काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८१ का लागि स्नातकोत्तर (मास्टर्स) तहमा आईटी लगायतका विषयमा भर्ना खुलाएको छ । सोमबार एक सूचना जारी गर्दै विश्वविद्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) अन्तर्गत केन्द्रीय विभाग, आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा पढाउने गरी भर्ना खुलाएको हो ।
यस अन्तर्गत मास्टर्स अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (एमएससी सीएसआईटी), मास्टर इन डेटा साइन्स (एमडीएस) र मास्टर इन इन्फर्मेसन टेक्नोलोजी (एमआईटी) रहेका छन् । यी बाहेक सूचना प्रविधि सम्बन्धी अन्य १७ विषयमा पनि भर्ना खुलेको छ ।
सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार पठन पाठन हुने यी विषयमा भर्ना हुन इच्छुक विद्यार्थीहरूले २८ मङ्सिरसम्म आवेदन फाराम भरी सक्नुपर्ने छ । फाराम १३ मङ्सिरका दिन बिहान १० बजेदेखि आईओएसटीको वेबसाइटमा उपलब्ध हुनेछ ।
प्रवेश परीक्षा हुने मिति, समय र केन्द्र भने पछि प्रकाशित गरिने त्रिविले जनाएको छ ।