close

साइबर अपराधको अखडा ‘डार्क वेब’ कसरी हुन्छ सञ्चालन ?

टेकपाना टेकपाना

माघ ५, २०८१ १९:१६

साइबर अपराधको अखडा ‘डार्क वेब’ कसरी हुन्छ सञ्चालन ?

अमित दुबे/-

प्रविधि क्षेत्रमा सन् २००७, २००८ र २००९ लाई एकदमै रोचक वर्षका रूपमा लिइन्छ । यी तीन वर्षमा प्रविधि क्षेत्रमा जे जस्ता सेवा वा प्रडक्ट आए, तिनैले अहिले वर्चश्व कायम गरिरहेका छन् । सन् २००७ मा एप्पलले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको थियो । २००८ मा मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइड सार्वजनिक भयो । त्यस्तै २००९ मा मेसेजिङ एप ह्वाट्सएप सार्वजनिक भयो । 

त्यसपछि बिट्क्वाइन तथा ब्लकचेन जस्ता प्रविधिको चर्चा हुन थाल्यो । इन्टरनेटको अँध्यारो दुनियाँका रूपमा चिनिने डार्क वेब पनि त्यही आसपासमा फस्टाएको मानिन्छ । यी वर्षहरूमा माथि उल्लेख भएका जे जति सेवा वा प्रडक्ट छन्, तिनलाई सूक्ष्म ढङ्गले विश्लेषण गर्ने हो भने दुई ओटा साझा कुरा पाउन सकिन्छ । एउटा, सुरक्षा अनि अर्को हो, एनोनेमिटी अर्थात् बेनामी । बेनामी भन्नाले वास्तविक परिचय नदेखाउने भनेर बुझ्नु भए हुन्छ । 

हरेक मानिस लुक्न चाहन्छ । म के गरिरहेको छु कसैलाई थाहा नहोस् भन्ने चाहन्छ । कोही मान्छे एनोनेमिटी किन चाहन्छ होला ? उदाहरणका लागि मैले तपाईंलाई भने कि चुट्की बजाएको भरमा तपाईं गायब हुनुहुन्छ । यस्तोमा तपाईंको मस्तिष्कमा सबैभन्दा पहिले के विचार आउला ? पक्कै पनि तपाईं सबैभन्दा पहिले वास्तवमै गायब भएको छु कि छैन भन्ने पुष्टि गर्नतर्फ लाग्नुहुन्छ । त्यो देखिएको कसैलाई झापड हानेरै हुन सक्छ । अर्थात् तपाईंमा कुनै शक्ति आयो भने सबैभन्दा पहिले त्यसलाई दुरुपयोग गर्ने प्रयास गर्नुहुन्छ । यो गहिरिएर कल्पना पनि गर्न सक्नुहुन्छ । 

यदि मैले तपाईंलाई एनोनेमिटी दिएँ भने अब तपाईं डार्क वेब पछाडि लुक्नुहुन्छ । त्यहाँ कसैले तपाईंलाई देख्न सक्दैन, तपाईं तपाईं के गर्दै हुनुहुन्छ भन्ने थाहा पाउन सक्दैन । तब तपाईंको वास्तविक रूप बाहिर आउँछ । ती सबै चीज जुन तपाईंको कल्पनामा थिए, जुन तपाईं समाजको दबाबमा गर्न सक्नुहुन्नथ्यो, त्यो गर्न थाल्नुहुन्छ । किनभने अब त कसैले देख्दैन । डार्क वेबको उद्देश्य यही थियो । डार्क वेबमा ती सबै कुराहरू हुन्छन्, जुन असामाजिक छन्, घिनलाग्दा छन्, जुन तपाईं सपनामा पनि सोच्न सक्नुहुन्न ।

डार्क वेब के हो ?

डार्क वेबले एउटा प्लेटफर्म दियो, जहाँ तपाईं पूर्ण रूपमा लुक्न सक्नुहुन्छ । तर व्यापार कसरी बन्छ जबसम्म पैसा आउँदैन ? त्यसैले एउटा मुद्रा दिइयो- बिट्क्वाइन अर्थात् अज्ञात मुद्रा । जसको मालिक को हो भनेर पत्ता लगाउन सकिँदैन । यो पारदर्शी हुन्छ । पैसा यहाँबाट त्यहाँ गयो, त्यहाँबाट यहाँ आयो‍ भन्ने सबैले देख्न सक्छन् । यो लेजर पारदर्शी हुन्छ । 

यो एकदमै रोचक छ । पारदर्शी छ, तर लुकेको छ । पारदर्शी छ तपाईं लेजर डाउनलोड गर्नुस् । तपाईंले १०-१५ जीबीको पूरा लेजर पाउनुहुन्छ । तर यसलाई यो वालेटको पछाडि भएको मान्छे को हो भनेर थाहा हुँदैन । यही लुकेको हुन्छ । यदि मैले तपाईंलाई पैसा लुकाएर जहाँ पनि राख्न सक्ने शक्ति दिएँ र तपाईं के गर्दै हुनुहुन्छ, त्यो पनि लुकाउन सक्ने शक्ति दिएँ भने, सोच्नुहोस् त्यहाँ के के मात्र हुँदैन होला ? त्यसैलाई डार्क वेब भनिन्छ । डार्क बेव र बिट्क्वाइन ती दुवै एकै समयमा आए र तुरुन्तै फस्टाए । 

सन् २०११-१२ मा त यस्तो हालत भयो कि, सबै ड्रग तस्करी डार्क वेबमा हुन थाल्यो, आज पनि भइरहेको छ । हतियारको तस्करी, सुपारी दिएर मार्ने व्यक्तिको छनोट, जति पनि षडयन्त्रहरू छन् ठूला-ठूला डेटा चोरी, यी सबै डार्क वेबमै भइरहेका छन् । यो पहिलो स्तरको डार्क वेब हो ।

डार्क वेबमा अझै अगाडि जानुभयो भने, तपाईंले अझै खतरनाक-खतरनाक लेभल भेट्नुहुन्छ । अन्ततः तपाईंले रेड रुमहरू देख्नुहुन्छ जहाँ मानिसहरूलाई अपहरण गरेर ल्याई कुर्सीमा बसाउँछन् । अनि टर्चर यातना दिन्छन् । सौखिन मान्छेहरू पैसा लगाउँछन् । र, जसरी यातना दिन भन्छन् त्यसरी नै यातना दिन्छन् । त्यसपछि त्यो मान्छे मर्छ । 

उदाहरणका लागि तिनीहरूको आँखा झिकिन्छ, हात काटिन्छ । मतलब, उनीहरू जे पनि गर्छन् । यसलाई हामी ‘रेड रुम्स’ भन्छौं । अहिले त यस विषयमा धेरै वेब सिरिज पनि बनिसकेका छन् । 

डार्क वेबमा के हुन्छ ? यो कसले चलाइरहेको हुन्छ?

