close

डलर खाएर नास्तिकता फैलाएको भन्दै सामाजिक सञ्जालमा किन भइरहेको छ साहित्यकारको विरोध ?

टेकपाना टेकपाना

फागुन ७, २०८१ १३:५७

डलर खाएर नास्तिकता फैलाएको भन्दै सामाजिक सञ्जालमा किन भइरहेको छ साहित्यकारको विरोध ?

काठमाडौं । यूएसएड (USAID) लगायतका विदेशी संस्थाहरूको सहयोगमा नेपालमा नास्तिकतावाद फैलाएको आरोप कलाकार, पत्रकार हुँदै लेखकसम्मलाई लाग्ने गरेको छ । सामाजिक सञ्जालमा एउटा लामो सूची भाइरल भइरहेको छ, जसमा कुन कलाकार, पत्रकार र लेखकले विदेशी एजेन्सीबाट कति रकम पाए भन्ने उल्लेख छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भने आठ साहित्यकारको फोटो सहित ‘यूएसएड, नर्वे र जर्मनीको पैसा खाएर किताब लेख्नेहरू’ क्याप्सन भएको पोस्ट अपलोड गरिरहेका छन् । उक्त फोटोमा साहित्यकारहरू कनकमणि दीक्षित, खगेन्द्र संग्रौला, युग पाठक, कृष्णा धरावासी, कुन्द दीक्षित, नारायण वाग्ले, आहुति र सीमा आभास छन् । 

यसैलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कलाकार, पत्रकार, सञ्चारकर्मी हुँदै साहित्यकारसम्मलाई नेपालमा नास्तिकता फैलाएको आरोप लगाइरहेका छन् । यस विषयमाथि विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् ।

एकातिर कलात्मक स्वतन्त्रता र सिर्जनात्मकताको पक्षमा वकालत गर्नेहरू छन् भने अर्कोतिर राष्ट्रिय पहिचान र सांस्कृतिक मूल्यमान्यतामाथि विदेशी प्रभाव पर्न सक्ने खतरा औंल्याउनेहरू पनि छन् । नेपाली लेखकहरूले विदेशी संस्थाहरूबाट अनुदान स्वीकार गरेर आफ्नो कामको निष्ठा र राष्ट्रको हितमा सम्झौता गरिरहेका छन् भन्ने आरोपले बहसलाई थप उत्तेजित बनाएको छ ।

आरोपित लेखकमध्ये धेरैले आफ्नो कामको बचाउ गरेका छन् र विदेशी अनुदान प्राप्त गर्ने परिस्थितिलाई स्पष्ट पारेका छन् ।

अमर न्यौपानेले सामाजिक सञ्जालमा आफू र अन्य लेखकहरूका बारेमा फैलिएको अफवाहप्रति दुःख व्यक्त गर्दै यसलाई स्पष्टीकरणको रूपमा प्रस्तुत गरेका छन् । उनले लेखेका छन्, “केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो । कतिपयले यही भ्रममा भाका मिलाउनुभयो; कतिपय मौन बस्नुभयो; कतिपयले तथ्य बुझेर अरुलाई बुझाउनुभयो ।” न्यौपानेले समाजमा अनेक किसिमका मानिस हुने र कतिपयले अफवाहलाई नै सत्य मान्ने गरेकोमा चिन्ता व्यक्त गरे ।

अध्ययनको महत्वलाई औंल्याउँदै न्यौपानेले थपे, “हामी अध्ययनशील प्राणी हौं । अध्ययनका लागि संसार नै विश्वविद्यालय हो । त्यसैले अध्ययन गर्न चाहने प्रतिभावानहरूका लागि देशविदेशमा अनेक प्रकारका छात्रवृत्तिको व्यवस्था गरिएको हुन्छ । यसमा आफू पनि छनौटमा परुँ भनेर हामी सहभागी हुन्छौं । जुनसुकै देशमा छात्रवृत्ति पाए पनि खुसी हुँदै अध्ययन गर्न जान्छौं । यसप्रकारको वृत्तिबाट धेरै विद्वान् जन्मिएका छन् ।”

