काठमाडौं । तपाईंले ‘बर्नर फोन’ को बारेमा सुन्नुभएको छ ? यो सस्तो फोन हो, जुन छोटो समयका लागि प्रयोग गर्न खरिद गरिन्छ । यसलाई खासगरी आफ्नो पहिचान लुकाउन, ट्र्याकिङबाट बच्न वा गैरकानुनी गतिविधि गर्न प्रयोग गरिन्छ । एकपटक काम भइसकेपछि फोन जलाइन्छ । त्यसैले यसलाई बर्नर फोन नाम दिइएको हो । अहिले फोन जलाउने भन्दा फाल्ने प्रवृत्ति छ ।
तर ईमेलको कुरामा किन बर्नर फोनको प्रसंग जोडियो ? खासमा हामीले यहाँ बर्नर ईमेलको चर्चा गर्दैछौं । यस्तो ईमेल जसलाई अस्थायी रूपमा प्रयोग गरिन्छ ।
एप डाउनलोड गर्दा होस् वा न्युजलेटरका लागि साइन अप गर्दा, अथवा अनलाइनमा कुनै विशेष अफर लिँदा, तपाईंले आफ्नो ईमेल एड्रेस दिनै पर्ने हुन्छ । हामीमध्ये अधिकांश प्रयोगकर्ता जुनसुकै सेवा लिनका लागि पनि आफूलाई याद भएको आफ्नो सक्कली स्थायी ईमेल एड्रेस उपलब्ध गराउँछौं । तर यस्तोमा तपाईंले आफ्नो सक्कली ईमेल एड्रेस नै किन दिनुपर्छ र ? अब उप्रान्त कसैले ईमेल एड्रेस माग्दा ‘ईमेल मास्क’ प्रयोग गर्नुपर्छ भन्ने विचार गर्नुहोला । ईमेल मास्क भनेको के भन्ने विषय तल चर्चा गर्छौं ।
अहिले इन्टरनेटमा यस्ता धेरै सेवा प्रदायक छन् जसले तपाईंलाई नक्कली ईमेल एड्रेस दिन्छन् र त्यसमा आएका सबै मेसेजलाई तपाईंको वास्तविक ईमेलमा पठाइदिन्छन् । विज्ञहरूका अनुसार यो गोपनीयता र सुरक्षाका लागि एकदमै उपयोगी टुल हुन सक्छ ।
ईमेल मास्किङ के हो, किन र कसरी गर्ने भन्ने बारेमा केही जानकारी यहाँ दिइएको छः
ईमेल मास्किङको अवधारणा एकदम सरल छ । मास्किङ सेवाले तपाईंलाई एउटा र्यान्डम ईमेल एड्रेस दिन्छ जुन तपाईंले आफ्नो सक्कली ईमेलको सट्टा प्रयोग गर्न सक्नुहुन्छ । यो एड्रेस कुनै अर्थ नलाग्ने शब्दको समूह हुन सक्छ, अथवा अक्षर र नम्बरको संयोजन पनि हुन सक्छ । जब कसैले त्यो नक्कली ईमेल एड्रेसमा मेसेज पठाउँछ, त्यो स्वचालित रूपमा तपाईंको वास्तविक एड्रेसमा पुग्छ । तर, यो अर्को व्यक्तिलाई थाहै हुँदैन ।
गोपनीयतामा ध्यान दिने सर्च इन्जिन डकडकगो (DuckDuckGo) को ईमेल प्रोटेक्सन (Email Protection) सेवा, ब्राउजर बनाउने मोजिला (Mozilla) को फायरफक्स रिले (Firefox Relay), ईमेल सेवा फास्टमेल (FastMail) र एड्डी डट आईओ (Addy.io) जस्ता प्रदायकले उक्त नक्कली ईमेल उपलब्ध गराउँछन् ।
