनुसार सोही दिन नोयडाको एक्यूआई ४२३, गुरुग्रामको ४६९ र गाजियाबादको ४३८ थियो ।
एक्यूआई शून्यदेखि ५० लाई ‘राम्रो’ मानिन्छ । त्यस्तै ५१ देखि १०० लाई ‘सन्तोषजनक’, १०१ देखि २०० लाई ‘मध्यम’, २०१ देखि ३०० लाई ‘खराब’ मानिन्छ । त्यसैगरी ३०१ देखि ४०० लाई ‘धेरै खराब’, ४०१ देखि ४५० लाई ‘गम्भीर’ र ४५० भन्दा माथिको एक्यूआईलाई ‘गम्भीर प्लस’ (severe-plus) श्रेणीमा वर्गीकृत गरिएको छ । यी ठाउँको प्रदूषण ‘गम्भीर प्लस’मा परेको छ ।