close

फियाट एभेन्टुरा हाँक्ने दीपेन्द्रसिंह ऐरीको एनपीएलमा जितेको ईभी चलाउँदाको अनुभव कस्तो छ ?

टेकपाना टेकपाना

पुस १५, २०८१ १८:४

फियाट एभेन्टुरा हाँक्ने दीपेन्द्रसिंह ऐरीको एनपीएलमा जितेको ईभी चलाउँदाको अनुभव कस्तो छ ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनमा उत्कृष्ट खेलाडी घोषित दीपेन्द्रसिंह ओमोडाको ब्रान्ड एम्बेस्डर बनेका छन् । पुरस्कारको रूपमा प्राप्त ओमोडा ई५ एसयूभी कारको स्पोन्सर ओमोडाले नै त्यसको कर समेत तिरि दिने भएपछि ऐरी कम्पनीसँग जोडिएका हुन् ।

ब्रान्ड एम्बेस्डर बनेका राष्ट्रिय क्रिकेट खेलाडी ऐरीले टेकपानासँगको कुराकानीमा आफ्नो नयाँ ईभी अनुभव समेत शेयर गरेका छन् । "गियर सिस्टम नहुँदा चलाउन पनि सजिलो छ । चलाउने क्रममा अरू ईभी हलुका लागे भए पनि यो (ओमोडा) चलाउँदा भने हेभी महसुस भयो," उनले भने ।

हाल देशका विभिन्न ठाउँमा चार्जिङ स्टेसन भएकाले ईभीमा लामो यात्रा पनि सहजै हुने उनको भनाई छ । तर आफूले भने त्यस विषयमा अहिले नै नसोचेको ऐरीले बताए । "यसमा पोखरासम्म जान पाए सजिलै हुन्छ भन्ने लागिरहेको छ," उनले भने ।

यस अघि भने ऐरी पेट्रोलबाट चल्ने फियाट एभेन्टुरा गाडी चलाउने गर्थे । राम्रो खेलेर ओमोडा ईभी जित्न सकेकोमा एकदमै खुसी व्यक्त गर्दै उनले आफूलाई पेट्रोल गाडीभन्दा ईभी नै राम्रो लाग्ने भनाई राखे ।

सारदा ग्रुपले पहिलो पटक नेपालमा ईभी स्पोन्सर गरेको प्रसँगमा ऐरीले यो नेपाली क्रिकेटका लागि यो निकै राम्रो भएको प्रतिक्रिया दिए । उनले भने, "ईभीसँगै त्यसको ट्याक्स पनि उहाँहरूले फ्रि गरिदिनु भयो । सँगसँगै एम्बेस्डर पनि लिने कुरा पनि गर्नु भयोभयो । आगामी दिनमा पनि उहाँसँग जोडिन पाउँदा एकदमै खुसी छु ।"

आफ्ना धेरै साथीले पनि ईभी किनेको सुनाउँदै ऐरीले विशेषगरी काठमाडौं उपत्यकाका लागि ईभी निकै राम्रो विकल्प भएको बताए । "पेट्रोलको लाइन बस्नु पर्दैन, रातभर चार्जमा राखेर चलाउन पाइयो," उनले भने ।

ब्रान्ड एम्बेस्डर बन्ने क्रममा सम्बन्धित ब्रान्डको दिगोपन र प्राप्त हुने रकमलाई आफूले आधार बनाउने गरेको कुरा समेत ऐरीले सुनाए । 

 

पछिल्लो अध्यावधिक: पुस १५, २०८१ १९:४६