काठमाडौं । एलन मस्कले ट्वीटर (हाल एक्स) खरिद गर्दा प्रारम्भिक शेयर खरिदको विषय समयमै नखुलाएको भन्दै मुद्दा दायर भएको छ । अमेरिकी वित्तीय नियामक निकाय धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले हालै वाशिङ्टन डीसीस्थित संघीय अदालतमा दायर गरेको मुद्दामा मस्कले पाँच प्रतिशत प्रारम्भिक शेयर खरिदको जानकारी समयमै नदिएर धितोपत्र नियम उल्लङ्घन गरेको आरोप लगाएको छ ।
एसईसीका अनुसार, मस्कले ट्वीटरको शेयर खरिद गर्दा १५ करोड डलर कम तिर्न पाएको कारण उनले शेयर मूल्य कृत्रिम रूपमा घटाउन भूमिका खेलेका थिए ।
मस्कले २०२२ मा ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका थिए । ट्वीटर खरिद गर्नुअघि नै उनले पाँच प्रतिशत शेयर ५० करोड डलरमा खरिद गरिसकेका थिए । एसईसीले मस्कले यो शेयर खरिद सार्वजनिक गर्नुपर्ने समयावधि कटाइसकेको र खरिद प्रक्रिया सार्वजनिक गर्न ११ दिन ढिलो गरेको दाबी गरेको छ ।
मस्कक कानुनी टोलीले ट्वीटर खरिद प्रक्रियामा कुनै गल्ती नभएको र एसईसीको आरोप गलत भएको बताएका छन् ।
मस्कले ट्वीटर खरिदपछि यसको नाम परिवर्तन गरी ‘एक्स’ राखेका छन् । अहिले यो विषयले मस्कको व्यावसायिक अभ्यास र वित्तीय पारदर्शितामाथि प्रश्न उठाएको छ ।