काठमाडौं । गुगलले शुल्क लिएर इन्टरप्राइज प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको कोडिङ असिस्ट टुल अब सबै प्रयोगकर्ताले निःशुल्क प्रयोग गर्न पाउने भएका छन् । कम्पनीले मङ्गलबार विश्वभरका सबै प्रयोगकर्ताका लागि एआई कोड असिस्ट टुल उपलब्ध गराएको हो ।
यो टुल विद्यार्थी, रुचि भएका व्यक्ति, फ्रिल्यान्सर र स्टार्टअपका लागि उपयोगी हुने गुगलको विश्वास छ । “अब जो कोहीले पनि सजिलै सिक्न, कोड स्निपेट तयार पार्न, डिबग गर्न र आफ्ना टुल तथा एपलाई परिमार्जन गर्न सक्छन्,” गुगलका प्रोडक्ट म्यानेजमेन्टका वरिष्ठ निर्देशक रायन जे. साल्भाले भनेका छन्, “यससँगै अब फरक फरक विन्डोज स्विच गर्नुपर्ने र विभिन्न स्रोतबाट जानकारी कपी गरेर पेस्ट गर्नु नपर्ने गरी सजिलै प्रयोग गर्न सकिन्छ ।”
निःशुल्क उपलब्ध हुने अधिकांश कोडिङ असिस्ट टुलमा सीमित रेन्ज हुन्छ । खासगरी ती असिस्ट टुलमा प्रति महिना २,००० कोड पूरा गर्ने फिचर मात्र भएकाले थप सेवा दिन आफूहरूले यो टुल सबैका लागि उपलब्ध गराएको उनको भनाइ छ । यहाँ क्लिक गरेर जेमिनाईको कोड असिस्ट टुलको साइटमा पुगिन्छ । त्यसपछि यसलाई भिज्युअल स्टुडियो कोडमा इन्स्टल गर्न सकिन्छ । त्यहीबाट गुगल अकाउन्ट साइनअप गरिसकेपछि सहजै प्रयोग गर्न सकिन्छ ।
यो फिचर जेमिनाई कोड असिस्टको प्रतिस्पर्धी गिटहब कोपाइलटलाई लक्षित गरी ल्याइएको हो । गिटहब कोपाइलटमा मासिक रूपमा २,००० कोड पूरा गर्ने फिचर छ भने कोपाइलटमा च्याटमा ५० मेसेजको सीमितता छ । यसको तुलनामा गुगलले प्रति महिना एक लाख ८० हजारसम्म कोड पूरा गर्ने सुविधा दिइरहेको छ ।
जेमिनाईको इन्टरप्राइज भर्सन जस्तै व्यक्तिगत प्रयोगकर्ताका लागि जेमिनाई कोड असिस्ट गुगलको जेमिनाई २.० आर्टिफिसियल इन्टेलिजेन्स मोडेलमा सञ्चालित छ । यसले सम्पूर्ण कोड ब्लक तयार गर्न, कोड लेख्दा अपूरो छ भने त्यसलाई पूरा गर्न र च्याटबट इन्टरफेस मार्फत सामान्य कोडिङ असिस्टेन्स दिन सक्छ । यो टुल भिजुअल स्टुडियो कोड, गिटहब र जेटब्रेन्समा प्रयोग गर्न सकिने द भर्जले उल्लेख गरेको छ ।
डेभलपरले जेमिनाई कोड असिस्टलाई प्रयोग गर्दा स्तरीय प्रम्प्ट प्रयोग गर्नुपर्छ भन्ने हुँदैन । बोलीचालीको भाषामा मलाई यस्तो वेबसाइट बनाएर देउ भन्यो भने यसले त्यसैका आधारमा सजिलै वेबसाइटको कोड तयार पारी दिन्छ । यसले अहिले ३८ ओटा भाषा सपोर्ट गर्छ । त्यस्तै यो टुलले अगाडि भएका कुराकानीलाई पनि सम्झिन सक्छ । र, अर्को कुराकानीमा त्यसलाई लागु गर्न सक्छ ।