डार्क वेब एउटा एनोनिमस कम्युनिटी हो । कतिपय देश डार्क वेबकै सहाराले जीवित छन्, किनभने तिनीहरूको अर्थतन्त्र डार्क वेबमार्फत चलिरहेको छ । जसले लागूऔषध बनाउँछन्, जहाँ लागूऔषध बनिरहेको छ, उनीहरूले त्यस्तो औषध कतै न कतै बेच्नुपर्छ । कानुनी रूपमा यी काम प्रायः ९० प्रतिशत देशमा अवैध छन् । त्यसैले उनीहरू एउटा बाटो निकाल्छन्, जहाँबाट यो बेच्न सकिन्छ । यो लागूऔषध डार्क वेबमार्फत रुसबाट दक्षिण अमेरिकी देश युरोप, अमेरिकादेखि दक्षिण एसियाका देशमा आपूर्ति हुन्छ ।

डार्क वेब हुन त इन्टरनेटमै हुन्छ । कुनै सर्भरले सेवा दिइरहेको छ जहाँ यी सबै चलिरहेको छ ।

केही देश यसमा संलग्न छन् । यो प्रणाली यसरी डिजाइन गरिएको छ कि, यसको पछाडि को छ भन्ने पत्ता लगाउन गाह्रो हुन्छ । यसको वेबसाइट डायनामिक हुन्छ । ती वेबसाइटहरू १६ क्यारेक्टरको र्यान्डम नम्बर या ५६ क्यारेक्टरका र्यान्डम नम्बर हुन्छन् । यसको एक्सटेन्सन ‘.कम’, ‘.एनपी’, ‘.ओआरजी’ जस्ता हुँदैन । बरु ‘.अनियन’ जस्ता हुन्छ । यो वेबसाइट पनि र्यान्डम हुन्छ । ती नम्बरहरू याद गर्न असम्भव जस्तै हुन्छन् । सम्झिन सक्ने भए पनि बदलिरहेका हुन्छन् । आज एउटा आईपीमा होस्ट हुन्छ भने भोलि अर्कोमा सर्न सक्छ ।

डार्क वेबबाट हुने अपराधले सामान्य मानिसहरूलाई असर पुर्‍याउँछ ?

तपाईँ र म जस्तो व्यक्तिलाई पनि डार्क वेबमा अपराधको शिकार बनाइन्छ । उदाहरणका लागि कसैले ‘कन्ट्र्याक्ट किलर’ खोज्नुपर्ने भयो । त्यसका लागि सबैभन्दा पहिले मान्छे डार्क वेबमा जान्छ । र, त्यहाँ ‘कन्ट्रयाक्ट किलर हायरिङ सर्भिस’ छान्छ । त्यहाँ दुईदेखि चार हजार वेबसाइट सजिलै भेटिन्छन् । जहाँबाट तपाईं कसैलाई मार्नका लागि हत्यारा भाडामा लिन सक्नुहुन्छ । तपाईंलाई फोटो र विवरण पठाउन लगाइन्छ । तपाईं पठाइदिनु हुन्छ । त्यसपछि हत्यारा सुरुमा पैसा पनि माग्दैन । भन्छ- काम भएपछि पैसा दिनुहोस् । 

तिनीहरूसँग कुरा गर्नको लागि तपाईंलाई विशेष एप्लिकेसन दिइन्छ, जसले तपाईंको आवाज र स्थान परिवर्तन गर्छ । यसले तपाईं र हत्याराबीच सम्पर्क गोप्य राख्छ । काम पूरा भएपछि तिनीहरूलाई बिटक्वाइनमा पैसा दिनुहुन्छ । तपाईंले नगर्नुहुने त होइन । जसले तपाईंको लागि अपराध गरिदियो, उसलाई त पैसा तिर्नुपर्छ । यो उद्योग यसरी नै विश्वासमा चल्छ ।

हामी अनुसन्धानका लागि डार्क वेब पक्कै गर्छौं । यो काम हामी लगभग १० वर्षदेखि गरिरहेका छौं । यी ड्रग र्‍याकेट पक्रिएको पनि त्यही माध्यमबाट हो । अहिले जब बलिउडमा केस भयो, त्यतिबेला पनि डार्क वेबबाट ड्रग सप्लाई भइरहेको थियो । हामीले डार्क वेब प्रयोग गर्दा वा त्यहाँ पहुँच पाउँदा हामीलाई कसरी सुरक्षित रहनुपर्छ भन्ने थाहा हुन्छ । किनभने तपाईंले एक गल्ती गर्नुभयो भने तपाईंको खेल समाप्त भयो भनेर बुझ्नुभए हुन्छ । 

डार्क वेब यति सरल र सहज छैन कि कोही पनि जाओस्, मजाकको लागि मात्र प्रयोग गरिदियोस् । म यस्तो गर्न सिफारिस गर्दिनँ, किनभने मानिसहरू डिप्रेसनमा जान्छन् । मानिसहरू आत्महत्याको सोच बनाउन सक्छन् । मानिसले त्यसलाई झेल्न सक्दैनन् । किनभने हाम्रो दिमाग त्यसका लागि तयार छैन । जब म पहिलोपटक सन् २०१३-१४ मा डार्क वेबमा प्रवेश गरें, गल्तीले एउटा भिडिओ खुल्यो । त्यसमा भनिएको थियो, “हाउ टु कुक अ लाइभ वुमन” । अर्थात् जिउँदै महिलालाई कसरी पकाउने ? एउटा महिलालाई समातेर ल्याएका थिए, उसलाई पकाउने पूरा प्रक्रिया थियो । कसरी उसलाई एक-एक गरेर काट्ने र पकाउने भन्ने देखाइएको थियो । अनि उसको चिच्याहट सुनेर प्रायः मन टुक्रिन्छ ।

