close

नेपालमा ‘अनलाइन रोमान्स’ को साइड इफेक्ट, अश्लील फोटो माग्नेदेखि बेइज्जतीसम्म

टेकपाना टेकपाना

पुस १२, २०८१ १६:४६

नेपालमा ‘अनलाइन रोमान्स’ को साइड इफेक्ट, अश्लील फोटो माग्नेदेखि बेइज्जतीसम्म

काठमाडौं । अनलाइन प्रेम सम्बन्धमा रहेका बालबालिका र युवामाथि हुने हिंसाको डरलाग्दो स्वरूप देखा परेको छ । बिहीबार चाइल्ड सेफ नेटले सार्वजनिक गरेको ‘रोमान्सदेखि जोखिमसम्म: किशोर किशोरी र युवाहरूमाथि अनलाइन अन्तरङ्ग सम्बन्ध हिंसा’ अध्ययन प्रतिवेदनले यस्तो अवस्था देखाएको हो । 

सेक्सुअल भायोलेन्स रिसर्च इनिसियटिभसँगको सहकार्यमा सम्पन्न भएको यो अध्ययन एसिया र प्रशान्त क्षेत्रमा पहिलो भएको दाबी चाइल्ड सेफ नेटले गरेको छ । यस अध्ययन प्रतिवेदनले नेपालमा बढ्दो अनलाइन अन्तरङ्ग सम्बन्ध हिंसा (आईपीभी) लाई विस्तृत रूपमा उजागर गरेको छ । 

“डिजिटल प्रविधिको असुरक्षित प्रयोगले अन्तरङ्ग साथीबिचको हिंसालाई बढाएको दिएको छ,” अध्ययनबारे जानकारी दिँदै चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले भने, “यसमा मुख्यत: पार्टनरलाई नियन्त्रण गर्न खोज्ने, हानी पुर्याउने उद्देश्यले अनलाइनमा पछ्याउने, दबाब दिने र भावनात्मक दुर्व्यवहार गर्ने लगायतका गतिविधि समावेश छन् ।”

कार्यक्रममा चाइल्डसेफनेटकी अनुसन्धान अधिकृत तुलसा खड्काले अध्ययनका मुख्य निष्कर्ष प्रस्तुत गरेकी थिइन् ।

चार हजार ३५२ जना सहभागीमा गरिएको सर्वेक्षणमा २९ प्रतिशत १६ देखि १७ वर्ष उमेर समूहका थिए भने बाँकी ७१ प्रतिशत १८ देखि २४ वर्षका थिए । सहभागीमध्ये ४०.५ प्रतिशतले हाल वा विगतमा अनलाइनको माध्यमबाट अन्तरङ्ग सम्बन्ध भएको बताएका थिए । अन्तरङ्ग सम्बन्धमा रहेका चारमध्ये एक व्यक्तिले आफूमाथि पार्टनरबाट अनलाइन हिंसा भएको बताएका थिए ।

सहभागीमध्ये ११ प्रतिशतले वयस्क र नाबालिगबिचको सम्बन्ध रहेको बताएका छन् । सुनसरी जिल्ला अनलाइन इन्टिमेट पार्टनर भायोलन्स (आईपीभी) को उच्च स्तरमा रहेको पाइएको छ । त्यहाँ ३८ प्रतिशत सहभागीले आफू अनलाइन आईपीभीको सिकार भएको जनाएका छन् ।

किशोरकिशोरी (१६-१७ वर्ष) र युवा (१८-२४ वर्ष) दुवै उमेर समूहका व्यक्तिहरू समान रूपमा अनलाइन आईपीभीको जोखिममा रहेको देखिएको छ। तथापि युवाहरुले दुर्व्यवहारका व्यवहारलाई चिन्न र तिनबाट जोगिन तुलनात्मक रूपमा बढी क्षमता देखाएका छन् । प्रतिवेदनले लामो प्रेम सम्बन्धमा भन्दा छ महिनाभन्दा कम समयको सम्बन्धमा रहेका व्यक्तिहरू उच्च जोखिममा रहेको तथ्य उजागर गरेको छ ।

अनलाइन दुर्व्यवहारका प्रकारहरूमा १०.३ प्रतिशत सहभागीले अडिओ र भिडिओ कलमा गाली गर्ने उल्लेख गरेका छन् भने १०.२ प्रतिशतले आफ्नो पार्टनरको जासुसी गर्ने, ७.२ प्रतिशतले इन्टरनेटमा पार्टनरलाई नियन्त्रण गर्न खोज्ने र ७ प्रतिशतले अनलाइन सम्बन्धमा हस्तक्षेप गर्ने प्रयास गरेको तथ्य बाहिर आएको छ ।