२०६५ सालमा जर्मनीबाट प्राप्त लेखनवृत्ति (टाउन राइटर रेजिडेन्स प्रोग्राम) को अनुभव सुनाउँदै उनले भने, “त्यस दुई महिने लेखनवृत्तिमा हामीले आआफ्नै शैली र शिल्प प्रयोग गरेर स्वतन्त्र किसिमले पाँच किताब लेख्यौं । मैले पानीको घाम नामक आख्यान लेखें, जुन २०६६ सालमा प्रकाशित भयो । पहिलो किताब नै लेखनवृत्ति पाएर सम्बन्धित ठाउँको स्थलगत अध्ययन गरी लेख्न पाउनु मेरा लागि महत्त्वपूर्ण अवसर थियो ।” 

‘पानीको घाम’ले पद्मश्री साहित्य पुरस्कार जस्तो प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको स्मरण गर्दै उनले यस प्रकारका लेखनवृत्तिहरू देशविदेशमा सञ्चालन भइरहनुपर्ने बताए ।

विकासका लागि आउने अनुदानलाई नकारात्मक रूपमा हेर्न नहुने तर्क गर्दै न्यौपानेले प्रश्न गरे, “विकासका लागि पनि अनुदान(ग्रान्ट) आउँछन् । यस प्रकारका अनुदानबाट नेपालमा धेरै राजमार्ग, सडक, पुल, विद्यालय, विश्वविद्यालय, जलविद्युत योजना र ठूलाठूला भवन बनेका छन् । चीनको अनुदानमा अहिलेको हाम्रो संसद भवन(वीरेन्द्र अन्तर्राष्ट्रिय सभागृह) नै बनेको छ । के अब हामी अनुदानमा बनेको भनेर संसद भवनमा संसद नै नचलाउने ?”

आफ्नो कुरा टुङ्ग्याउँदै उनले भने, “गर्व गर्नुपर्ने कुरामा गाली गर्ने संस्कारले हामीमा घृणा र उपेक्षा भाव मात्र जन्माउँछ । त्यसैले सत्यतथ्यलाई बुझेर स्वस्थ बहस गरौं । सिर्जनशील लेखकहरुलाई हतोत्साहित नबनाऔं ।”

राजनीतिज्ञ समेत रहेका आहुतिले आफ्नो फोटो भाइरल भइरहेकोमा आपत्ति जनाए । उनले सामाजिक सञ्जालमा पोस्ट राख्दै आफूद्वारा लेखिएका कुनै पनि पुस्तक कसैको प्रायोजनमा नलेखिएको स्पष्ट पारे । “अमेरिका, नर्वे ,‌ जर्मनी इत्यादिको पैसा खाएर किताब लेख्नेहरू भनी मेरोसमेत  फोटो राखेर सामाजिक सञ्जालमा दुष्प्रचार गरिएको रहेछ,” उनले लेखे, “झुठो नामको आईडीबाट प्रचार गरिएको हुनाले यो प्रचार स्वत: झुठको खेती बुझ्न कुनै कठिनाई छैन ।”

उनले अगाडि लेखे, “तैपनि, मद्वारा लेखिएका कुनै पनि पुस्तक कसैको प्रायोजनमा लेखिएका होइनन् भन्ने कुरा प्रष्ट पार्न चाहन्छु । यस्ता हावादारी प्रहारबाट हल्लिने गरी हाम्रो जग हामीले बनाएका छैनौं, यत्तिचाहिँ बुझे हुन्छ । जसले यो हर्कत गरेको छ, त्यसको हिसाब किताब उपयुक्त समयले गर्नेछ ।”

साहित्यकार युग पाठकले कुनै पनि विदेशी एजेन्सीबाट आफ्नो हातमा अहिलेसम्म एक पैसा नपरेको जिकिर गरे । उनले भने, “मेरो हातमा आजसम्म एक पैसो परेकाे छैन र मलाई यो कुरोको कुनै जानकारी सम्म छैन । त्यसैले यो फेक आईडी र पेजको पछाडि को छन् त्यसको सत्यतथ्य पत्ता लगाइ मैले पाउनुपर्ने कति पैसो हो (त्यो रकमको जानकारी यिनै फेकहरूलाई थाहा हुनसक्ने वा यिनैले सुटुक्क खाइदिएको हुनसक्ने सम्भावना भएकाेले) त्यसको विवरण सार्वजनिक गरी उक्त रकम मलाई फिर्ता गराइदिनहुन अनुरोध गर्दछु ।”