यो मजाक होइन । डार्क वेबको कुरा गर्दा मानिसहरू हल्का रूपमा लिन्छन् । यो संसार जस्तो छ त्यस्तै छ । कुनै व्यक्तिले आफूलाई लुकाउन थालेपछि ऊ भित्रको दानव बाहिर निस्किन्छ ।

सामान्यतया एक औसत मध्यम वर्गको मान्छे प्रहरीसँग धेरै अन्तरक्रिया गर्दैन । वा कानुनी प्रणालीसँग धेरै जोडिएको हुँदैन । जो कानुनी प्रणालीमा फसेको छ, ऊ त रोइदिन्छ । किनकि २०-२० वर्षसम्म मुद्दा चलिरहेको हुन्छ । तर जो मान्छे यो डार्क वेब प्रणालीको हिस्सा बनेका छन्, यदि तपाईँले उनीहरूसँग कहिल्यै छलफल गर्नुभयो भने, तपाईँले थाहा पाउनुहुनेछ कि अपराध के हो

वास्तविकता काल्पनिक कथाभन्दा धेरै रोमाञ्चक छ । जब हामी मुद्दाहरू हेर्छौं, तपाईँलाई एउटा समाचार आउँछ कि आमाले यस्तो गरिन् र उसलाई त्यस्तो गरिन्, बच्चालाई फ्याँकेर मारिन् । यो त धेरै सतही कुराहरू हुन्छ । वास्तविक संसारमा जति जघन्य अपराधहरू भइरहेका छन्, त्यो त मानिसको रूप हो । बाँकी मानिसहरूलाई थाहा छैन, किनभने तिनीहरू प्रणालीबाट टाढा छन् । त्यसैले तिनीहरू ठूलो सुरक्षित क्षेत्रमा बाँचिरहेका छन् । प्रहरीहरू किन निराश वा रिसाउन थाल्छन् भने उनीहरूले दैनिक यस्ता घटना देखिरहेका हुन्छन् । मान्छे मान्छे कहाँ रह्यो ? एक डेढ फिट जमिनको लागि गोली हान्छ । पार्किङमा झगडा भए गोली हान्छ । मान्छे मान्छे रहेको छैन । 

हामीले जुन समाचार देख्छौं, त्यो त सतही मात्रै हो । तर यसभन्दा पर जानुभयो भने तपाईंले कहिल्यै कल्पनै नगरेको चिज देख्नुहुन्छ । कुनै मान्छेले के-के मात्र गर्न सक्दैन भन्ने थाहा पाउनु हुन्छ । जुन म अवश्य पनि यहाँ भन्न चाहन्नँ । तर यो मान्नुहोस् कि डार्क वेबको यही संसार हाम्रो वरपर छ । हामी सुरक्षित रहनु आवश्यक छ । इन्टरनेट वाच फाउन्डेसनको रिपोर्ट अनुसार डार्क वेबमा सबैभन्दा बढी बाल अश्लील सामग्री भारतबाट अपलोड हुन्छन् । 

भारतबाट यो सामग्री अपलोड हुने दर १२.५ प्रतिशत रहेको छ । पाकिस्तानबाट ८.५ प्रतिशत र बङ्गलादेशबाट ४.५ प्रतिशत सामग्री अपलोड भइरहेको छ । यसको अर्थ डार्क वेबमा अपलोड भएका प्रत्येक चौथो भिडिओ भारत, पाकिस्तान, र बङ्गलादेशसँग सम्बन्धित छ । म यी तीन देशहरूको चर्चा किन गरिरहेको छु भने हामी प्रायः समान सांस्कृतिक पृष्ठभूमिबाट आउँछौं ।

तर यस्तो किन भइरहेको छ ? यी रिपोर्टहरू किन उजागर हुँदैनन् ? र यी बालबालिका कसरी पीडित छन् ? किन तिनीहरूलाई न्याय दिन सकिएको  छैन ? यस रिपोर्टले त स्पष्ट देखाइरहेको छ कि यस्तो समस्याको जरा गहिरो छ ।

यस समस्याबारे चर्चा गर्दा हामी धेरै गहिरो जानुपर्ने हुन्छ । यो एउटा फरक संसार हो । सायद हामी हाम्रो दैनिक जीवनमा यसमा त्यति संलग्न हुँदैनौं, तर यो हाम्रो वरिपरि नै छ ।

तर यो समस्या समाधान गर्न अझ गहिरो ध्यान दिनुपर्ने आवश्यक छ । यो केवल रिपोर्टको तथ्यांक मात्र नभई मानवता र न्यायको गहिरो मुद्दा हो ।

डार्क वेबमा यस्ता कन्टेन्ट हुनुको कारण यसलाई हेर्ने, डाउनलोड गर्ने र शेयर गर्ने व्यक्तिहरूको माग पनि हो । रिपोर्टअनुसार ७० प्रतिशत कन्टेन्ट उपभोक्ता युरोपियन देशहरू जस्तै यूकेमा पाइन्छन् ।

यूकेमा यस सम्बन्धमा कडा कानुनहरू लागू गरिएका छन् । यदि प्रहरीले कसैको मोबाइल पासवर्ड माग्छ र उसले नदिने वा आफूले पासवर्ड बिर्सेको दाबी गरेमा त्यसलाई दुई वर्षको जेल सजाय हुन्छ । तर, यदि कुनै व्यक्ति बाल अश्लील सामग्री हेर्दै गरेको अवस्थामा पक्राउ परेमा, उसलाई २० वर्षसम्मको जेल सजाय हुन सक्छ । यो गम्भीर अपराध मानिन्छ ।

यस्तो उदाहरण पनि छ, जहाँ यूकेको गुप्तचर संस्था (GCHQ) ले डार्क वेबको माध्यमबाट एक अपराधीलाई ट्र्याक गर्यो । उसलाई एयरपोर्टमा पक्राउ गरियो र उसको फोन कब्जामा लिइयो । जब पासवर्ड सोधियो, उसले “मैले बिर्सें” भन्यो । परिणामस्वरूप उसलाई दुई वर्षको जेल सजाय भयो । यदि उसले पासवर्ड दिएको भए र उसले बाल अश्लील सामग्रीमा संलग्नता देखाएको भए उसलाई २० वर्षको जेल सजाय हुने थियो ।

बेलायतमा बाल सुरक्षाका लागि निकै कडा नियमहरू छन् । उदाहरणको लागि, कुनै सार्वजनिक स्थानमा बच्चाहरूको तस्बिर खिच्न पनि रोक लगाइएको छ ।

