close

क्यान इन्फोटेकमा नयाँ प्रविधि प्रदर्शनी, सेल्फ ड्राइभिङ कारदेखि एआई रोबोट ‘मिरा प्रोफेसर’ सम्म

टेकपाना टेकपाना

माघ २७, २०८१ ११:५४

क्यान इन्फोटेकमा नयाँ प्रविधि प्रदर्शनी, सेल्फ ड्राइभिङ कारदेखि एआई रोबोट ‘मिरा प्रोफेसर’ सम्म

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सहभागी प्रदर्शनीकर्ताले आफ्ना प्रविधि र सेवाको प्रचारप्रसार गरेका छन् । विभिन्न ब्रान्ड तथा कम्पनीहरूले स्टलमार्फत उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्ना उत्पादन तथा सेवाबारे जानकारी प्रदान गरिरहेको आयोजक क्यान महासंघले जनाएको छ ।

३०औं संस्करणको यस क्यान इन्फोटेकमा साइबर सुरक्षा, कृषि प्रविधि, हस्पिटालिटी, बैंकिङ सोलुसन तथा अन्य अत्याधुनिक प्रविधि समाधानहरू अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेका छन् ।

स्टार्टअप कम्पनीहरूका लागि सम्भावित लगानीकर्ता, साझेदार र ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर मिल्नुका साथै आफ्ना नवीनतम प्रविधि तथा समाधानहरू बजारमा स्थापित गर्न क्यान इन्फोटेकबाट सहयोग पुगेको क्यानका महासचिव चन्द्र विलास भुर्तेलले बताए । साथै, सूचना प्रविधि कम्पनीहरू, इन्टरनेट सेवाप्रदायक, सफ्टवेयर तथा हार्डवेयर उत्पादकहरूबीच सहकार्यका सम्भावना खोज्न अनुकूल वातावरण निर्माण भएको उनको भनाइ छ ।

क्यान इन्फोटेकमा सहभागी कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवामा विशेष छुट तथा प्रवर्द्धनात्मक अफर ल्याएका छन् । शीर्ष प्रायोजक एचएमसी हिक्सेमीले आफ्ना उत्पादनको विशेष प्रदर्शनीसँगै उपभोक्ताका लागि आकर्षक स्किम घोषणा गरेको छ । यसअन्तर्गत वायरलेस क्यामेरामा २० प्रतिशत, हिक्सेमीका हरेक उत्पादनमा १५ प्रतिशत, मोनिटरमा २० प्रतिशत र यूपीएसमा १० प्रतिशत छुट दिइएको छ । साथै उक्त कम्पनीले एसर ब्रान्डको ल्यापटप किन्दा सात हजार रुपैयाँ मूल्य पर्ने वाईफाई क्यामेरा नि:शुल्क प्रदान गर्ने घोषणा गरेको छ । 

त्यस्तै मर्कन्टाइल कम्युनिकेसन्सले एसर ब्राण्डका पछिल्ला ल्यापटप र डेस्कटपसँगै इप्सन ब्राण्डका प्रिन्टर र प्रोजेक्टरको विशेष प्रदर्शनी गरेको छ । साथै स्टलबाटै डिलर र रिसेलरसँग अन्तर्क्रिया गरिरहेको कम्पनीले जनाएको छ ।

चार्ज सकिँदा ब्याट्री नै फेर्न मिल्ने गोगोरो इलेक्ट्रिक स्कुटरले पनि अवलोकनकर्ताको ध्यान तानेको छ । कम्पनीले ईभीप्रेमीका लागि काठमाडौं सहरभित्र १००० किलोमिटर निःशुल्क यात्रा गर्न सक्ने तथा निःशुल्क टेस्ट ड्राइभका साथै लक्की ड्र अफर सञ्चालन गरिरहेको छ । 

अनलिमिटेड टेक्नोलोजी प्रा. लि. (ज्याप) ले फेब्रुअरी महिनाभर अनलिमिटेड रेमिट सेवामा रिफर अफर ल्याएको छ, जसअन्तर्गत विदेशबाट रेमिट पठाउने व्यक्तिलाई रिफर गर्दा एक हजार रुपैयाँसम्म कमाउन सकिन्छ । एस पावर बीपीई प्राइभेट लिमिटेडले शिक्षण संस्थाहरूका लागि स्मार्ट बोर्ड, यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटर पम्पलगायत प्रविधि प्रदर्शनीमा राख्दै अधिकतम ४० प्रतिशत छुट घोषणा गरेको छ ।

ओडो कम्पनी (बेल्जियम) ले नेपाली व्यवसायहरूका लागि तयार पारेको अकाउन्टिङ सफ्टवेयर ३२ हजार रुपैयाँमै उपलब्ध गराउने योजना ल्याएको छ, जुन सामान्य अवस्थामा एक लाख रुपैयाँ पर्ने बताइएको छ ।

