close

अनलाइनमा बेचिने आफ्नो सामानको रिभ्यु आफैँ दिने व्यवसायीलाई ५ लाखसम्म जरिबाना र ३ वर्षसम्म कैद

टेकपाना टेकपाना

चैत ६, २०८१ १९:९

अनलाइनमा बेचिने आफ्नो सामानको रिभ्यु आफैँ दिने व्यवसायीलाई ५ लाखसम्म जरिबाना र ३ वर्षसम्म कैद

काठमाडौं । सरकारले अनलाइन मार्फत वस्तु तथा सेवाको बिक्री गर्ने व्यवसायी आफैँले त्यसको विशेषता र गुणस्तरको विषयमा रिभ्यु तथा कमेन्ट गरेमा दण्डित गर्ने भएको छ । हालै राष्ट्रपतिबाट प्रमाणीकरण भएको विद्युतीय व्यापार ऐन २०८१ मा यस किसिमको प्रावधान समेटिएको हो । 

ऐनको दफा १५ (सूचीमा आधारित विद्युतीय व्यापार गर्ने व्यवसायीको दायित्व) र दफा १६ (विक्रेताको दायित्व) अन्तर्गत आफैँले रिभ्यु दिन नमिल्ने व्यवस्था राखिएको छ । दफा १५ को उपदफा (ग) मा भनिएको छ, "बिक्रीको लागि प्लेटफर्ममा राखिएको वस्तु वा सेवाको आफैँ वा अन्य कुनै व्यक्तिलाई छद्‍म उपभोक्ताको रूपमा प्रस्तुत गरी त्यस्तो वस्तु वा सेवाको गुणस्तर तथा विशेषताको सम्बन्धमा समीक्षा वा मूल्याङ्कन गर्न तथा प्रतिक्रिया प्रविष्ट गर्न नहुने ।" 

यस्तै प्रावधान दफा १६ को उपदफा (च) मा पनि उल्लेख छ । "विक्रेता आफैँले मध्यस्थ व्यवसायीलाई बिक्रीको लागि उपलब्ध गराएको वस्तु वा सेवाको आफैँ वा अन्य कुनै व्यक्तिलाई छद्‍म उपभोक्ताको रूपमा प्रस्तुत गरी त्यस्तो वस्तु वा सेवाको गुणस्तरको सम्बन्धमा समीक्षा वा मूल्याङ्कन गर्न तथा प्रतिक्रिया प्रविष्ट गर्न नहुने," त्यसमा भनिएको छ । 

यी दुवै दायित्वलाई ऐनको परिच्छेद-४ अन्तर्गत दफा २१ र २३ ले सजायको कसुरको रूपमा कायम गरेको छ । जुन कसुर गरे वा गराएमा कसुरको मात्रा हेरी ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा ६ महिनादेखि ३ वर्षसम्म कैद वा दुवै सजाय हुने भनिएको छ । 

यस्ता छन्, ५ लाखसम्म जरिबाना र ३ वर्षसम्म कैद हुन सक्ने कसुर 

निम्न मध्ये कुनै कसुर गरे वा गराएमा सो कसुरको मात्रा हेरी यस किसिमको सजाय हुनेछ । 

  • बिक्री भएको वस्तु वा सेवाका लागि दिएको वारेन्टी वा ग्यारेन्टीको सर्त पालना नगरेमा । 

  • विद्युतीय प्लेटफर्ममा अलग अलग विक्रेताबाट बिक्रीको लागि उपलब्ध गराइएका एउटै वर्गका वस्तु वा सेवाबिच भेदभाव गर्ने वा कुनै विशेष विक्रेताका वस्तु वा सेवाको बिक्रीलाई ग्राह्यता दिएमा । 

  • बिक्री गरेको कुनै वस्तु वा सेवा भने अनुसार नभई क्रेताले फिर्ता गर्न चाहेमा त्यस्तो वस्तु वा सेवा फिर्ता लिने, सट्‍टापट्‍टा गर्ने वा रकम फिर्ता गर्ने कार्य नगरेमा । 

  • बिक्रीका लागि राखिएको वस्तु वा सेवाको आफैँ वा अन्य कुनै व्यक्तिलाई छद्‍म उपभोक्ताको रूपमा त्यस्तो वस्तु वा सेवाको गुणस्तर तथा विशेषताको सम्बन्धमा रिभ्यु वा मूल्याङ्कन गरेमा तथा कमेन्ट राखेमा । 

  • बिक्रीको लागि राखिएको वस्तु वा सेवाको विज्ञापन गर्दा त्यसको वास्तविक विशेषता, प्रयोग विधि तथा अन्य विवरण झुक्याउने गरी प्रस्तुत गरेमा ।

  • वस्तु वा सेवा डिस्प्ले गरे वा आपसमा मञ्जुर गरे बमोजिम नभएको, ढिलो गरी डेलिभरी भएको वा त्रुटिपूर्ण भएमा सो फिर्ता गरी रकम फिर्ता नगरेमा । 

  • बिक्री गरेको वस्तु वा सेवाको आधिकारिकताको विषयमा घोषित प्रतिबद्धता जनाएकोमा सो सम्बन्धमा कुनै प्रश्न ब्यहोर्नुपर्ने दायित्वबाट पन्छिएमा । 

  • मध्यस्थ व्यवसायीलाई बिक्रीका लागि वस्तु वा सेवा उपलब्ध गराउँदा वा अन्य कुनै अवस्थामा कुनै किसिमको अनुचित व्यापारिक कारोबारमा संलग्न भएमा ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८१ १९:९