काठमाडौं । बढ्दो साइबर अपराध र डिजिटल जोखिमलाई मध्यनजर गर्दै विश्वको अग्रणी डिजिटल जोखिम सुरक्षा कम्पनी ‘सीटीएम ३६०’ र नेपाली साइबर सुरक्षा कम्पनी क्रिप्टोजेन नेपालबीच सहकार्य भएको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रममा यी दुई कम्पनीबीच साझेदारी पत्रमा हस्ताक्षर भएको हो ।
अब ‘सीटीएम ३६०’ को अत्याधुनिक सेफ्टी प्लेटफर्म नेपाली बजारमा क्रिप्टो जेन नेपालले बिक्री वितरण गर्नेछ ।
साइबर सुरक्षा चुनौती बढिरहेको अवस्थामा यो साझेदारीले नेपाली संस्थाहरूलाई डेटा उल्लङ्घन, फिसिङ आक्रमण, डार्क वेबमा सूचनाको दुरुपयोगजस्ता डिजिटल जोखिमबाट सुरक्षित रहन मद्दत गर्ने विश्वास गरिएको छ ।
‘सीटीएम ३६०’ विशेषगरी ठूला कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गरी विकास गरिएको सुरक्षा प्लेटफर्म हो । यसले डिजिटल सम्पत्तिलाई आन्तरिक र बाह्य दुवै किसिमका साइबर खतराबाट जोगाउन मद्दत गर्ने बताइन्छ ।
यस प्लेटफर्मले एक्सटर्नल अट्याक सर्फेस मेनेजमेन्ट, डिजिटल रिस्क प्रोटेक्सन, साइबर थ्रेट इन्टेलिजेन्स इन्फरमेसन, ब्रान्ड सुरक्षा र एन्टी-फिसिङ, डिप र डार्क वेब मनिटरिङ, सुरक्षा मूल्याङ्कन लगायतका सेवा प्रदान गर्छ । साथै यस प्लेटफर्मबाट थर्ड पार्टी रिस्क मेनेजमेन्ट र अनलिमिटेड टेकडाउनजस्ता विविध सुरक्षा सेवा लिन सकिन्छ ।
‘सीटीएम ३६०’ ले पहिले नै कम्पनीको डेटा सेटअप गरेको हुन्छ । यसले गर्दा कुनै अतिरिक्त सेटअप, कन्फिगरेसन वा म्यानुअल इनपुट गर्नुपर्दैन । यस प्लेटफर्मको प्रयोगले संस्थाहरूले आफ्ना वेबसाइटमा भएका सुरक्षा कमजोरीहरू पत्ता लगाउन, डार्क वेबमा कम्पनीसँग सम्बन्धित डेटा लिक भएको छ कि छैन भन्ने थाहा पाउन, कम्पनीका उच्च अधिकारीहरूको नक्कली प्रोफाइल बनाएर भ्रम फैलाइएको छ कि छैन भन्नेजस्ता विषयहरू पहिचान गर्न सक्नेछन् । साथै, यसले त्यस्ता नक्कली प्रोफाइल तथा वेबसाइटहरूलाई तत्काल हटाउनसमेत सहयोग गर्नेछ ।
क्रिप्टोजेन नेपालका प्रमुख प्राविधिक अधिकृत निर्मल दाहालले बढ्दो साइबर खतरालाई नियन्त्रण गर्न बाह्य खतरा जस्तै फिसिङ, डेटा लिक, डार्क वेब गतिविधिहरूलाई पहिचान गर्नु आवश्यक रहेको बताए । ‘सीटीएम ३६०’ सँगको सहकार्यले नेपालको साइबर सुरक्षालाई थप मजबुत बनाउने लक्ष्य लिएको उनले सुनाए ।
‘सीटीएम ३६०’ का सीईओ मिर्जा असरार बेगले क्रिप्टो जेन नेपालसँगको साझेदारीले नेपालका संस्थाहरूलाई डिजिटल खतराहरूसँग प्रभावकारी ढंगले लड्न मद्दत गर्ने बताए । उनले यो प्रविधि र क्रिप्टो जेन नेपालको स्थानीय ज्ञान र अनुभवले नेपालको साइबर सुरक्षा क्षमतालाई सुदृढ गर्ने विश्वास व्यक्त गरे । यो सफ्टवेयर प्रयोग गर्न वा बुझ्नका लागि क्रिप्टोजेन नेपाललाई सम्पर्क गर्न सकिनेछ ।