साहित्यकार जीवा लामिछानेले अनुदान लेखनलाई संसारभरि नै सामान्य अभ्यास मानिने बताउँदै सर्जकले अनुदान पाएर सिर्जना गर्नुलाई अपराधको रूपमा हेर्न नहुने बताए । उनले सामाजिक सञ्जालमा यस विषयलाई लिएर भइरहेको घृणायुक्त बहसप्रति दुःख व्यक्त गरे ।

लामिछानेले भने, “वास्तविक बहस अनुदान कसले पायो भन्ने होइन, त्यसबाट लेखिएका कृति कस्ता छन् भन्ने विषयमा केन्द्रित हुनुपर्छ !” यदि कुनै पुस्तकले नयाँ दृष्टिकोण दिएको छ, महत्त्वपूर्ण विषय उजागर गरेको छ वा साहित्यिक संस्कृतिलाई समृद्ध बनाएको छ भने, लेखकले कसरी वित्तीय सहायता प्राप्त गर्यो भन्ने विषय गौण हुनुपर्ने उनको धारणा छ ।

अन्तर्राष्ट्रिय स्तरमा नोबेल पुरस्कार विजेता लेखकहरूले समेत अनुदानबाट लाभ लिएको उदाहरण दिँदै उनले टोनी मोरिसन, एडवार्ड जोन्स, कोल्सन ह्वाइटहेड, भियेत थान गुयेन जस्ता चर्चित लेखकहरूले अनुदानबाट लाभ उठाउँदै उत्कृष्ट साहित्य सिर्जना गरेको बताए । लामिछानेले अनुदानले सिर्जनशीलता, अनुसन्धान र बौद्धिक उन्नतिमा टेवा पुर्‍याउने भएकाले यसलाई नकारात्मक रूपमा हेर्नु गलत भएको बताए ।

आफ्नो विचार व्यक्त गर्दै लामिछानेले भने, “यदि नेपाली लेखकहरूले ग्रान्ट लिएर समाजलाई उपयोगी हुने पुस्तक लेखेका छन् भने त्यो गौरवको विषय हो । आलोचना र घृणाको विषय होइन !” उनले साहित्यिक गुणस्तर, लेखनले समाजमा पारेको प्रभाव र बौद्धिक योगदानमा केन्द्रित भएर बहस गर्नुपर्नेमा जोड दिए । व्यक्तिगत पूर्वाग्रहले भरिएका बहसले कसैलाई फाइदा नपुर्‍याउने र रचनात्मक आलोचनाको सट्टा घृणायुक्त बहसले समाज भाड्ने र सिर्जनशीलतालाई हानी पुर्‍याउने उनको भनाइ छ ।

साहित्यकार सीमा आभासले आफूहरूमाथि गरिएको गालीगलौजप्रति दुःख व्यक्त गर्दै कृति नपढी आरोप लगाउनु गलत भएको बताइन् । सामाजिक सञ्जालमा आफ्नो र अन्य लेखकहरूको नाम, फोटो राखेर एउटा ब्यानर भाइरल भइरहेको र त्यसमा अधिकांशले गालीगलौज गरेकोमा उनले आक्रोश व्यक्त गरिन् ।

“हाम्रा कृतिहरू पढ्नुहोस् ! हामीले गलत केके गरेका छौं तिनका प्रमाण सार्वजनिक गर्नुस्,” आभासले भनिन् । उनले चिन्दै नचिनी, जान्दै नजानी गालीगलौज गर्नु मान्छेको व्यवहारभित्र नपर्ने बताउँदै अलिकति मान्छे बन्न र पढालेखाको चरित्र देखाउन आग्रह गरिन् ।

स्वत्वको लागि कलम चलाउने र समाजका विकृतिविरुद्ध लेख्न नडराउने बताउँदै आभासले स्वतन्त्रता, समानता, समता, समुन्नति, सद्भाव जस्ता विषयको पक्षमा सचेत भएर उभिने बताइन् । उनले कानूनी राज्यमा बिनाप्रमाण मानमर्दन गरेको मूल्य चुकाउन तयार रहेको चेतावनी दिँदै बिनाप्रमाण गालीगलौज गर्नेहरूको चरित्रमाथि प्रश्न उठाएकी छन् ।

