काठमाडौं । इन्टरनेट सेवाप्रदायक डिशहोमले अब इन्टरनेटसँगै वाई-फाई आईपी क्यामेरा पनि बिक्री गर्ने भएको छ । ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले सुरक्षा निगरानीका लागि वाई-फाई आईपी क्यामेरा उपलब्ध गराउने भएको हो ।
यसअन्तर्गत ईजभीज र हाइकभिजनको नेपाल वितरक शारडा ग्रुपको भगिनी संस्था वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोमले रणनीतिक साझेदारी घोषणा गरेको छ ।
ईजभीजले वाई-फाई आईपी क्यामेराहरू उत्पादन गर्दै आएको छ । क्यामेरा उत्पादक तथा इन्टरनेट सेवाप्रदायकको यो सहकार्यले घरपरिवारहरूमा भरपर्दो र स्मार्ट निगरानीका लागि प्रयोग हुने क्यामेराको बढ्दो माग सम्बोधन हुने डिशहोमको विश्वास छ ।
“हाई–ब्यान्डविथका आवासीय इन्टरनेटको व्यापक उपलब्धतासँगै नेपालीहरूले पनि आफ्नो इन्टरनेटसँग जोडिन सक्ने स्मार्ट उपकरणहरूको खोजी बढ्दो रूपमा गरिरहेका बेला इन्टरनेट सेवा र वाई-फाई आईपी क्यामेरा एक-अर्काका पूरक हुने भएकाले डिशहोमले आफ्ना वाई-फाई आईपी आवश्यकतामा महसुस गरेका ग्राहकलाई आफ्नो देशैभर रहेको डिलर दाइको नेटवर्क मार्फत वाई-फाई आईपी क्यामेरा उपलब्ध गराउनेछ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ईजभीजको एडभान्स्ड मनिटरिङ क्यामेराहरूमा उच्च भिडिओ गुणस्तर, नाइट भिजन, मोसन डिटेक्सन क्षमता र मोबाइल एपहरूमार्फत सहजै पहुँच पाउन सकिने जस्ता सुविधा रहेका छन् ।