एक घटना यस्तो थियो, बेलायतमा आयोजित एउटा प्रशिक्षण कार्यक्रममा सहभागी हुँदा म केही अधिकारीहरूका साथ एक सङ्ग्रहालयमा गएका थिएँ । सङ्ग्रहालयमा केही स्कुलका बच्चाहरू पनि थिए । हामीले तस्बिर खिचिरहेका थियौं र केही बच्चाहरू पनि नजिकै थिए । हामीले तस्बिरमा बच्चाहरू देखिएको ख्याल गरेनौं । 

जब हामी सङ्ग्रहालयभित्र अगाडि बढ्यौं, केही समयपछि प्रहरी अधिकारीहरू आए । उनीहरूले हाम्रो फोन जाँच गरे र बच्चाहरू भएका तस्बिरहरू डिलिट गर्न भने । तपाईं कुनै बच्चाको फोटो खिच्न पाउनु हुन्न भनेर सम्झाए । यो नियम यसकारण लागू गरिएको हो कि यस्ता तस्बिरहरू डार्क वेबमा दुरुपयोग गर्न सकिन्छ ।

बेलायतमा प्रत्येक महिना झन्डै ४५० बालबालिका यसैका कारण हराउने गर्छन् भन्दै रिपोर्ट आइरहेका हुन्छन् । यसमध्ये धेरैजसो डार्क वेबमा बेचबिखन, दुर्व्यवहार र अन्य अवैध गतिविधिहरूसँग सम्बन्धित हुन्छन् । 

त्यहाँ लगभग ३५० जना मानिसहरू पक्राउ पर्छन् जो यसमा संलग्न छन् । यो त आधिकारिक तथ्याङ्क हो । 

जब हाम्रो बच्चा जन्मन्छ, आमाबाबुले उसलाई सबैभन्दा पहिले इन्स्टाग्राममा हाल्छन् । यति धेरै प्रदर्शन गर्छन् । फेसबुकमा राख्छन् ।

उनीहरूको तस्बिर यति धेरै म्यानुपुलेट हुन्छ कि तपाईं डराउनुहुन्छ । र, अहिले त एआई आएको छ । अब त यो मामला झनै खतरनाक छ । कसैको पनि भिडिओ बनाउन सकिन्छ, जे पनि गरिरहेको भिडिओ बन्न सक्छ । र हाम्रो समाज यस्तो छ कि जहाँ यस्ता नक्कली भिडिओलाई लिएर चरित्रमा औंला उठाइन्छ । 

मसँग यति धेरै केसहरू छन् जसमा किशोर किशोरीहरू, स्कुल जाने केटीहरूले ‘कसैले मेरो एआईबाट भिडिओ बनायो’ भनेर गुनासो गर्छन् । ‘र म डिप्रेसनमा छु । म के गरूँ ? सबैतिर सर्कुलेट भइरहेको छ । यसलाई हटाइदिनुहोस्’ भन्छन् ।

यस्ता धेरै घटनाहरू दिनानुदिन बढ्दैछन् । कसैले अश्लील भिडिओ हात पारेको छ, अथवा फोटो मात्र पाएर मोर्फ गर्यो । र, त्यसैलाई लिक गरिदिने गर्छन् । यसरी मानिसहरू धेरै दिनसम्म पीडित हुन्छन् र लाखौं करोडौं रुपैयाँ दिन्छन् वा उनीहरूको शोषण हुन्छ । के यस्तो कुनै तरिका छ जसबाट यसबाट बच्न सकिन्छ ?

वास्तवमा इन्टरनेटमा एकपटक केही अपलोड भइसक्यो भने त्यसलाई पूर्ण रूपमा हटाउन असम्भव छ । यसलाई कसैले चाहेर पनि केही गर्न सक्दैन । तपाईं आफ्ना सामाजिक सञ्जालबाट हटाउन सक्नुहुन्छ । यो भनेको फुटप्रिन्ट (डिजिटल पदचाप) कम गर्दै लैजाने तरिका हो । तर ती पूर्ण रूपमा सधैंका लागि सबै ठाउँबाट हटाउन गाह्रो छ । र यदि एक ठाउँमा पनि रह्यो भने यो फेरि च्याउ जस्तै उम्रन्छ । यो ठूलो कुरा होइन, यो फेरि आउनेछ । त्यसैले यो रक्तबीज जस्तै हो । जहाँ जहाँ झर्छ, त्यहाँ त्यहाँ फेरि उम्रिन सुरु हुन्छ । 

मसँग धेरै प्रहरी अधिकारीहरू आए जसका छोरीहरूको भिडिओ थिए । म यो किन भनिरहेको छु भने, जब उनीहरूले सबै कानूनी उपायहरू प्रयोग गरेर पनि हटाउन सकेनन्, तब हामी आक्रामक भएर ह्याकिङ गरेर पनि टेकडाउन गर्न सक्छौं कि भनेर लाग्यौं । एउटा स्तरसम्म यो सकिन्छ । त्यसपछि हार मान्न थाल्छन् । कोसिस गरेर २०, २५, ४० प्रतिशतसम्म त्यस्ता कन्टेन्ट टेकडाउन वा हटाउन सक्नुहुन्छ । त्यसपछि पनि ६० प्रतिशत बाँकी रहन्छ । त्यो धेरै गाह्रो हुन्छ र फेरि च्याउ जस्तै उम्रिन्छ । 

हरेक दिन नयाँ पोर्नोग्राफिक वेबसाइटहरू बनिरहेका छन्, यो सबै भइरहेको छ, हरेक ठाउँमा आउँछ । त्यसैले मुख्य कुरा के हो भने, मसँग यति धेरै केसहरू आउँछन् जहाँ मानिसहरूले वित्तीय ठगीलाई साइबर अपराध सम्झिन्छन् । तर, त्यसभन्दा ठूलो अपराध प्रहरीमा रिपोर्ट नै भइरहेको हुँदैन । किनभने त्यस्ता घटनामा उजुरी दिंदा सामाजिक मान र प्रतिष्ठामा आँच आउन सक्छ । त्यसैले मान्छे आत्महत्याको बाटो रोज्छन् । कसैलाई पनि भन्न सक्दैनन् र डिप्रेसनमा जान्छन् । यति धेरै घटना छन् जो वित्तीय ठगीभन्दा १० गुणा बढी छन् । 

