काठमाडौं । एक व्यक्तिले डेटिङ एपको दुरुपयोग गर्दै भारतका झण्डै ७०० युवतीलाई ब्ल्याकमेल गरेको खुलासा भएको छ । भारतीय प्रहरीको अनुसन्धान अनुसार ती व्यक्तिले डेटिङ एपबाट मायाको जालो बुनी युवतीहरूलाई ठगी गर्ने धन्दा चलाएका हुन् ।
२३ वर्षीय तुषारसिंह विष्टले डेटिङ एप र सामाजिक सञ्जालमा आफूलाई अमेरिकी मोडेल भनेर चिनाउँथे । युवतीहरूलाई प्रभावमा पारी ठगी गरेको पाइएपछि गत शुक्रबार पूर्वी दिल्लीको शकरपुर क्षेत्रबाट उनी पक्राउ परेका छन् ।
भारतीय मिडिया एनडीटीभीका अनुसार तुषार दिल्लीका बासिन्दा हुन् र उनले व्यवसाय व्यवस्थापन (बीबीए) मा स्नातक गरेका छन् । उनी विगत तीन वर्षदेखि नोएडाको एक निजी कम्पनीमा टेक्निकल रिक्रुटरको रूपमा काम गर्दै आएका छन् । दिनमा कार्यालयमा काम गर्ने उनी रातको समयमा झुटो परिचय र आश्वासन देखाएर साइबर अपराध कर्ममा लाग्थे ।
ब्ल्याकमेल गर्ने उनको तरिका
तुषारले सबैभन्दा पहिले एउटा एपको मद्दतले भर्चुअल अन्तर्राष्ट्रिय मोबाइल नम्बर लिए, अनि स्न्यापच्याट, ह्वाट्सएप र डेटिङ एप बम्बलमा नक्कली प्रोफाइल बनाए । उनले आफूलाई एक अमेरिकी मोडेल भएको र भारत भ्रमणमा रहेको झुटो कथा बुने । उक्त प्रोफाइलका लागि उनले ब्राजिलका एक वास्तविक मोडेलका फोटो र कथा चोरे ।
उनका मुख्य निशानामा १८ देखि ३० वर्ष उमेरका युवती थिए । उनीसँगै अनलाइन प्लेटफर्महरूमा कुरा गर्दै जाँदा युवतीले आफ्ना नम्बर तथा गोप्य तस्बिरहरू पठाउँथे । सुरुवातमा उनले यी क्रियाकलापलाई मनोरञ्जनका रूपमा सुरु गरे, तर समयसँगै उनले यसलाई ब्ल्याकमेल र पैसा असुल्ने व्यवस्थित योजनामा बदलिदिए ।
प्रहरीका अनुसार तुषारले ती गोप्य सामग्री प्रयोग गरेर युवतीलाई धम्की दिने गर्थे । यदि युवतीले पैसा दिन अस्वीकार गरे ती सामग्री इन्टरनेट वा डार्क वेबमा बेच्ने धम्की दिन्थे ।
कोको भए पीडित ?
तुषारले बम्बलमा ५०० भन्दा बढी युवतीसँग र स्न्यापच्याट तथा ह्वाट्सएपमा २०० भन्दा बढी युवतीसँग संवाद गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनले थुप्रै युवतीका गोप्य सामग्रीहरू जम्मा गरेका थिए ।
त्यस्तै एक पीडितले साइबर पुलिस स्टेसनमा १३ डिसेम्बर २०२४ मा उजुरी दिएकी थिइन् । दिल्ली विश्वविद्यालयमा अध्ययनरत दोस्रो वर्षकी छात्राको यो घटना २०२४ को जनवरीमा सुरु भएको थियो । ती युवतीले बम्बलमा तुषारसँग कुरा गर्न सुरु गरेपछि उनीमाथि यस्तो घटना निम्तिएको थियो ।
तुषारले आफूलाई अमेरिकी मोडेल भएको बताउँदै दोस्ती सुरु गरे । उनले ती छात्रालाई व्यक्तिगत तस्बिर र भिडिओ पठाउन लगाएर पछि ब्ल्याकमेल गर्न थाले । सुरुमा छात्राले दबाबमा परेर थोरै रकम तिरिन्, तर पछि बढी रकम माग्न थालेपछि उनले परिवारलाई जानकारी गराइन् र प्रहरीमा उजुरी दिइन् ।
एनडीटीभीका अनुसार पश्चिम दिल्लीको साइबर पुलिस स्टेसनले एसीपी अरविन्द यादवको नेतृत्वमा एउटा टोली गठन गरेको थियो । प्रविधिको सहायताले तुषारको गतिविधि पत्ता लगाइयो । पछि शकरपुरमा छापा मारेर उनलाई नियन्त्रणमा लिइयो ।
पक्राउको क्रममा प्रहरीले तुषारको मोबाइल फोन, नक्कली अन्तर्राष्ट्रिय मोबाइल नम्बर, १३ ओटा विभिन्न बैंकका क्रेडिट कार्ड र ६० भन्दा बढी युवतीसँगका ह्वाट्एसप च्याट रेकर्ड बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा चार युवती पनि तुषारको ठगीको शिकार भएको पुष्टि भएको छ । बाँकी अनुसन्धान अगाडि बढिरहेको प्रहरीले जनाएको छ ।