काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलका कर्पोरेट र नियामक मामिला निर्देशक डिल्लीराज श्रेष्ठले सरकारलाई आम्दानीको ५० प्रतिशत बढी कर बुझाउनुपर्ने बाध्यताले टेलिकम कम्पनीहरूको अस्तित्व खतरामा परेको बताएका छन् । टेकपानाले बिहीबार ललितपुरमा आयोजना गरेको ‘दूरसञ्चारको भविष्य निर्माण: नीति र नवप्रवर्तनमा अन्तर्दृष्टि’ विषयक कार्यक्रममा प्यानल छलफलका क्रममा उनले यस्तो कुरा राखेका हुन् ।
“करमा वृद्धि र आम्दानी निरन्तर घट्दा दूरसञ्चार कम्पनीहरूको अस्तित्व जोखिममा परेको छ,” उनले भने । यसबाट टेलिकम कम्पनीहरूको व्यावसायिक स्थायित्वमा गम्भीर संकट आएको उनले बताए ।
श्रेष्ठका अनुसार कोरोना महामारीपछि विश्वभर प्रविधिमा ठूलो फड्को मारेको छ । स्मार्टफोन प्रयोगमा वृद्धि भएको र सर्वसाधारणले ओटीटी प्लेटफर्ममा पनि बढ्दो सक्रियता देखाएका छन् । यसले दूरसञ्चार कम्पनीहरूको व्यवसायमा भने नकारात्मक प्रभाव पारेको श्रेष्ठको विश्लेषण छ । “अन्तराष्ट्रिय स्तरमा लामो दुरीको कल र भ्वाइस कल गर्ने क्रम घटिरहेको छ, जसकारण आम्दानी निरन्तर खुम्चिरहेको छ,” उनले भने ।
नयाँ इनोभेसनमा भने टेलिकम कम्पनीहरू उत्साही देखिएका छन् । श्रेष्ठका अनुसार, “इनोभेसन गर्न र नयाँ प्रविधिहरूको अनुकूलन गर्न सर्भिस प्रोभाइडरहरू उत्सुक छन् । तर, नियमनका काममा नेपाल सरकारले समयमै कदम चालेको छैन । यसले गर्दा थप समस्या उत्पन्न भएको छ ।”