काठमाडौं । के तपाईँको कम्प्युटर वा ल्यापटपमा फाइलहरू भद्रगोल अवस्थामा छन् ? कतिपय बेला ड्राइभमा स्पेस समाप्त हुन लागि सकेको हुन्छ, जसले गर्दा कुन फाइल कहाँ राखेको छ भनेर खोज्न पनि समस्या भइरहेको हुन सक्छ । सबैको फाइलका व्यवस्थापन गर्ने आ-आफ्नै तौरतरिका हुन्छन् । आज हामी तपाईँलाई स्टोरेज तथा ड्राइभ कसरी खाली गर्ने तथा व्यवस्थापन भन्ने विषयमा बताउँदै छौँ ।
अस्थायी फाइलहरू हटाउने
तपाईँको घरलाई जस्तै ड्राइभलाई पनि समय समयमा सफा गर्नु पर्ने आवश्यकता हुन्छ । त्यसका लागि सबैभन्दा पहिला ड्राइभमा भएका अस्थायी फाइल र लामो समयदेखि प्रयोग नभएका वा आवश्यक नपर्ने फाइललाई हटाउन सक्नु हुन्छ । त्यसका लागि सबैभन्दा पहिला सेटिङमा जानुहोस् ।
सटकट बटन WIN+I प्रयोग गरेर पनि तपाईँ सेटिङमा जान सक्नुहुन्छ । त्यसपछि System मा गएर Storage मा क्लिक गर्नुहोस् । त्यहाँ गएर Temporary Files मा थिच्नुहोस् र Remove files मा क्लिक गरेर अनावश्यक सम्पूर्ण फाइल हटाउनु होस् । यसका लागि लाग्ने समय तपाईँसँग त्यस्ता फाइल कति छन् भन्ने कुरामा निर्भर हुन्छ । केही सेकेन्डदेखि १०-२० सेकेन्डसम्म लाग्न सक्छ । तपाईँले यसका लागि डिस्क क्लिनअप पनि प्रयोग गर्न सक्नुहुन्छ ।
अब Temporary Files को ठिक मुनी रहेको Installed apps मा क्लिक गर्नुहोस् । त्यहाँ तपाईँको प्रयोगमा नआउने सफ्टवेयर वा कहिले इन्स्टल गरेको भन्ने याद पनि नभएका सफ्टवेयर छन् भने अनइन्स्टल गर्न सक्नुहुन्छ । यस्तै Storage Sense को अप्सन पनि अन गर्नुहोस् । यसले तपाईँको ड्राइभबाट अस्थायी फाइललाई आफैँ हटाउन र स्टोरेज खाली गर्न मद्दत गर्छ ।
यस्तो अप्सन तपाईँको सिस्टम ड्राइभ (प्राय: ड्राइभ-सी) मा उपलब्ध हुन्छ । यदि तपाईँको डिभाइसमा यस्तो सुविधा भेटिएन भने फाइल एक्सप्लोरर अर्थात् Win+E शर्टकट थिचेर अनावश्यक फाइलहरू आफैँले छानेर हटाउन पनि सक्नु हुन्छ ।
पुराना फाइल अर्काइभ गर्नुहोस्
यदि तपाईँसँग खासै प्रयोग नगरेका पुराना फोटो, भिडिओ वा फाइलहरू छन् भने तिनलाई अर्काइभ गर्न सक्नु हुन्छ । फाइल अर्काइभ गर्दा मिलाएर गर्नुपर्ने भएकाले तिनीहरूलाई विभिन्न भागमा मिलाएर राख्नु पर्ने हुन्छ ।
यसका लागि तपाईँ फाइल एक्स्प्लोररमा गएर फिल्टर टुलको प्रयोग गर्न सक्नु हुनेछ । त्यसपछि इमेजेज वा भिडिओजमा क्लिक गर्नुहोस् । यसो गर्दा तपाईँले क्याटेगोरी अनुसार छुट्याएर राख्न सक्नुहुन्छ । यस्तै तपाईँले मिति अनुसार छुट्याएर तस्विर वा भिडिओ राख्न पनि सक्नुहुन्छ ।