डियरवाक ट्रेनिङ सेन्टरले आफ्नो स्टलमा आएका विद्यार्थीहरूलाई निःशुल्क परामर्श प्रदान गर्दै तीन भाग्यशाली विद्यार्थीलाई १०० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । साथै रमाइलो खेलमा सहभागी भएर आईटी कोर्समा ४० प्रतिशत छुट पाउने अफर समेत दिइएको छ ।

क्यान इन्फोटेकको अर्को आकर्षण बेन्क्यू (BenQ) ले ल्याएका अत्याधुनिक इन्टरएक्टिभ (स्मार्ट) बोर्डहरूमा देखिन्छ । टचस्क्रिन सुविधा, उच्च-गुणस्तरको डिस्प्ले र विभिन्न शैक्षिक सफ्टवेयरहरू सपोर्ट गर्ने भएकाले यी स्मार्ट बोर्डहरूले शिक्षण र प्रस्तुतीकरणलाई थप प्रभावकारी बनाउने कम्पनीको भनाइ छ ।

त्यस्तै हाइफ्युचरले आफ्ना उत्पादनमा लक्की ड्र कम्पिटिसन आयोजना गरी अवलोकनकर्तालाई लोभ्याएको छ । स्मार्टवाच, इयरबड्स लगायतका लागि नेपाली ब्रान्ड ग्रिन लाइफ एक्सपिरियन्सले स्पिन एन्ड विन कन्टेस्टमार्फत उपहार योजना सञ्चालन गरिरहेको छ । त्यस्तै र्‍यापुले तीन हजार मूल्य पर्ने एलिस्टा इयरबड्स मात्र १५ सय रुपैयाँमै उपलब्ध गराएको छ ।

‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणालीको स्टलमा अवलोकनकर्ताको चासो बढेको देखिन्छ । यसपाली क्यान इन्फोटेकमा आईटी तथा इन्जिनियरिङ कलेजहरूको पनि उल्लेख्य सहभागिता रहेको छ । यसमध्ये केही कलेजले आफ्ना विद्यार्थीले बनाएका इनोभेटिभ प्रडक्टहरू प्रदर्शनमा राखेका छन् ।

यसअन्तर्गत सफ्टवेरिका कलेजका विद्यार्थीले तयार पारेको एडभान्स्ड एआई पावर्ड भर्चुअल एन्ड रोबोटिक ट्युटरले धेरै प्रविधि जिज्ञासुलाई आकर्षित गरेको छ । ‘मिरा प्रोफेसर’ नाम दिइएको यो रोबोटले विश्वविद्यालका विद्यार्थीलाई अध्यापन गराउन सक्ने बताइएको छ । त्यस्तै आईटी तालिममा काम गरिरहेको दूरशिक्षाले अटो सेल्फ ड्राइभिङ कारको प्रोटोटाइप प्रदर्शनमा राखेको छ ।

रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान) ले रोबोटिक्स प्रतियोगिता सञ्चालन गरिरहेको छ, जसमा इन्जिनियरिङ विद्यार्थीहरूको सहभागिता रहेको छ । त्यस्तै राइड हेलिङ प्लेटफर्म टुटलले क्यान इन्फोटेकमा आएर दर्ता गर्ने ग्राहकका लागि बाइक र क्याब दुवैमा ६० प्रतिशत छुटको प्रोमोकोड उपलब्ध गराएको छ ।

क्यान इन्फोटेकमा नेपाल प्रहरीले आफ्ना डिजिटल सेवा तथा साइबर सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र दर्ता (लाइभ इनरोलमेन्ट) प्रक्रिया सञ्चालन गरिरहेको छ, जसमा नागरिकहरू सहभागी भइरहेका छन् । त्यस्तै अभियन्ता फाउन्डेसनले दन्त, मधुमेह, आँखा परीक्षणलगायत स्वास्थ्य परीक्षण सेवा निःशुल्क प्रदान गरिरहेको छ भने जेसीआई गोदावरीको पहलमा रक्तदान कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।

प्रदर्शनीमा नेपाली प्रतिभा र आविष्कारलाई नीतिगत रूपमा प्रवर्द्धन गर्नुपर्ने मागसमेत उठिरहेको छ । सूचना प्रविधि क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने तथा प्रविधिमा आधारित व्यवसायहरूको प्रवर्द्धनका लागि क्यान इन्फोटेक जस्ता मञ्चहरू निरन्तर आवश्यक रहेको सहभागीहरूको धारणा छ । कुल १५५ स्टल रहेको क्यान इन्फोटेक भोलिसम्म सञ्चालन हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८१ १२:१४