काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनको घटनामा सामाजिक सञ्जालको भाइरल प्रवृत्तिलाई जिम्मेवार ठहराएका छन् । फेसबुकमा एक पोस्ट गर्दै ओलीले बालगायकको प्रतिभामा पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले नकारात्मक असर गरेको टिप्पणी गरेका हुन् ।
यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको उनले लेखेका छन् ।
“बालगायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली !!” ओलीले फेसबुक पोस्टमा लेखेका छन् ।
१३ वर्षका सचिनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो ।
गुल्मीका सचिन एक समय सामाजिक सञ्जालमा निकै भाइरल थिए । बाटोमा गीत गाउँदै हिँड्ने सचिन एउटा युट्युब अन्तर्वार्तापछि एकाएक भाइरल भएका थिए । उनको लबज, गीत गाउने शैली र हाउभाउलाई धेरैले मनोरञ्जनका रूपमा लिन्थे ।
भाइरल भएपछि काठमाडौं आएका उनले थुप्रै युट्युब च्यानल र मिडियामा अन्तर्वार्ता दिए । अभिनेता राजेश हमालसँग समेत उनले म्युजिक भिडिओ खेले । विभिन्न टेलिभिजन शो र सिरियलमा पुगे । उनले ‘ओठ खोलेर’, ‘के छ हजुर’, ‘सेतो कपास’, ‘वरको छायाँले’, ‘हान्छु ढुंगाले’ लगायतका गीतमा स्वर दिएका छन् ।
गरिबी, कमजोर अभिभावकत्व, शारीरिक समस्या र सामाजिक सञ्जालको भाइरलपनका कारण सचिनले स्वतन्त्र जीवन बिताउन नपाएको जानकारहरू बताउँछन् । परिवारले उनलाई पढ्न लेख्न र बाल्यकालको रमाइलो गर्नबाट वञ्चित गराएको थियो । एक समय मेला महोत्सवमा उनकै माग हुन्थ्यो । प्रस्तुति जस्तोसुकै भएपनि गाउन र नाच्न लगाएर अरूलाई हँसाउन लगाइन्थ्यो ।
बिरामी शरीर हुँदा समेत उनी दोहोरी र युट्युबरका अन्तर्वार्तामा पुग्थे । सचिनको पछाडि युट्युबरदेखि अभियन्तासम्म लाम लाग्थे । विस्तारै सबैले साथ छोडे । अर्कोतर्फ, आमाबुबा मिल्न नसक्दा सचिनले परिवारभित्र खुसी भेट्न सकेका थिएनन् । बुबा तेजेन्द्रमाथि त छोराको आवश्यक रेखदेख नगरेको, सहयोगमा आएको पैसा समेत उडाएको आरोप लाग्ने गरेको छ ।