फाइलहरूलाई फोल्डरमा मिलाएर राखेपछि फोल्डरमा गएर राइट-क्लिक गर्नु होस् । त्यसपछि कम्प्रेसमा थिचेर कस्तो किसिमको कम्प्रेस गर्ने हो, रोज्न सक्नु हुन्छ ।
विन्डोज ११ ले फाइल अर्काइभका लागि जीप (ZIP) र टार (TAR) बनाएको छ । तपाईँ Win RAR, 7z जस्ता अर्काइभर डाउनलोड गर्न पनि सक्नुहुन्छ । फाइलहरूको स्टोरेज धेरै भएपनि अर्काइभ गर्दा तपाईँलाई ड्राइभमा धेरै स्पेस खाली गर्न सहयोग पुर्याउँछ ।
क्लाउड स्टोरेजमा डेटा ब्याक अप गर्ने
तपाईँसँग सुरक्षित राख्न चाहेका महत्त्वपूर्ण फाइलहरू छन् भने त्यस्ता फाइललाई ब्याक अप गर्न सक्नुहुन्छ । तपाईँका महत्त्वपूर्ण डेटालाई तीन तरिकाबाट व्यवस्थापन गर्न सक्नु हुन्छ ।
तपाईँको डेटालाई तिनै तीन ओटा वैकल्पिक तरिकाबाट स्टोर गर्नुपर्छ भन्ने पनि छैन । तर, तपाईँले डेटा अर्काइभ गर्नु भएको छ भने बाहिरी अन्य ड्राइभ र क्लाउडमा सेभ गर्दा सहज हुन्छ ।
फाइललाई अन्यत्र स्टोर गर्ने वैकल्पिक र सस्तो समाधान हो, क्लाउड । उदाहरणको लागि तपाईँ वन ड्राइभ प्रयोग गर्न सक्नुहुन्छ । विन्डोज ११ मा वन ड्राइभ प्रयोग गर्दा ५ जीबीसम्मको स्टोरेज निःशुल्क उपलब्ध गराइएको हुन्छ । तर यदि माइक्रोसफ्टको ३६५ को-पाइलट लाइसेन्स भएमा १ टीबीसम्मको स्टोरेज पाउन सकिन्छ । यस्तै तपाईँले क्लाउडमा गुगल स्टोरेजले उपलब्ध गराउने १५ जीबी नि:शुल्क स्टोरेज पनि प्रयोग गर्न सक्नुहुन्छ ।
यी क्लाउड सर्भिस लिएपछि तपाईँको ल्यापटप वा कम्प्युटरमा भएका फाइल र फोल्डर स्वतः स्क्यान गरेर ब्याकअपमा राख्ने बनाउन सक्नुहुन्छ । ब्याकअप भएका फाइल डिभाइसबाट हटाएर स्टोरेज खाली गराउन सकिन्छ ।
लजिक दिने किसिमका फोल्डर बनाउने
तपाईँलाई आवश्यक नपर्ने फाइल डिलिट पनि भयो र स्टोरेज पनि खाली गर्नु भयो । अब भने तपाईँले काम लाग्ने डेटाहरू व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
सबैभन्दा पहिला तपाईँलाई अरूभन्दा बढी काम लाग्ने फोल्डरहरू छुट्याउनुहोस् । उदाहरणका लागि तपाईँको रिपोर्ट, प्रिजेन्टेसन लगायत कामसँग सम्बन्धित फोल्डर बनाउन सक्नु हुन्छ ।
यस्तै तपाईँका व्यक्तिगत तस्विरका लागि व्यक्तिगत फोल्डर बनाउनु होस् । जसमा फोटो, भिडिओ, यात्रा, आर्थिक कारोबारसँग सम्बन्धित फोल्डर राख्न सक्नुहुन्छ ।
यदि तपाईँ विद्यार्थी हुनुहुन्छ भने नोट, परीक्षाका प्रश्न, असाइनमेन्ट आदि छुट्टाछुट्टै फोल्डरलाई एउटा फोल्डरमा राख्न सक्नुहुन्छ । फोल्डर बनाउँदा नाममा पहिलो अक्षर क्यापिटल लेटरको प्रयोग गर्नुभएमा फाइललाई व्यवस्थापन गर्न थप सहज हुन्छ ।
फाइलमा के छ बुझ्ने किसिमका नाम राख्नुहोस्
