close

प्रतिबन्ध लाग्ने चर्चा बीच ट्रम्प भन्छन्- मेरो हृदयमा टिकटकका लागि न्यानो ठाउँ छ

टेकपाना टेकपाना

पुस ३, २०८१ १७:८

प्रतिबन्ध लाग्ने चर्चा बीच ट्रम्प भन्छन्- मेरो हृदयमा टिकटकका लागि न्यानो ठाउँ छ

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनयता प्रविधि क्षेत्रका दिग्गज व्यक्तिसँगको भेटघाट बढाएका छन् । हालै मात्र एप्पलका सीईओ टिम कुक र मेटाका सीईओ मार्क जुकरबर्गसँग ट्रम्पले छलफल गरेका थिए । यही सूचीमा चिनियाँ सामाजिक सञ्जाल टिकटकका प्रमुख शो जी चिउ पनि थपिएका छन् ।

सीएनबीसीका अनुसार सोमबार टिकटकका प्रमुख चिउले ट्रम्पलाई उनको रिसोर्ट मार-अ-लागो क्लबमा भेटेका थिए । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्ने चर्चाबीच ट्रम्प र चिउबीच भेटवार्ता भएको हो ।

वर्तमान राष्ट्रपति जो बाइडेनले एउटा संघीय कानुनमा हस्ताक्षर गरेपछि टिकटकले चुनौतीको सामना गरेको छ । यस अनुसार टिकटकले आगामी १९ जनवरीभित्र चिनियाँ स्वामित्व अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्नेछ । यस्तो हुन नसके अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउनेछ ।​

चिउसँगको भेटअघि प्रतिबन्धको सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारहरूलाई भने, “हामी टिकटकलाई हेर्नेछौं । तपाईंलाई थाहा छ मेरो मनमा टिकटकका लागि न्यानो ठाउँ छ ।”

ट्रम्पलाई विजयी बनाउन टिकटकले पनि भूमिका खेलेको बताइन्छ । विशेषगरी युवा मतदाताहरूबीच उनको प्रदर्शनलाई मजबुत बनाउन टिकटक महत्त्वपूर्ण टुलका रूपमा देखिएको थियो । चुनाव प्रचारका क्रममा ट्रम्पले अमेरिकामा टिकटक प्रतिबन्धित हुन नदिने बाचा समेत गरेका थिए ।

सोमबार टिकटकका वकिलले अमेरिकी सर्वोच्च अदालतसँग एपलाई चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग हुन वा देशमा प्रतिबन्ध झेल्नुपर्ने कानुनी प्रावधान रोक्नका लागि आदेश जारी गर्न माग राखेका थिए ।

पछिल्लो अध्यावधिक: पुस ३, २०८१ १७:२६