close

सेकेन्ड ह्यान्ड आईफोन किन्दा ध्यान दिनैपर्ने कुरा

टेकपाना टेकपाना

फागुन २९, २०८१ १३:४२

सेकेन्ड ह्यान्ड आईफोन किन्दा ध्यान दिनैपर्ने कुरा

काठमाडाैं । कुनै बेला हामीलाई बजारमा धेरै चलेका फोन प्रयाेग गर्न मन पर्छ । तर, पैसाको अभावले होस् वा धेरै पैसा खर्च गरिसकेपछि फोन कस्तो पर्ने होला भन्ने मनमा एक किसिमको डरले डेरा जमाइरहेको हुन्छ ।

इन्टरनेटमा भएका ती फोनका रिभ्यु पनि शतप्रतिशत सही हुन्छन् भन्न सकिँदैन । यस्तो अवस्थामा हामी कसैले प्रयोग गरिरहेको वा भनौं सेकेन्ड ह्यान्ड फोन किन्न खोज्छौँ ।

हामीमध्ये धेरै आईफोनका सौखिन छाैं । त्यसको क्यामेरालाई लिएर होस् वा प्राइभेसी र सेक्युरिटीका कुरालाई लिएर होस् वा अन्य केही फिचरहरू हेरेर होस्, हामी आईफोनतिर आकर्षित भइरहेका हुन्छौं ।

कसैबाट सेकेन्ड ह्यान्ड आईफोन किन्दै हुनुहुन्छ भने त्यसबारे केही महत्वपूर्ण कुरा जान्नुपर्ने हुन्छ । कुनै अवस्थामा फोन धेरै नचलाएको भएर बिक्रेताले फोनको मूल्य धेरै भनिरहेको हुनसक्छ ।

त्यसैले तल दिइएका कुरामा ध्यान दिएर किन्नुभयो भने सेकेन्ड ह्यान्ड आईफोन किनिसकेपछि पछुतो हुनेछैन । सबैभन्दा पहिले त इन्टरनेटमा आईफोनको बारेमा विस्तृत जानकारी लिनुहोस् ।

यदि आफूलाई त्यो आईफोन उपयुक्त हुन्छ भन्ने लाग्यो भने किन्न लागेको फोन केही समयका लागि माग्नुहोस् । त्यसपछि यसरी परीक्षण गर्नुहोस् ।

आईफोनको सेटिङमा जानुहोस् । जेनेरलमा गएर मोडल नम्बर हेर्नुहोस् । मोडल नम्बरमा स्ल्यास (/) अघि दुईवटा अक्षर र अङ्कको संयोजन हुन्छ, जस्तै एमओ (MO)  ३जे/ए (3J/A) ।

अङ्कसँग जोडिएको अक्षरले धेरै अर्थ राख्छ । यसमा भएको ‘जे’ अक्षरले यो फोन जापानमा बनेको भन्ने जनाउँछ । त्यस्तै त्यहाँ भएका अन्य थुप्रै अक्षरहरू जस्तै एबीले (AB) ले इजिप्ट, जोर्डन, साउदी अरेबिया, यूएईमा फोन बनेको भन्ने जनाउँछ भने एएम (AM)ले फोन अमेरिकामा बनेर भियतनाममा एसेम्बल भएको भन्ने जनाउँछ ।

त्यस्तै बिआर (BR) ले ब्राजिलमा फाेन निर्माण र एसेम्बल भएकाे भन्ने जनाउँछ भने बिजेड (BZ) ले ब्राजिलमा आईफोन निर्माण र चीनमा एसेम्बल भएकाे भन्ने जनाउँछ । वा यो सूची हेर्नुभयो भने झनै प्रष्ट हुन सक्नुहुन्छ ।

सोही मोडेल नम्बर अगाडि दुई अक्षर हुन्छन् । त्यसमा भएको पहिलो अक्षरले फोन नयाँ, पुरानो वा कस्तो अवस्थामा छ भन्ने जनाउँछ । यदि त्यहाँ पहिलो अक्षर एम (M) बाट सुरू भएकाे छ भने फोन नयाँ छ भन्ने बुझिन्छ ।