मलाई आउने सबैभन्दा सामान्य गुनासो मध्ये एउटा यो पनि हो । उहाँ (पीडित)हरू आएर भन्नुहुन्छ, “सर, मेरो भिडिओ कसैले मोर्फ बनाएर सर्कुलेट गरिदियो । कृपया यसलाई हटाइदिनुहोस् ।” दोस्रो, एकपटक मलाई भारतका १५-२० धनी मानिसहरू मध्ये एकजना व्यक्तिबाट फोन आयो । फोन गुड़गांवबाट आएको थियो र उहाँले भन्नुभयो, “सर, तपाईंसँग भेट्नुपर्नेछ ।” मैले भने, “ठीक छ, सर ।” 

उहाँले भन्नुभयो, “राति ११ बजे कनट प्लेसमा आएर भेट्नुहोस्, हामी त्यहीँ कुरा गरौंला ।”

म गएँ, उहाँ आफ्नो गाडी आफैं ड्राइभ गर्दै आउनुभएको थियो । सर्कलमा हामी भेट्यौं, म उहाँको गाडीमा बसें । त्यसपछि उहाँ गाडी ड्राइभ गर्न लाग्नुभयो । केही समयपछि उहाँले भन्नुभयो, “मलाई तपाईंको सहयोग चाहिएको छ, सर । वास्तवमा कसैले मेरी श्रीमतीका अश्लील फोटोहरू मलाई पठाइरहेको छ ।”

उहाँले थप्नुभयो, “त्यो व्यक्ति मलाई ब्ल्याकमेल गर्दैछ । यदि तपाईं पैसा दिनुभएन भने, म यी फोटोहरू मिडियामा सार्वजनिक गरिदिन्छु, भाइरल गरिदिन्छु, र सबै ठाउँमा सर्कुलेट गरिदिन्छु भन्छ ।”

एकपटक उहाँले त पैसा पनि दिइसक्नुभएको रहेछ । उहाँले भन्नुभयो, “यदि यो कुरा बाहिर आयो भने यसले हाम्रो कम्पनी, हाम्रो प्रतिष्ठा, सबै कुरामा नकारात्मक प्रभाव पार्छ । हाम्रो सब थोक समाप्त हुन्छ ।” मैले सोधें, “यी फोटोहरू वास्तविक हुन् ?” उहाँले भन्नुभयो, “होइन, यी मोर्फ गरिएका फोटोहरू हुन् ।”

अब तपाईं सोच्नुहोस्, कसैका लागि मोर्फ गरिएका फोटोहरू कति ठूलो समस्या बन्न सक्छ । किनकि एकचोटि त्यस्ता फोटो बाहिर आए भने मानिस सत्यता जाँच्दैनन् । तपाईंले “यी मोर्फ गरिएका हुन्” भनेर भने पनि मान्छेले विश्वास गर्दैन । उहाँका लागि यो निकै ठूलो दबाब थियो । मैले भने, “के तपाईं ती फोटोहरू देखाउन सक्नुहुन्छ ?” उहाँले हुन्छ भन्दै फोन मलाई देखाउनु भयो । मैले हेर्न सुरु गरें, झन्डै १५-१६ फोटोहरू थिए ।

मैले ती फोटोहरू हेर्दै गर्दा अनुहार र शरीरको बनावट कतैबाट मिलेको छैन । फोटो जसले पनि सजिलै छुट्याउन सकिने किसिमका थिए । मैले सोधें, “यो अनुहार कहाँबाट लिइएको हो ?” उहाँले भने, “इन्स्टाग्राम वा फेसबुकबाट लिइएको होला ।” मैले भने, “हामी यो अनुहार जहाँबाट लिइएको हो त्यसलाई ट्रयाक गर्छौं ।”

त्यसपछि हामीले फेसबुकमा खोजेर त्यो फोटो पत्ता लगायौं । अनि त्यस फोटोलाई म्याप गर्यौं । प्रत्येक फोटोको एक युनिक आईडी हुन्छ, जुन तपाईंलाई यूआरएलमा देखिन्छ । मैले त्यो नोट गरें, “यो अनुहार यो फोटोबाट लिइएको हो, यो अनुहार यो फोटोबाट लिइएको हो भन्ने ।”

त्यसपछि मैले त्यसलाई वर्कआउट गरें । मैले उनलाई भने, “सर, दुई दिनमा म तपाईंलाई अपराधी दिन्छु ।”

दुई-तीन दिन लाग्यो, र मैले उहाँलाई अपराधीको लोकेसनसहित सबै जानकारी उपलब्ध गराएँ ।

जो मान्छे स्मार्ट छन्, उनीहरूले बुझ्नेछन् कि मैले कुन एङ्गल प्रयोग गरेँ । तर खुलासा गर्नु धेरै पटक ठीक हुँदैन । किनकि त्यो अपराधीको फाइदामा जान्छ । किनभने यो एकदमै साझा मुद्दा हो । त्यसैले म बताइरहेको छैन । मैले बताएपछि रोहिणीबाट त्यो मान्छे समातियो । त्यो उनकी श्रीमतीको पूर्व सहकर्मी थियो, जसले यस्तो गरिरहेको थियो । यो केस कहिल्यै प्रहरीसम्म पुगेन । 

मसँग धेरै यस्ता केसहरू आउँछन् जसमा मानिसहरू प्रहरीलाई संलग्न गर्न चाहँदैनन् । ठूला-ठूला व्यापारी, जसलाई हामी चिन्छौं, उनीहरू सिधै भन्छन्, “यसको अनुसन्धान गर्नुहोस्, जड कारण पत्ता लगाउनुहोस्, मान्छे पहिचान गर्नुहोस्, प्रहरीसम्म जानु छैन, तर हामी यसलाई ठीक गर्न चाहन्छौं ।” किनभने यो निरन्तर चलिरहेको छ ।

धेरै पटक कम्पनीभित्रका मानिसहरूबाट खतरा हुन्छ । त्यो पत्ता लगाउनुपर्ने हुन्छ कि कसले कम्पनीबाट जानकारी चुहाइरहेको छ । को हो, जसले यति धेरै व्यक्तिगत विवरणहरू थाहा पाएको छ । अब तपाईंको अगाडि २०-२२ जना संदिग्ध छन् । तर तपाईं कसलाई औंला देखाउनुहुन्छ ? २० वर्षदेखि मान्छेहरू काम गरिरहेका छन् । एउटा कम्पनी थियो, त्यसको एकजनाले लगभग १५०-२०० करोड रुपैयाँ हिनामिना गरेको थियो । र उनीहरूलाई थाहा थिएन- यो कसरी भइरहेको छ । मेरो व्यवसाय किन घटिरहेको छ भन्ने त्यस कम्पनीका मालिकलाई थाहै थिएन ?