फाइललाई सजिलै भेट्न सकिने गरी व्यवस्थित गर्ने सजिलो उपाय भनेको फाइल सेभ गर्दा पछि पनि कुन फाइल हो भनेर चिन्न सकिने गरी नाम राख्नु हो । फाइल सेभ गरिरहँदा त्यहाँ जे सुझाव आउँछ, त्यही राख्नुभन्दा त्यो फाइल केसँग सम्बन्धित छ भन्ने खुलाएको खण्डमा पछि खोजेको बेलामा सजिलै भेट्न सकिन्छ ।
यदि तपाईँले सुरुमा फाइल सेभ गर्दा नाम राख्नु भएको छैन भने पछि पनि रिनेम गर्न सक्नुहुन्छ । तर यसका लागि फाइल चिन्न र फेरि नाम राख्न भने अलि धेरै नै समय लाग्नसक्छ ।
आवश्यक नपर्ने फाइलहरू नियमित डिलिट गर्नुहोस्
यदि तपाईँ ड्राइभमा स्पेस खाली राख्न चाहनुहुन्छ भने कम्तीमा महिनाको एक पटक फाइलहरूको व्यवस्थापन र टास्कहरू सफा गर्ने बानी बसाल्नु होस् । ड्राइभ सफा गर्नु भनेको घर सफा गर्नु जस्तै हो । नियमित गर्नु भयो भने एक्कै छिनमा हुन सक्छ । तर, लामो समयसम्म गर्नु भएन भने फोहोर त थुप्रिँदै जान्छ र सफा गर्न पनि त्यसै अनुरूप लामो समय लाग्छ ।
त्यसैले कम्तीमा महिनाको एक पटक अस्थायी फाइलहरू डिलिट गर्ने, काम नलाग्ने डेटा र सफ्टवेयर हटाउने तथा सबै फाइललाई उचित ठाउँमा नाम मिलाएर राख्नुहोस् ।
डाउनलोड फोल्डरमा गएर आवश्यक नपरेका वा अन्यत्र कपि गरेका फाइल र फोल्डरहरू डिलिट गर्नुहोस् ।
सिस्टम अप्टिमाइजेसन टुलहरू प्रयोग गर्नुहोस्
माथि चर्चा गरिसकेका सबै टिप्सलाई फलो गर्नुभयो भने अब सिस्टम अप्टिमाइजेसन टुलको प्रयोग गर्नु भनेको सुनमा सुगन्ध छर्नु जस्तै हुन्छ । यस्ता एपहरूले तपाईँका काम नलाग्ने र अस्थायी फाइलहरू डिलिट गर्ने, र्याम खाली गर्ने तथा ड्राइभलाई अपडेट गर्नुपर्ने काम गरिदिन्छन् ।
यसका लागि विन्डोज ११ मा नि:शुल्क प्रयोग गर्न पाइने माइक्रोसफ्ट पीसी म्यानेजर टुल प्रयोग गर्न सक्नुहुन्छ । यसमा डिपक्लिनका टुलहरू आउँछन्, जसले ड्राइभका अनावश्यक फाइलहरू स्क्यान गरी दिन्छ । पीसी म्यानेजरले १० दिनभन्दा लामो समयदेखि प्रयोगमा नआएका १ जीबीभन्दा ठुला फाइलहरू पत्ता लगाउँछ । यस्ता फाइलहरूलाई छानेर डिलिट गर्न सक्नुहुन्छ । यस्तै यी टुलहरूले डुप्लिकेट फाइलहरू पनि पत्ता लगाउन सक्छन् ।
माथि दिइएका टिप्सको प्रयोग गरेर तपाईँ आफ्नो ड्राइभको स्पेसको सही सदुपयोग गर्न सक्नुहुन्छ । ड्राइभलाई सफा गर्ने, पुराना फाइलहरू अर्काइभ गर्ने र ब्याक अप गर्ने काम गरेर फाइल व्यवस्थापन गर्न सक्नु हुन्छ। यति गरेपछि नियमित ड्राइभ क्लिन गर्नुपर्ने हुन्छ ।
यो सुरुवातमा थोरै जटिल र समय लाग्ने देखिए पनि नियमित गर्दा तपाईँको ड्राइभ र डिभाइसले पनि राम्रोसँग काम गर्न थाल्छ । अर्थात् यसले खोजेको बेलामा फाइल छिट्टै भेटिने र सिस्टम पनि छिटो चल्ने हुन थाल्छ ।