काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक सक्काएका दिनेश प्रधानले गत वर्ष त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई) मार्फत स्नातकोत्तरका लागि परीक्षा दिए । उनी परीक्षामा पास त भए । तर सामान्य र्याङ्कमा पास भएकाले छात्रवृत्ति पाउने अवस्था थिएन ।
बाल्यकालदेखि नै सधैँ उत्कृष्ट नतिजा ल्याउने प्रधानलाई उक्त नतिजा चित्त बुझ्दो लागेन । बरु अर्को वर्ष फेरि परीक्षा दिने, तर उत्कृष्ट नतिजा ल्याउने र छात्रवृत्तिमा नै पढ्ने अठोट लिए ।
रामेछाप घर भएका प्रधानले गृह जिल्लाबाट नै २०७० सालमा एसएलसी परीक्षा दिएका थिए । मन्थली नगरपालिका वडा नं १ स्थित तामाकोसी इङ्लिस बोर्डिङ स्कुलमा अध्ययन गरेका उनले छात्रवृत्तिमा बढेका थिए । सोही विद्यालयबाट एसएलसी दिँदा ८६.८८ % सहित जिल्लाकै दोस्रो स्थान हासिल गर्न सफल भएका थिए ।
त्यसपछि विज्ञान विषयमा ललितपुरको ओमेगा कलेजबाट कक्षा १२ सम्मको अध्ययन पुरा गरे । “ओमेगा कलेजमा पढ्दा म टपर नै थिएँ ।” उनी सम्झन्छन् ।
प्रधानले कक्षा ११ मा ८५ प्रतिशत र कक्षा १२ मा ८६ प्रतिशत अङ्क ल्याएका थिए । त्यहाँ पनि उनले छात्रवृत्तिमा नै अध्ययन गरे । त्यसपछि उनले इलेक्ट्रिकल इन्जिनियरिङ विषय लिएर पुल्चोक क्याम्पसमा अध्ययन सुरु गरे । त्यहाँ पनि उनले अध्ययनका लागि छात्रवृत्ति पाए ।
यस्तै स्नातक सक्किएको एक वर्ष ग्याप राखेर गत वर्ष आईओई एमएससीको प्रवेश परीक्षा पास गरे । तर छात्रवृत्ति नपाएपछि फेरि अर्को वर्ष तयारी गर्ने निधो गरेको उनी बताउँछन् ।
त्यसपछि उनले गत फेब्रुअरी ७ मा आईओई एमएससीको प्रवेश परीक्षा दिए । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईओईको परीक्षा पुल्चोक क्याम्पसले लिने गर्छ । परीक्षा दिएको तीन दिनपछि १० फेब्रुअरीमा नतिजा प्रकाशन भयो । पुल्चोक क्याम्पसको वेबसाइटबाट नै त्यसको नतिजा सार्वजनिक भयो । यस पटक भने प्रधान टपर भए । उनले टप गर्नु एउटा इतिहास पनि बन्यो थियो । प्रधानको दाबी अनुसार यसअघि इलेक्ट्रिकल इन्जिनियरिङ पढेका विद्यार्थीले कहिल्यै प्रवेश परीक्षा टप गरेका थिएनन् ।
उनको सफलता उनी एक्लैले मनाएनन् । विभिन्न फेसबुक पेजहरूले पनि उनको सफलताको बयान गर्दै पोस्ट गरे । त्यसपछि दिनेशले मात्र नभई सबैले उनको शुभ समाचार पाइसकेका थिए । यो सफलतासँगै उनले स्नातकोत्तर अध्ययनका लागि पूर्ण छात्रवृत्ति पनि पाए ।
हाल उनी पुल्चोक क्याम्पसमै पावर सिस्टम इन्जिनियरिङ विषयमा स्नातकोत्तरमा भर्ना हुने तयारीमा छन् । गत वर्षको प्रवेश परीक्षा दिएको अनुभवले पनि यस पटक टप गर्न सहज बनाएको उनी बताउँछन् । उनी भन्छन्, “पोहोर परीक्षा दिएको अनुभव पनि थियो । एक्जाम राम्रो भएको थियो ।”
उनले आफ्नो प्रवेश परीक्षाका लागि आईओई इन्ट्रान्सको तयारी कक्षा क्लाम्पहुकमार्फत लिएका थिए । क्लाम्पहुक प्रधान आफैँले साथीहरूसँग मिलेर सञ्चालन गरेको आईओई तयारी कक्षा हो ।
दिनेशका साथै रितेश सापकोटा, बिक्की छन्त्याल र विप्लव कार्की यस संस्थाका सह संस्थापक हुन् । सन् २०१९ बाट सुरु भएको उक्त इन्स्टिच्युटले अनलाइनमार्फत आईओईको इन्ट्रान्स तयारी गराउँथ्यो । कोरोना महामारी कम भएसँगै भौतिक र अनलाइन माध्यमबाट नै कक्षा सञ्चालन गरिएको उनले सुनाए ।
उनका अनुसार हाल यस संस्थाले वार्षिक २५ सयदेखि ३००० विद्यार्थीहरूलाई इन्ट्रान्सको तयारी गराउँदै आएको छ । यसले आईओईको प्रवेश परीक्षाका साथै लोक सेवाको तयारी कक्षा समेत सञ्चालन गर्दै आएको छ । आफ्ना विद्यार्थीहरू मध्ये एक जनाले आईओईको ब्याचलर्स र दुई जनाले मास्टर्समा इन्ट्रान्स टप गरिसकेको उनले सुनाए । त्यस्तै यस अघि क्लाम्पहुककै सह-संस्थापक बिक्की छन्त्यालले आईओई एमएससी इन्ट्रान्समा चौथो स्थान हासिल गर्न सफल भएका थिए ।
प्रधानले आफ्नै इन्स्टिच्युटमार्फत नै आईओई एमएससीको प्रवेश परीक्षाको तयारी गरेको बताए । आफ्नै संस्थाबाट अध्ययन गरेर इन्ट्रान्स टप गर्दा विद्यार्थीको विश्वास थप बढ्दै गएको महसुस गरेको उनको भनाई छ ।
यस्तै अध्ययनलाई निरन्तरता दिँदै भविष्यमा क्लाम्पहुककै विस्तारमा लाग्ने उनको योजना छ । “अहिले हामी तीन जना को-फाउन्डर मिलेर इन्स्टिच्युट चलाइरहेका छौँ । हामी कसैको पनि यसलाई छाडेर विदेश तिर जाने सोच छैन ।”
भविष्यमा इन्जिनियरिङको लाइसेन्स निकाल्नका लागि आवश्यक पर्ने कक्षा समेत सञ्चालन गर्ने उनको योजना छ । उनले भने, “हामीजस्तै अरू संस्थाभन्दा २० प्रतिशत सस्तोमा तयारी कक्षा दिन्छौँ ।” प्रविधिसहितको प्रयोग तथा अनलाइन र भौतिक कक्षाहरू सञ्चालन गरेर उत्कृष्ट नतिजा निकालिरहेको उनले बताए । भविष्यमा थप विद्यार्थीहरूलाई समेट्न सक्ने गरी संस्थाको विस्तार गर्ने उनले सुनाए ।