किनभने उनीहरूकै एक पूर्व कर्मचारी, जो अहिले काम गरिरहेको थियो, उसले सिंगापुरमा व्यवसाय लुकाएर राखेको थियो । उसले अरू कसैको नाममा एउटा समानान्तर कम्पनी खोल्यो र आफ्नै व्यवसायलाई त्यहाँ पठाउन थाल्यो । र उनीहरूको व्यवसाय बिस्तारै कम हुन थाल्यो । उसमाथि कसैले शङ्का पनि गरेन । किनकि ऊ प्रत्यक्ष रूपमा संलग्न थिएन । तर, उसको डिजिटल पदचिह्नहरू मिले । 

यो पनि मैले नै अनुसन्धान गरेको थिएँ । यस्ता धेरै केसहरू छन्, जुन कर्पोरेट स्तरका हुन्छन् । जस्तै, एउटा कम्पनी थियो, जसको सबै खाता रोक्का गर्न र लेखा परीक्षण गर्न आरबीआईले आदेश दिएको थियो । त्यसको शेयरको मूल्य १५-२० प्रतिशतले घट्यो । यो ठूलो कम्पनी थियो । तिनीहरू मसँग आएर भने, “हाम्रो विरुद्धमा केही मानिसहरूले अभियान चलाइरहेका छन् । यो सबै झूट हो ।”

आरबीआईले त्यो कम्पनीले ठगी गरेको र धेरै पैसा हिनामिना गरेको भन्दै कारबाही गरेको थियो । त्यो भारतको कम्पनी थियो । त्यसपछि मैले अनुसन्धान गरें, त्यो मान्छे खोजेँ । यो एउटा रोचक केस स्टडी हो, जुन तपाईंले मेरो अर्को पडकास्टमा पाउनुहुनेछ । तर यस्ता घटनाहरू हुन्छन्, र त्यसमा प्रायः कोही न कोही चिनजानकै मान्छे संलग्न हुन्छन् । तर अपराधी जतिसुकै चलाख भए पनि हामी एउटा कुरा भन्छौं, जसलाई डिजिटल पदचिह्न भनिन्छ । जसरी तपाईं इन्टरनेट प्रयोग गर्नुहुन्छ, जसरी म इन्टरनेट प्रयोग गर्छु र जसरी अरूले इन्टरनेट प्रयोग गर्छन्, हरेकको इन्टरनेट प्रयोग गर्ने तरिका फरक हुन्छ ।

कुनै पनि दुई जना मानिसको इन्टरनेट प्रयोग गर्ने तरिका मिल्न सक्दैन । यदि मैले तपाईंको एक हप्ताको आईपीडीआर (इन्टरनेट प्रोटोकल डिटेल रेकर्ड) जुन अपरेटरसँग हुन्छ, पाएँ भने, म तपाईंको डिजिटल डीएनए निकाल्न सक्छु । यो एक अद्वितीय ढाँचा हो ।

यो एउटा ह्याश भ्यालु हो, जुन तपाईंले इन्टरनेट प्रयोग गर्ने तरिकाको आधारमा निकालिन्छ । ह्याश भ्यालु भनेको त्यो ढाँचाको एक युनिल सिग्नेचर हो ।

यदि त्यो मैले पाएँ भने, म तपाईंलाई करोडौं मानिसहरूमाझ पनि खोज्न सक्छु । चाहे तपाईं भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) को पछाडि लुक्नुहोस्, प्रोक्सीको पछाडि लुक्नुहोस् वा बेनामी ह्यान्डल प्रयोग गर्नुहोस्, फरक पर्दैन । तपाईं आफ्नो सबै कुरा परिवर्तन गर्न सक्नुहुन्छ, तर व्यवहार परिवर्तन गर्न सक्नुहुन्न । यदि तपाईं एक हप्ता पनि त्यो ह्यान्डलमा रहनुभयो भने, म पत्ता लगाउन सक्छु- त्यो मान्छे अहिले कहाँ छ । एआईको कारण यो अझ सजिलो भएको छ । धेरै कुरा पहिले म्यानुअल रूपमा खोज्नुपर्थ्यो, अब एआईले गर्छ ।

एआईले अपराध बढाउन मद्दत गर्छ कि अपराध पत्ता लगाउन मद्दत गर्छ ?

एआईले अहिलेसम्म अपराधीलाई नै धेरै मद्दत गरिरहेको छ । तर, एआईले हामीलाई पनि मद्दत गरिरहेको छ । अब सबै विश्लेषणहरू एआईमा आधारित छन्, जुन पहिले म्यानुअल रूपमा गरिन्थ्यो । त्यसैले अनुसन्धान धेरै छिटो हुन्छ ।

मैले अनुसन्धान गरेको रोचक अनुसन्धानको घटना !

त्यो बेला म फिनल्याण्डमा थिएँ । यो सन् २००९-२०१० को कुरा हो । म नोकियाको लागि काम गर्थें । नोकिया एन९६ र एन९५ फोनहरू बजारमा आएका थिए । र म एन९६ को लागि काम गरिरहेको थिएँ । पेरिस प्रहरीले नोकियालाई फोन गरेर यस फोनको आर्किटेक्टलाई पठाउन भन्यो, किनकि उनीहरूले केही अनुसन्धान गर्नुपर्ने थियो । त्यसैले मलाई पठाइयो । म गएँ र मलाई एउटा ठाउँमा लगेर एक महिलासँग भेट गराइयो ।

ती महिलाले मलाई घटना सुनाइन्, “अमितजी, मलाई एउटा फोन आयो र फोन गर्नेले भन्यो कि- हामीले तिम्रो छोरीलाई अपहरण गरेका छौं । एक घण्टा छ । यो खातामा यति पैसा ट्रान्सफर गर नत्र हामी उसलाई मारिदिन्छौं । तिमीसँग एक घण्टा मात्र छ भने । सुरुमा मलाई लाग्यो- कसैले ठट्‍टा गरिरहेको छ, त्यसैले मैले वास्ता गरिनँ । तर, पाँच मिनेटपछि फेरि फोन आयो र भन्यो, “तिमीले आफ्नो पाँच मिनेट गुमायौ । तिमीले जिन्दगीभर पछुतो गर्नेछौ । पैसा ट्रान्सफर गर, नत्र हामी उसलाई मारिदिन्छौं ।”