इन्क्रिप्टेड सेवा प्रोटोन मेल (Proton Mail) ले आफ्नो पासवर्ड म्यानेजर र सिम्पल लगइन (SimpleLogin) सेवाको साथ ईमेल मास्किङ सेवा दिन्छ । यस्ता अन्य धेरै सेवा पनि उपलब्ध छन् ।
यो एउटा यस्तो सुविधा हो जुन एप्पलले आफ्नो आईक्लाउड प्लस (iCloud+) वा एप्पल वन (Apple One) सेवा लिने प्रयोगकर्तालाई दिन्छ ।
तपाईंले आफ्नो आईफोनमा सफारी ब्राउजर एप प्रयोग गरिरहनुभएको छ र ईमेल एड्रेस हाल्नुपर्ने भयो भने किबोर्डमाथि रहेको फिल्डमा ‘हाइड माई ईमेल (Hide My Email)’ मा ट्याप गर्न सक्नुहुन्छ । यसले एउटा अनियमित एड्रेस बनाउँछ र त्यसलाई तपाईंको सक्कली ईमेलको सट्टामा प्रयोग गर्छ ।
यो सुविधा डेस्कटप सफारी ब्राउजर वा मेल एप भएको म्याक कम्प्युटरमा पनि उपलब्ध छ । यदि तपाईं फरक ब्राउजर वा एप प्रयोग गर्दै हुनुहुन्छ भने आफ्नो आईक्लाउड सेटिङमा गएर म्यानुअली र्यान्डम ईमेल एड्रेस बनाउन सक्नुहुन्छ ।
मुख्य विशेषता
अधिकांश प्रदायकले सामान्य फिचर सहितका ईमेल निःशुल्क उपलब्ध गराएका हुन्छन् । स्तरीय फिचरका लागि भने शुल्क तिरेर प्रिमियम सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ ।
केही निःशुल्क सेवाले ईमेल प्राप्त मात्र गर्न सक्छन्, तर रिप्लाई दिन सक्दैनन् । प्रोटोनका सीईओ एन्डी येनले एसोसिएटेड प्रेसलाई भने अनुसार प्रयोगकर्ताले हेर्नुपर्ने एउटा महत्त्वपूर्ण विशेषता भनेको ईमेलको रिप्लाई दिन सक्ने क्षमता हो ।
“तपाईंले न्युजलेटरलाई कहिल्यै जवाफ नदिनुहोला, त्यो ठिकै छ,” येनले भने, “तर यदि तपाईंले आफ्नो नक्कली ईमेल प्रयोग गरेर अनलाइनमा केही सामान किन्नुभयो र त्यसमा कुनै समस्या आयो जसको बारेमा साइटले तपाईंलाई सोध्नुपर्ने भयो भने यो त समस्या हुन सक्छ ।”
“त्यस्तो अवस्थामा जवाफ दिन सक्ने क्षमता एकदमै महत्त्वपूर्ण हुन्छ,” उनले थपे । धेरैजसो मास्किङ सेवामा ड्यासबोर्ड कन्ट्रोल प्यानल हुन्छ जहाँ तपाईंले एक्टिभ गरेका विभिन्न नक्कली एड्रेस हेर्न सक्नुहुन्छ । यदि तपाईंले कुनै एड्रेसमा धेरै स्प्याम आइरहेको देख्नुभयो भने, त्यसलाई बन्द गरिदिनुपर्ने हुन्छ ।
यो कहिले प्रयोग गर्ने ?