त्यसैगरी ५.४ प्रतिशतले पार्टनरलाई अश्लील मेसेज पठाउने, ५ प्रतिशतले फोन वा मेसेजमार्फत दुर्व्यवहार गर्ने, ४.७ प्रतिशतले अश्लील सामग्री पठाउन बाध्य पार्ने, ४.४ प्रतिशतले अनलाइनमा अश्लील हर्कत गर्न बाध्य पार्ने, ३.२ प्रतिशतले अश्लील फोटो सार्वजनिक गर्ने धम्की दिने र ३ प्रतिशतले आफ्नै पार्टनरलाई अश्लील सामग्री बनाएर धम्क्याउने गरेको उल्लेख गरिएको छ।

अध्ययनका अनुसार ४६ प्रतिशत सहभागीले अनलाइन र अफलाइन दुवै प्रकारका इन्टिमेट पार्टनर भायोलन्स (आईपीभी) को सामना गरेको बताएका छन् । विशेषतः लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू अनलाइन डेटिङ एपको प्रयोगका कारण उच्च जोखिममा रहेको पाइएको छ ।

नेपालको सन्दर्भमा आईपीभीको विषयमा छलफल गर्दै रघुवंशीले भने, “नेपाली कानुनले अविवाहित जोडीहरूको अन्तरंग सम्बन्धलाई मान्यता दिँदैन । यसले गर्दा अविवाहित जोडीहरूमा हुने अनलाइन अन्तरंग साझेदार हिंसाका विषयमा नीति तथा कानुनको अभाव रहेको देखिन्छ ।”

यो अध्ययन १६ देखि २४ वर्षका चार हजारभन्दा बढी किशोरकिशोरी र युवाहरूबाट नेपालका सातै प्रदेशका १० जिल्लाबाट जानकारी सङ्कलन गरी गरिएको थियो । अध्ययनले डिजिटल प्लेटफर्महरूको दुरुपयोगबाट हुने आईपीभी सम्बन्धित जोखिम, सुरक्षात्मक अभ्यास र प्रणालीगत कमजोरीहरू पत्ता लगाउने उद्देश्य राखेको थियो ।

अध्ययनले केही महत्त्वपूर्ण प्रणालीगत कमजोरीहरू उजागर गरेको छ । विशेषगरी पीडितलाई दोष दिने प्रवृत्ति, पीडित केन्द्रित दृष्टिकोण र सहयोगको अभाव र अपर्याप्त तथा कमजोर कानुनी संरचनाका कारण यस्ता घटना बढिरहेको देखिएको छ । यसले बहु-क्षेत्रीय जिम्मेवार निकाय र सरोकारवालालाई किशोर किशोरी र युवालाई अनलाइन आईपीभीबाट सुरक्षित राख्न आआफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्दै शिक्षा, चेतना अभियान, नीतिगत सुधार र बलियो कानुनी संरचना विकासका लागि सिफारिस गरेको छ ।

अभिभावक र विद्यालयलाई अनलाइन सुरक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न प्रोत्साहित गर्दै अध्ययनले प्रविधिमार्फत हुने आईपीभीबारे थप अनुसन्धानको आधार तयार पारेको छ ।

चाइल्डसेफनेटको यस अध्ययनले नीति निर्माता, सेवा प्रदायक र समुदायका लागि प्रभावकारी सुझाव प्रस्तुत गर्दै जोखिमका कारक पहिचान गरी बालबालिका र युवाका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने अपेक्षा राखेको छ । 

सर्वेक्षणमा सहभागीमध्ये केहीले दिएका जवाफ:​

‘उनी मेरो सामाजिक सञ्जालको पासवर्डहरू जान्दथे । उनी मेरो नाममा नक्कल गरेर मेरा साथीहरूसँग कुरा गर्थे।’ - १७ वर्षीया महिला, काठमाडौं।

‘मेरो श्रीमान्ले मेरो तस्बिरहरूलाई मोर्फ गरेर अश्लील बनाउँदै, मेरो चरित्रमाथि प्रश्न उठाउँदै झूटा अभिव्यक्तिहरू सामाजिक सञ्जालमार्फत फैलाए।’ - २४ वर्षीया महिला, नुवाकोट।

‘उनले मलाई छ वर्षसम्म विभिन्न पोजमा न्युड तस्बिरहरू पठाउन बाध्य पारे, र मैले सहयोग गरेँ।’ - १३ देखि १८ वर्षका गैर-द्वैध लैङ्गिक व्यक्ति, काठमाडौं।

‘मेरो पुरुष पार्टनरले मेरो सामाजिक सञ्जालको पासवर्ड खोल्न बाध्य पारे र मेरो अन्य व्यक्तिहरूसँगको सम्पर्कमा प्रतिबन्ध लगाए।’ - २२ वर्षीय समलिङ्गी पुरुष, काठमाडौं।

पछिल्लो अध्यावधिक: पुस १२, २०८१ १७:३१