काठमाडौं । गत जनवरीमा दक्षिण कोरियामा एक यात्रुवाहक विमानमा भएको आगलागीको कारण पावर बैंक हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । शुक्रबार दक्षिण कोरियाको यातायात मन्त्रालयले विज्ञप्तिमार्फत प्रारम्भिक अनुसन्धानको नतिजा सार्वजनिक गरेको हो ।
पावर बैंकको ब्याट्रीभित्रको इन्सुलेसन (विद्युत रोक्ने पदार्थ) बिग्रिएका कारण आगलागी भएको हुनसक्ने उक्त विज्ञप्तिमा उल्लेख छ । २८ जनवरीमा गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा एयर बुसानको विमानमा आगलागी भएको थियो । १६९ यात्रु सवार र ७ जना क्रु मेम्बर सहित उड्ने तरखरमा रहेको विमानको पछाडिको भागमा एक्कासि आगो लागेको थियो । उक्त घटनामा तीन जना सामान्य घाइते भएका थिए ।
मन्त्रालयको विज्ञप्ति अनुसार विमानमा पहिलो पटक आगो देखिएको स्थानको माथिल्लो सामान राख्ने भाग (लगेज राख्ने ठाउँमा)मा पावर बैंक फेला परेको थियो । यद्यपि, ब्याट्री कसरी बिग्रियो भन्ने बारेमा अनुसन्धानकर्ताहरूले केही नखुलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।
प्रारम्भिक अनसुन्धानका क्रममा फेला परेका तथ्यका आधारमा यो प्रतिवेदन तयार पारेको बताइएको छ ।
बीबीसीका अनुसार सुरक्षा चिन्ताका कारण पछिल्ला केही वर्षदेखि विश्वभरका एयरलाइन्सले पावर बैंकलाई चेक-इन गरिएको सामानमा लैजान प्रतिबन्ध लगाएका छन् । पावर बैंकमा प्रयोग हुने लिथियम-आयन ब्याट्रीमा क्षति पुगेमा वा निर्माणमा त्रुटि भएमा सर्ट सर्किट भएर अत्यधिक ताप उत्पन्न हुन्छ । र, आगो लाग्छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको निर्देशन अनुसार सन् २०१६ देखि यात्रुवाहक विमानको कार्गो होल्डमा कुनै पनि प्रकारको लिथियम-आयन ब्याट्री लैजान प्रतिबन्ध लगाइएको छ ।
एयर बुसानमा आगलागी भएपछि एयरलाइन्सले थप कडाइका साथ नियम लागु गरेको छ । अब यात्रुहरूले आफ्नो साथमा पावर बैंक लैजान पाउने छैनन् । एयरलाइन्सका अनुसार पावर बैंक अत्यधिक तातो हुने घटना बढेकाले यो नियम लागू गरिएको हो ।
चाइना एयरलाइन्स, थाई एयरवेज लगायत धेरै एयरलाइन्सले पनि यस्तै नियम लागु गरेका छन् । सिङ्गापुर एयरलाइन्सले १ अप्रिलदेखि विमानमा पावर बैंकको प्रयोग र चार्ज गर्न प्रतिबन्ध लगाउने भएको छ ।
बीबीसीका अनुसार २८ फेब्रुअरीमा दक्षिण कोरियाली सरकारले देशमा उडान गर्ने यात्रुले पोर्टेबल ब्याट्री र चार्जर आफ्नो साथमा बोक्नुपर्ने र माथि लगेज राख्ने ठाउँमा राख्न नपाउने नियम लागु गरेको थियो ।