तपाईं गोपनीयतालाई थप सुरक्षित बनाउन चाहनुहुन्छ वा डेटा लिक अथवा अनधिकृत जानकारी शेयर गर्नबाट आफूलाई बचाउन चाहनुहुन्छ भने तपाईंले ईमेललाई मास्क लगाउनु पर्ने हुन्छ ।
मोजिलाका प्रमुख प्रडक्ट म्यानेजर सान्टियागो एन्ड्रीगोका अनुसार ईमेल मास्क एउटा सामान्य उद्देश्यको टुल हो जुन कुनै पनि सन्दर्भमा प्रयोग गर्न सकिन्छ ।
तर, उनले यसलाई दुई ओटा मुख्य अवस्थामा प्रयोग गर्न सुझाव दिन्छन् । एउटा कुनै वेबसाइटले तपाईंको ईमेल एड्रेसलाई के गर्छ भन्ने थाहा छैन भने त्यस्तो अवस्थामा प्रयोग गर्न सक्नुहुन्छ ।
“ईमेल मास्किङ गर्दा तपाईंले आफ्नो ईमेलमाथि पूर्ण नियन्त्रण राख्न सक्नुहुन्छ । यदि कुनै अनावश्यक मेसेज आउन थाले भने त्यो मास्क गरिएको ईमेललाई ब्लक गरेर सजिलै रोक्न सकिन्छ,” एन्ड्रीगोले भने ।
जब कुनै सेवा प्रदायकले तपाईंको संवेदनशील जानकारी लिक गरिदिन सक्छ जस्तो लाग्छ त्यस्तो बेला पनि ईमेल मास्किङ प्रयोग गर्न सक्ने एन्ड्रीगोको सुझाव छ ।
उदाहरणका लागि यदि तपाईं कुनै विशेष स्वास्थ्य अवस्था वा अल्पसंख्यक समूहको लागि अनलाइन समुदायमा सामेल हुनुहुन्छ भने डेटा ब्रिचले तपाईंको सहभागिता उजागर गर्न सक्छ । त्यस्तोमा यो उत्तम विकल्प हो ।
ईमेल फेल
आफ्नो ईमेल एड्रेस जोसुकैलाई दिन नहुने धेरै कारण छन् । तपाईंको ईमेल एड्रेस मार्केटर वा शंकास्पद डेटा ब्रोकरलाई बेच्न सकिन्छ, जसले तपाईंको बारेमा जानकारी जम्मा गरेर तपाईंको गोपनीयतालाई खतरामा पार्न सक्छन् ।
यदि तपाईंको एड्रेस गलत मेलिङ सूचीमा पर्यो भने, यसले धेरै जङ्क वा फिसिङ ईमेल निम्त्याउन सक्छ । र यदि कुनै अनलाइन सेवा ह्याक भयो भने आक्रमणकारीले लगइन, पासवर्ड र अन्य व्यक्तिगत जानकारी चोर्न सक्छन् ।
आफ्नो सबै अनलाइन अकाउन्टका लागि बलियो पासवर्ड प्रयोग गर्नु पर्छ । यसका लागि पासवर्ड म्यानेजरले तपाईंलाई मद्दत गर्छ । पासवर्ड म्यानेजर प्रयोग गर्नु साइबर सुरक्षाको राम्रो अभ्यास हो । “तर कुनै पनि प्रयोगकर्ताको लागि वास्तविक समस्या भनेको पासवर्ड लिक हुनु होइन । बरु ईमेल लिक हुनु हो,” येनले भने ।
डेटा ब्रिचपछि आफ्नो पासवर्ड परिवर्तन गर्नु सामान्य अभ्यास हो । गर्न सकिन्छ पनि । तर, अर्को संवेदनशील जानकारी आफ्नो ईमेल एड्रेस परिवर्तन गर्न गाह्रो हुन्छ । त्यसैले ईमेल मास्किङ यसमा सबैभन्दा राम्रो विकल्प हो ।
झूटा समाधान
तपाईंले अरू केही तथाकथित उपायको बारेमा पनि सुन्नुभएको होला । तपाईंले जिमेल वा याहु जस्ता निःशुल्क ईमेल सेवाको साथ एउटा फाल्तु अकाउन्ट बनाउन सक्नुहुन्छ । तर यो गर्न झन्झटिलो हुन्छ ।