त्यस्तै एफ (F) अक्षर हुनुको अर्थ फोन मर्मत गरिएको छ भन्ने हुन्छ । एन (N) हुनुको अर्थ त्यो फोन सर्भिसमा पठाएको बेला रिप्लेस्मेन्ट भएको छ भन्ने बुझिन्छ भने पी (P) काे अर्थ त्यो आईफोन आफ्नो नाममा बनाएर किनिएको भन्ने हुन्छ ।

यी कुरामा ध्यान दिनुभयो भने आईफोन कुन अवस्थामा छ, त्यही अनुसारको मूल्य तिरेर किन्न सक्नुहुन्छ ।

यी कुरा ध्यान दिनुहाेस्

१. फोनको मूल्य

तपाईं जुन सेकेन्ड ह्याण्ड फोन खरिद गर्दै हुनुहुन्छ त्यो फोन कहिले सार्वजनिक भएको थियो र त्यसको अहिलेको मूल्य कति छ भन्ने कुरा पत्ता लगाउनुहोस् । कतिपय समय सेकेन्ड ह्याण्ड फोनको मूल्य त्यसको नयाँ मोडलको आसपास हुन सक्छ अथवा अन्तर एकदमै थोरै हुन्छ ।

२. फोनको एक्सेसरिज

चार्जर एडप्टर, यूएसबी केबल, इयरफोन लगायतका फोनसँगै आउने एक्सेसरिजले राम्रोसँग काम गरिरहेका छन् कि छैनन् भन्ने कुरा पनि चेकजाँच गर्नुहोस् । साथै यूएसबी केबलबाट डेटा ट्रान्सफर भइरहेको छ कि छैन भन्ने कुरा पनि चेक गर्न जरुरी छ ।

३‍. फोनको बाहिरी अवस्था जाँच गर्नहोस्

फोनको बाहिरी अवस्था जाँच गर्ने फोनको डिस्प्ले, बडी, क्यामेरा र बटनहरू राम्रोसँग काम गर्छन् कि गर्दैनन् भन्ने जाँच गर्नुहोस् । स्क्रिनमा ठूला स्क्र्याच, डेन्ट वा फाटेको छ कि छैन ध्यान दिनुपर्छ ।

४. फोन रिसेट गर्नुहोस्

फोनमा सिम राख्नु अगाडि त्यसमा दुई वा तीन पटक आईफोन रिसेट गर्नुहोस् । फोनमा कुनै प्रि-इन्स्टल्ड एप वा कुनै बग अथवा भाइरस भएको खण्डमा यसबाट त्यसलाई हटाउँछ ।

फोन अन भइसकेपछि मोबाइलको नेटवर्क कत्तिको आइरहेको छ त्यो पनि ख्याल राख्नुहोस् ।

५. डिस्प्ले र क्यामेरा जाँच गर्नुहोस्

जब फोन अन हुन्छ, तब सबैभन्दा पहिले फोनकको स्क्रिनका सबै भागमा टच गरेर हेर्नुहोस् । सकेसम्म फोनमा कुनै गेम खेलेर यसको जाँच गर्न सक्नुहुन्छ ।

यसबाट फोनको डिस्प्ले कत्तिको प्रभावकारी छ भन्ने कुरा थाहा हुन्छ । साथै फोनको रियर तथा फ्रन्ट क्यामेरालाई समेत राम्रोसँग चेकजाँच गर्नुहोस् ।

यसबाट क्लिक गर्दा निस्किने फोटोको क्वालिटी सही छ वा छैन त्यो पनि विचार गर्नुहोस् । अब फोनबाट कल गरेर चेक गर्नुहोस् । फोनमा उचित किसिमले नेटवर्क र आवाज आइरहेको छ वा छैन विचार पुर्‍याउनुहोस् ।