त्यो समयमा सबै जनासँग फोन हुँदैनथ्यो । त्यसैले ती महिलाले कुराकानी गर्न थालिन् । उनले भनिन्, “मसँग यति धेरै पैसा छैन । मलाई अलि समय दिनुहोस् म मिलाएर दिन्छु।” फोन गर्नेले भन्यो, “हेर, तिमी अहिले आफ्नो घरमा जहाँ बसेकी छौ, बेडरुममा छौ नि, तिम्रो पछाडि एउटा पेन्टिङ झुन्डिएको छ । त्यसको मूल्य ५००० डलर छ ।” यो सुनेर महिला डराइन् । उनले पछाडि फर्केर हेरिन् र बेडरुमबाट भागेर ड्रइङ रुममा आइन् । 

उनले भनिन्, “होइन, यहाँ कुनै पेन्टिङ छैन । मलाई लाग्छ तिमीले गलत मान्छेलाई फोन गर्‍यौ । यहाँ त्यस्तो कुनै पेन्टिङ छैन ।” उसले भन्यो, “त्यसो भए अहिले तिमी आफ्नो ड्रइङ रुममा छौ नि । तिम्रो दाहिनेतिर एउटा फूलको गमला छ । त्यसको मूल्य २००० डलर हो ।” अब त उनी पुरै विश्वस्त भइन् र उनले चुपचाप ल्यापटप निकालिन् । 

फोन गर्ने अपहरणकारीले भने, “मलाई यो पनि थाहा छ कि तपाईंको अकाउन्टमा कति पैसा छ । धेरै स्मार्ट बन्ने प्रयास नगर्नुहोस् । पैसा ट्रान्सफर गर्नुहोस् ।” उनले तुरुन्तै पैसा ट्रान्सफर गरिदिइन् । लगभग डेढ घण्टापछि उनकी छोरी सुरक्षित घर फर्किइन् । उनकी ती छोरी अपहरणमा परेकै थिइनन् ।

तर सबैजना अलमलमा परे कि यस्तो भ्रम कसरी सिर्जना गरियो ? उनले प्रहरीलाई जानकारी दिइन् । प्रहरीले सारा घर छान्यो । कुनै सीसीटीभी क्यामेरा छैन, केही प्रमाण छैन ।

तसर्थ, उनीहरूले अनुसन्धानलाई फोनमा केन्द्रित गरे कि फोनभित्र केही समस्या छ कि जसले जानकारी लिक गरिरहेको थियो । फोन पनि स्क्यान गरियो । तर त्यहाँ पनि केही भेटिएन । कुनै मालवेयर पनि छैन । फोन सेफ थियो ।

जब कतै केही भेटिएन, तब उनीहरूले सोचे ‘आर्किटेक्टलाई पनि बोलाऔं ।’ फोनको फर्मवेयर लेभल पनि चेक गरियो कि फोनमा कुनै स्थायी समस्या छ कि छैन ।

म पनि त्यहाँ पुगें । मैले फोन स्क्यान गरें । मैले पनि केही फेला पारेन । त्यसपछि हामी फर्किरहेका थियौं ।

म एयरपोर्टमा थिएँ । त्यहाँ एक बच्चा गेम खेलिरहेको थियो । मैले देखें, ऊ आफ्नो फोन लिएर भित्ताको सहारामा केही गर्दै थियो । फोन यसो-यसरी भित्ताको नजिक लैजाँदै थियो ।

उनको हातमा नोकिया एन ९५ फोन थियो । मैले उसलाई सोधें, ‘के गर्दैछौ ?’

उसले भन्यो, 'ट्रु फाइटर गेम खेल्दैछु ।’

मैले सोधें, ‘यो कसरी काम गर्छ ?’

उसले भन्यो, ‘यो गेम सुरु गर्दा क्यामेरा अन हुन्छ र त्यसपछि भ्यु फाइन्डर मोडमा रहन्छ । तपाईं भित्तामा फोन लिएर यसरी चलाउनु भयो भने केही अग्मेन्टेड वस्तुहरू देखिन्छन् । ती वस्तुलाई क्याप्चर गर्नुहोस् र तपाईंलाई पोइन्ट्स मिल्छ ।”

त्यो गेम हेर्दा मलाई याद आयो, एक गेम आएको थियो- पोकेमन गो ।

यो गेम सन् २०१६ मा आएको थियो । र म २०११ को कुरा गरिरहेको छु । त्योभन्दा पाँच वर्षअघि, मलाई अचम्म लाग्यो । मैले भनें, “ए, क्यामेरा अन रहन्थ्यो ?” “अँ ।” मैले त्यो आईओ (अनुसन्धान अधिकृत) लाई फोन गरें । मैले भनें, “हेर्नुहोस्, त्यो महिलाको फोनमा ट्रु फाइटर गेम छ कि ?” उनले भनिन्, “छ ।” “त्यसो भए म आउँदैछु” भनेर मैले फ्लाइट रद्द गरें र म फेरि गएँ । मैले त्यो महिलाको फोनबाट ट्रु फाइटर गेमको रिभर्स इन्जिनियरिङ गरें । यो गेमले कसरी काम गर्छ, के-के गर्न सक्छ भनेर थाहा पाएँ । अनि थाहा भयो कि उनको घरबाट करिब १५० तस्बिरहरू रोमानियाको एउटा सर्भरमा अपलोड भएका थिए, यो गेमको माध्यमबाट, जुन उनको छोराले खेल्थ्यो । यसबाट यो स्पष्ट भयो कि त्यो अपराधीसँग उनको घरको हरेक ठाउँको तस्बिर थियो ।

तर त्योभन्दा ठूलो प्रश्न यो थियो- त्यो अपराधीलाई कसरी थाहा हुन्थ्यो कि त्यो महिला बेडरुममा छिन् वा ड्रइङ रुममा ?

