close

ह्याकरले चोरे २ खर्ब बढीको क्रिप्टोकरेन्सी, फिर्ता गराउनेलाई साढे १९ अर्ब पुरस्कार दिइने

टेकपाना टेकपाना

फागुन १२, २०८१ १४:५४

ह्याकरले चोरे २ खर्ब बढीको क्रिप्टोकरेन्सी, फिर्ता गराउनेलाई साढे १९ अर्ब पुरस्कार दिइने

काठमाडौं । क्रिप्टोकरेन्सी एक्स्चेन्ज प्लेटफर्म बाइबिटले साइबर सुरक्षाका "चम्किला दिमाग" भएकाहरूलाई ह्याकरहरूले चोरेको १.५ अर्ब डलर (करिब २ खर्ब ८ अर्ब रुपैयाँ) फिर्ता गर्ने कार्यमा मद्दत गर्न आग्रह गरेको छ । यसलाई इतिहासकै सबैभन्दा ठुलो डिजिटल चोरी भएको मानिएको छ ।

दुबईमा रहेको यो क्रिप्टो प्लेटफर्मले एक आक्रमणकारीले इथेरियमको वालेटमा नियन्त्रण जमाएर सम्पूर्ण रकम अज्ञात ठेगानामा सारेको बताएको छ । इथेरियम बिटकोइनपछिको दोस्रो लोकप्रिय डिजिटल मुद्रा हो ।

बाइबिटले आफ्ना ग्राहकहरूको क्रिप्टोकरेन्सी होल्डिङ सुरक्षित रहेको भन्दै आश्वस्त पार्न खोजेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले ह्याक भएको क्रिप्टोकरेन्सी फिर्ता नभए पनि प्रभावित सबैलाई बाइबिटले क्षतिपूर्ति दिने कुरा सामाजिक सञ्जालमार्फत बताएका छन् ।

बाइबिटका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बेन झाउले एक्समा लेखेका छन्, "यो ह्याकको क्षति असुल उपर नभए पनि बाइबिट सक्षम छ, र सबै ग्राहकहरूको सम्पत्ति एक एक गरी सुरक्षित गरिएको छ, हामी क्षतिपूर्ति दिन सक्छौँ ।"

उनले कम्पनीसँग ग्राहकहरूको २० अर्ब डलर बराबरको सम्पत्ति रहेको र कुनै पनि असुल हुन नसकेको कुनै पनि रकम आफैँले वा साझेदारहरूबाट ऋण लिएर तिर्न सक्ने बताए ।

विश्वभर ६ करोडभन्दा बढी प्रयोगकर्ता रहेको बाइबिट कारोबारका आधारमा विश्वको दोस्रो ठुलो क्रिप्टोकरेन्सी एक्स्चेन्ज हो । ह्याकिङको खबरले गर्दा कम्पनीबाट रकम झिक्ने ग्राहकहरूको सङ्ख्या बढेको छ ।

सीईओ झाउले लेखेका छन् कि कम्पनीले ग्राहकहरूबाट ३ लाख ५० हजार भन्दा बढी रकम निकाल्ने अनुरोध प्राप्त गरेको र यसले गर्दा रकम निकाल्ने प्रक्रियामा ढिलाइ हुन सक्ने बताए ।

कम्पनीले अफलाइन 'कोल्ड' वालेटबाट दैनिक कारोबारको लागि 'वार्म' वालेटमा इथेरियम ट्रान्सफर गर्ने क्रममा ह्याक भएको जनाएको छ । आक्रमणकारीले सुरक्षा नियन्त्रणको दुरुपयोग गरी सम्पत्ति स्थानान्तरण गर्न सफल भएका छन् । झाउले एक्स्चेन्जमा रहेका अन्य सबै वालेटहरू सुरक्षित रहेको दाबी गरेका छन् ।

ह्याकको खबरपछि शुक्रबार इथेरियमको मूल्य लगभग ४ प्रतिशतले घटेको थियो, तर त्यसपछि पुरानै अवस्थामा फर्किएको छ । कम्पनीले ह्याक भएको रकम फिर्ता गर्ने कार्यमा 'साइबर सुरक्षा र क्रिप्टो एनालिटिक्समा उत्कृष्ट दिमाग भएकाहरूलाई' सहयोग गर्न आग्रह गरेको छ । साथै, ह्याकरबाट फिर्ता हुने रकमको १० प्रतिशत पुरस्कार दिने घोषणा समेत कम्पनीले गरेको छ । यसको अर्थ चोरी भएको सम्पूर्ण बिटक्वाइन फिर्ता गराउन सके १४ करोड डलरसम्म रिवार्ड पाइनेछ ।

झाउले भनेका छन्, "बाइबिट यो धक्काबाट माथि उठेर आफ्नो सुरक्षा पूर्वाधारमा परिवर्तन गर्न, तरलतामा सुधार ल्याउन र क्रिप्टो कम्युनिटीमा एक सहयोगी बन्न दृढ छ ।"

ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको पुनरागमन र क्रिप्टोलाई खुकुलो नियमनका साथ 'संसारको क्रिप्टो राजधानी' बनाउने उनको वाचाका कारण हालैका महिनाहरूमा क्रिप्टो उद्योगले पुनरागमन गरेको थियो । यो ह्याकलाई क्रिप्टो उद्योगको लागि एक ठुलो धक्काको रूपमा हेरिएको छ ।

यद्यपि बाइबिट ह्याकरको पहिचान अज्ञात छ, तर केही रिपोर्टहरूले यस कार्यमा उत्तर कोरियाली ह्याकर लजारुस ग्रुप (Lazarus Group) को संलग्नता हुन सक्ने बताएका छन् । यसअघि सन् २०२२ मा यो समूहमाथि रोनिन ग्रुपको ब्लकचेन प्रोजेक्टबाट ६१ करोड ५० लाख डलर चोरी गरेको आरोप लागेको थियो ।

पछिल्लो अध्यावधिक: फागुन १२, २०८१ १६:४५