६. कनेक्टिभिटी र ब्याट्री ब्याकअप

फोन कति समयमा फुल चार्ज हुन्छ र त्यसको ब्याट्री कति समयसम्म टिक्छ भन्ने कुराको पनि ख्याल राख्नुहोस् । साथै फोनका कनेक्टिभिटी फिचरलाई समेत जाँच गर्न नबिर्सिनुहोस् । त्यस्तै आईफोनको ब्याट्री हेल्थ​ Settings > Battery > Battery Health & Charging मा गएर हेर्नुहोस् । कम्तीमा ८०% भन्दा माथि चार्ज होल्ड गर्ने ब्याट्री भएका फोन राम्रो मानिन्छ ।

७. बिल र आईएमईआई

तपाईं जुन सेकेन्ड ह्यान्ड आईफोन खरिद गर्दै हुनुहुन्छ, त्यसको इन्वाइस बिल चेक गर्न नबिर्सिनुहोस् । फोन बिक्री गर्ने व्यक्तिले बिल हराइसकेको बताउन सक्छ ।

यदि मोबाइल चोरीको वा हराएको रहेछ भने तपाईं अनावश्यक रुपमा प्रहरीको झमेलामा पर्न सक्नुहुन्छ । त्यसैले सकेन्ड ह्याण्ड मोबाइल किन्दा पुरानो बिल लिन चाहिँ नबिर्सिनुहोस् । फोनसँग बिल वा वारेन्टी कार्ड छ कि छैन भन्ने जाँच गर्नुहोस् । एप्पलको आधिकारिक वेबसाइटमा गएर पनि आईफोनको वारेन्टी हेर्न सकिन्छ । 

मोबाइलमा *#06# डायल गरेर फोनको आईएमईआई नम्बर थाहा पाउन सक्नुहुन्छ । यसरी बिलमा भएको आईएमईआई नम्बर र मोबाइलमा देखिएको आईएमईआई नम्बर एउटै भएको सुनिश्चित गर्नुहोस् ।

८. आईक्लाउड लक (iCloud Lock) हटेको छ कि छैन, हेर्नुहोस्

सेकेन्ड ह्यान्ड आईफोन खरिद गर्दा “Find My iPhone” अफ गरिएको छ कि छैन भन्ने जाँच गर्नुहोस् । यदि आईक्लाउड लक खुलाइएको छैन भने फोनमा नयाँ एप्पल आईडी लगइन गर्न सकिँदैन ।

९. नेटवर्क र सिम सपोर्ट चेक गर्नुहोस्

फोन अनलक छ कि छैन जाँच गर्नुहोस्, ताकि कुनै पनि नेटवर्कको सिम कार्ड प्रयोग गर्न सकियोस् । सेटिङ्समा गएर About Phone > Carrier Lock हेर्न सकिन्छ ।

१०. फोनको भित्रको पार्ट्स ओरिजिनल छन् कि छैनन्, चेक गर्नुहोसे

​कसै-कसैले भित्रको पार्ट्स फेरेर पुरानो फोन बेच्ने गर्छन् । त्यसैले, Settings > General > About > Parts and Service History मा गएर Replace भएको पार्ट्स छ कि छैन जाँच गर्नुहोस् ।

११. ​सबै फङ्सन र हार्डवेयर जाँच गर्न नभुल्नुहोस्

  • क्यामेरा– फोटो खिच्दा राम्रो काम गर्छ कि गर्दैन ?
  • स्पिकर र माइक्रोफोन – फोन कल गर्दा आवाज राम्रो आउँछ कि आउँदैन ?
  • फेस आईडी वा टच आईडी – अनलक गर्दा सही काम गर्छ कि गर्दैन ?
  • चार्जिङ पोर्ट – चार्जर लगाउँदा सही चार्ज हुन्छ कि हुँदैन ?
  • वाईफाई र ब्लुटुथ – नेटवर्कसँग सजिलै कनेक्ट हुन्छ कि हुँदैन ?

१२. कहाँ/कोसँग किन्ने आईफोन ?

फोन अनलाइन वा अज्ञात व्यक्तिबाट किन्दा ठगिने सम्भावना धेरै हुन्छ । विश्वसनीय शोरूम वा आधिकारिक रिसेलरबाट मात्र किन्नु राम्रो हुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०८१ १३:४२