लेखकले कृति लुकाएर नराखेको र सकेसम्म बढी मान्छेले पढुन् भन्ने चाहेको उल्लेख गर्दै आभासले भनिन्, “लेखकले गलत लेख्यो भने चिरकालसम्म त्यसको असरपर्छ भनेर जानेको हुन्छ । कतिकति हरफहरू त मुटुले लेखेको हुन्छ । देश, समाज, धर्म, कला, संस्कृति, आचरण लेखेको हुन्छ । यसभित्रका विकृतिलाई प्रहार गरेको हुन्छ । नविन दृष्टिकोण दिएको हुन्छ ।” एउटा स्वाभिमानी लेखकलाई कसैका स्वार्थको गान वा भक्ति र भजन लेख्न उसको अहमले नदिने र कसैले निर्दिष्ट गरेको सिद्धान्त वा कसैको इच्छामुताविक चल्न नसक्ने भएरै लेखक निर्भिक बन्ने उनको भनाइ छ ।

“यो देशको भाषा, धर्म, संस्कृति, परम्पराको चिन्ता सबैलाई भएजस्तै लेखकलाई पनि हुन्छ । स्वाभिमानी अक्षरमा बाँचेको लेखकमाथि लाञ्छना लगाउनु अघि ज-जसलाई आरोप लगाउनु भयो एकपटक हाम्रा कृतिहरू पढ्नुस् । जे पायो त्यहि बोल्दै नहिँड्नुस्,” उनले भनिन् । 

साहित्यकार कृष्ण धरावासीले आफूलाई ‘हुण्डी’ खाएको भन्ने आरोपप्रति कडा प्रतिक्रिया दिएका छन् । फेसबुकमा लाइभमार्फत उनले सामाजिक सञ्जालमा आफ्नो फोटो राखेर गरिएको ट्रोलप्रति आक्रोश व्यक्त गरेका छन् । 

आफूलाई लेखकको हैसियतबाट सामाजिक प्राणी मान्दै धरावासीले समाजबाट टाढा जानु नहुने र समाजमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने दायित्व रहेको बताए । 

२०६५ सालमा जीटीजेड (GTZ) नामक संस्थाको प्रपोजलमा ‘टुडाल’ उपन्यास लेखेको स्मरण गर्दै धरावासीले भने, “अहिले जुन प्रकारले प्रश्न गर्यो त्यसको उत्तर त्यो टुडाल भन्ने उपन्यास तपाईँहरू पढ्नु भएको छ भने पढिसक्नुभयो । जसले पढ्नुभएको छैन तपाईँहरूले पढ्न सक्नुहुन्छ कि त्यो किताबमा १८ पेजको मेरो आफ्नै भूमिका छ । र, त्यो भूमिकामा त्यो किताब किन लेख्यो कसरी लेख्यो के का लागि लेखियो भन्ने कुराको लामो भूमिका छ ।”

उनले थपे, “विदेशी किताब लेख्नेहरू, देश बेच्नेहरू, देशको भाषा संस्कृति समाप्त गर्नेहरू, परम्परा समाप्त गर्नेहरू भन्ने किसिमका आक्षेप ठीक आक्षेप होइन ।”

धरावासीले बजारमा आफ्ना ३१ ओटा किताब आएको र त्यहाँ कहीँ पनि देशको भाषा, संस्कृति, साहित्य विरुद्ध नभएको उल्लेख गरे । “अनेक खालका नेगेटिभ पूर्वाग्रह बोकेर, राजनीतिक पूर्वाग्रह बोकेर त्यतिकै लेखकहरूलाई ट्रोल गर्दिने ?,” उनले भने ।

धरावासीले आफूले देश नबेचेको र देश बेच्ने साहित्य नलेखेको जिकिर गर्दै मोबाइल छ भन्दैमा जे पनि लेख्नेहरूलाई चेतावनी दिए । ट्रोल गर्नेहरूलाई उनले प्रश्न गरे, “जसको फोटो राख्नुभयो, उनका सबै किताबहरू धर्को तानेर कहाँ-कहाँ पढेर समालोचना गर्नुभएको छ ?” 

ट्रोल बनाउनुअघि सम्बन्धित व्यक्तिलाई प्रश्न गर्न र चित्त नबुझे दोहोर्‍याएर सोध्न धरावासीले सुझाव दिए । धरावासीले भने, “कुनै ट्रोल बनाउनुभन्दा अगाडि सम्बन्धित मान्छेसँग पनि प्रश्न गर्नुस् । त्यसले के होइन भन्छ, के हो भन्छ । त्यसपछि तपाईंले आफ्नो कुरा राख्न पाउनुहुन्छ ।”

पछिल्लो अध्यावधिक: फागुन ७, २०८१ १४:२४