फोटोहरू त थिए । तर वास्तविक समयमा ठगले लोकेसन कसरी थाहा पाइरहेको थियो ? किनभने जीपीएसले घरभित्र काम गर्दैन ।

म यहाँ यो हलमा बसेको छु र आज १४ वर्षपछि सबै नयाँ प्रविधि हुँदा पनि म यो कुनामा बसेको छु कि त्यो कुनामा बसेको छु भनेर पत्ता लगाउन गाह्रो हुनेछ । तपाईं बाहिरबाट जुनसुकै माध्यम प्रयोग गरेर घरको कुन ठाउँमा हुनुहुन्छ भन्ने पत्ता लगाउन सक्नुहुन्न ।

किनकि जीपीएस त पूरै भवनको लागि एउटै हुन्छ । त्यसो भए उसले कसरी गरिरहेको थियो ? उसलाई कसरी थाहा भयो- महिला बेडरुममा छिन् कि ड्रइङ रुममा ? वा बालकोनीमा छिन् कि वाशरुममा ? त्यो पनि १३ वर्षअघि ?

र भिडिओ पनि अन छैन ।

भिडिओ अन हुन सक्दैनथ्यो, किनभने त्यतिबेला फोरजी, फाइभजी नेटवर्क थिएन । थ्रीजी थियो, तर त्यसमा एउटा समस्या थियो- जब तपाईं कलमा हुनुहुन्थ्यो, तब डेटा सेवा बन्द हुन्थ्यो । एउटा मात्र च्यानल चल्थ्यो । कि फोन, कि त डेटा ।

त्यो मान्छेले अनुमानको भरमा भनिरहेको थिएन महिला कहाँ छिन् भन्ने । उसले सटीकताका साथ महिला कहाँ-कहाँ छिन् सबै भनिरहेको थियो । कसरी होला त ?

आज तपाईं कसैको घरमा जानुभयो भने सबैभन्दा पहिले के माग्नुहुन्छ ? के आशा गर्नुहुन्छ ? उसले तपाईंलाई पानी खुवाउँछ कि खुवाउँदैन । आजका दिनमा तपाईंको अपेक्षा पानी वा अन्य खानेकुरा हुँदैन । तपाईं वाई-फाई माग्नुहुन्छ । यदि यहाँ एउटा वाई-फाई राउटर जडान गरिएको छ र म आफ्नो फोन लिएर त्यसको छेउमा गए भने, सिग्नलको स्तर बढ्न थाल्छ । यदि म वाई-फाईबाट टाढा गएँ भने सिग्नलको स्तर कम हुन थाल्छ ।

हरेक कोठामा सिग्नलको स्तर फरक हुन्छ । तपाईंको वाई-फाई त एकै ठाउँमा जोडिएको हुन्छ । तर बेडरुम अलग हुन्छ, ड्रइङ रुममा अलग हुन्छ, वाशरुममा अलग हुन्छ, बालकनी अलग हुनेछ । एउटा वाई-फाई एनालाइजर नामको एप छ । त्यसबाट तपाईं आफ्नो राउटर घरमा कहाँ राख्ने भनेर थाहा पाउन सक्नुहुन्छ, ताकि सबै ठाउँमा राम्रो सिग्नल मिलोस् । त्यसैले वाई-फाई अपराधीका लागि रेफ्रेन्स पोइन्ट बन्यो । र जब यी तस्बिर लिइँदै थिए, हरेक तस्बिरसँग त्यो भित्तामा वाई-फाई सिग्नलको स्तर के छ, त्यो पनि लिइँदै थियो । त्यसैले उसलाई थाहा थियो कि कहाँ कति सिग्नल स्तर हुन्छ । जब वास्तविक समयमा त्यो महिला कुरा गरिरहेकी थिइन्, उसलाई तत्काल वाई-फाई सिग्नलको स्तर पनि थाहा भइरहेको थियो । त्यसैले उसले पत्ता लगाउँथ्यो कि उनको वरिपरि के-के छ ।

यो आजभन्दा १३ वर्षअघिको घटना हो । अब सोच्नुहोस, आज अपराधीहरू प्रविधिलाई कसरी प्रयोग गरिरहेका छन् । अहिले त एआई पनि छ, डिपफेक पनि छ, डार्क वेब पनि छ । अपराधी सधैं केही कदम अगाडि हुन्छन् । सामान्य तरिकाले जे हुन्छ त्यो भन्दै भिन्नै तरिकाले उनीहरू आफ्नो अपराधको काम गरिरहेका हुन्छन् । कुनै पनि नवीनतम प्रविधिको पहिलो प्रयोगकर्ता अपराधी नै हुन्छन् । जहिले च्याटजीपीटी सार्वजनिक भयो, त्यसभन्दा अगाडि नै डार्क वेबमा फ्रड जीपीटी, वर्म जीपीटी आइसकेका थिए । 

त्यसैले आजका दिनमा मान्छे सचेत हुनुपर्छ । आफ्ना नजिकका मान्छेलाई सचेत बनाउनुपर्छ । इन्टरनेटको पहुँच बढ्दै जाँदा डिजिटल साक्षरताको निकै अभाव भइरहेको छ । त्यस्तोमा प्रविधिसँगै सर्वसाधारण पनि सचेत हुनुपर्छ । त्यस्तै अपराधका अनुसन्धान गर्ने जनशक्ति पनि उत्तिकै सचेत हुनुपर्छ । उनीहरू सर्वसाधारण ठगिनुअघि नै यस्तो किसिमको ठगी वा साइबर अपराधको घटना मौलाइरहेको छ भनेर जानकारी दिनुपर्ने हुन्छ । फोनमा हुने कुन एपले के-कस्ता अनुमति मागेका छन् अनि अनुमति दिनु कत्तिको उपयुक्त हुन्छ भन्ने अध्ययन गर्नुपर्छ । 

( भारतका साइबर सुरक्षा अनुसन्धानकर्मी अमित दुबेले हालै जिस्ट मिडयासँग गरेको कुराकानीका आधारमा यो लेख तयार पारिएको हो । उनी हिडन फाइल्स अनलक, साइबर क्राइम की सच्वी कहानियाँका लेखक पनि हुन् । उनको पडकास्ट यहाँ क्लिक गरेर सुन्न सकिन्छ भने उनलाई सामाजिक  सञ्जाल एक्समा फलो गर्न यहाँ क्लिक गर्नुहोस् ।)

पछिल्लो अध्यावधिक: माघ ५, २०८१ २१:२६