close

कसैलाई छुँदा करेन्ट लागेजस्तो हुन्छ ? थाहा पाइराख्नुस् वैज्ञानिक कारण अनि असर र समाधानका उपाय

टेकपाना टेकपाना

चैत २४, २०८१ १०:१८

कसैलाई छुँदा करेन्ट लागेजस्तो हुन्छ ? थाहा पाइराख्नुस् वैज्ञानिक कारण अनि असर र समाधानका उपाय

काठमाडौँ । कसैसँग हात मिलाउन खोज्दा वा ढोकाको ह्यान्डल छुन लाग्दा तपाईँले कहिलेकाहीँ हलुका विद्युतीय झट्का वा करेन्ट लागेको जस्तो महसुस गर्नु भएकै होला। यसले तपाईँलाई आश्चर्य तुल्याएको, हँसाएको वा अन्योलमा पारेको हुन सक्छ । यस्तो झट्का हानिकारक त हुँदैन, तर यो अप्रत्याशित हुन सक्छ । त्यसो भए यो झट्का लाग्दा के हुन्छ त ?

यसो हुनुको पछाडि रोचक वैज्ञानिक कारण छ । यसलाई स्थिर बिजुली (Static Eectricty) भनिन्छ र यो तपाईँले सोचेको भन्दा धेरै सामान्य कुरा हो । आज हामी तपाईँलाई यो कसरी उत्पन्न हुन्छ, तपाईँको शरीरबाट यस्तो झट्का लाग्ने सम्भावना कसरी हटाउने, र यसले तपाईँको दैनिक जीवनमा पार्ने प्रभावबारे बताउँदै छौँ ।

स्थिर बिजुली अर्थात् स्टाटिक इलेक्ट्रिसिटी के हो ?

स्थिर बिजुली अर्थात् स्टाटिक इलेक्ट्रिसिटी भनेको कुनै वस्तु वा तपाईँको शरीरको सतहमा जम्मा भएको विद्युतीय चार्ज हो । यो सामान्यतया दुई फरक सामग्रीहरू एकसाथ घर्षण हुँदा उत्पन्न हुन्छ । उदाहरणका लागि, जब तपाईँ मोजा लगाएर कार्पेटमा हिँड्नुहुन्छ, तपाईँको शरीरले कार्पेटबाट अतिरिक्त इलेक्ट्रोनहरू लिन्छ । यी साना कणहरू बिजुली बन्ने चीजहरू मध्ये एक हुन् ।

स्थिर बिजुली, जसलाई इलेक्ट्रोस्ट्याटिक्स पनि भनिन्छ । जुन वस्तुको सतहमा विद्युतीय चार्जको सञ्चय हो । यो चार्ज धनात्मक वा ऋणात्मक हुन सक्छ । यो तब हुन्छ, जब कुनै सामग्रीको परमाणुले इलेक्ट्रोनहरू प्राप्त गर्छ वा गुमाउँछ ।

जब तपाईँ अर्को व्यक्ति वा धातुको वस्तु छुनुहुन्छ, तपाईँको शरीरबाट अतिरिक्त चार्ज तिनीहरूमा तुरुन्तै स्थानान्तरण हुन्छ । यो द्रुत किसिमको ट्रान्सफरणले तपाईँलाई सानो विद्युतीय झट्का वा करेन्ट लागेको महसुस गराउँछ ।

जाडो वा सुख्खा मौसममा किन धेरै हुन्छ ?

तपाईँले याद गर्नुभएको हुनुपर्छ, जाडो मौसममा वा सुख्खा भएको बेला स्टाटिक झट्काहरू धेरै पटक लाग्ने गर्छन् । यसो हुनुको कारण जाडोको हावा गर्मीको भन्दा सुक्खा हुन्छ । लामो समयको खडेरीले पनि यस्तो अवस्था निम्त्याउन सक्छ । हावामा भएको आर्द्रताले तपाईँको शरीरबाट चार्जलाई लिएर गइरहेको हुन्छ । यदि हावा सुक्खा छ भने, यस्तो चार्ज लैजान सक्दैन, त्यसैले यो जम्मा भएर बसेको हुन्छ।

जाडोमा हावा सुक्खा हुन्छ, र हाम्रो छालाको सतहमा इलेक्ट्रोनहरू सजिलै बन्छन् । गर्मीमा हावाको आर्द्रताले नकारात्मक इलेक्ट्रोनहरूलाई पुछेर लैजान्छ र हामीले विद्युतीय चार्ज शायदै महसुस गर्छौँ ।

जाडोमा भित्र प्रयोग गरिने हिटरहरूले हावालाई अझ सुक्खा बनाउँछ, जसले स्टाटिक इलेक्ट्रिसिटीको सम्भावना बढाउँछ । त्यसैले चिसो हुँदा तपाईँले धेरै झट्काहरू महसुस गर्नुहुन्छ ।

के यस्तो विद्युतीय झट्का हानिकारक हुन्छ ?

ती साना स्थिर झट्काहरूले तपाईँको स्वास्थ्यमा हानि गर्दैनन् । तिनीहरूले तपाईँलाई असहज वा चकित पार्न त सक्छन् । तर धेरैजसो मानिसहरूका लागि यस्तो झट्का पूर्णतः सुरक्षित नै मानिन्छ । स्थिर झट्कामा ऊर्जा न्यूनतम हुन्छ, जुन क्षणिक रूपमा असहजता उत्पन्न गर्न मात्र पर्याप्त हुन्छ ।

तर केही अवस्थामा, जस्तै ज्वलनशील पदार्थ वा संवेदनशील विद्युतीय सामग्रीको नजिक भएको बखत भने यस्तो झट्का खतरनाक हुन सक्छ । त्यसकारण ग्यास स्टेसन वा कम्प्युटर चिप उत्पादन जस्ता कम्पनीहरू यसबाट बच्ने हर सम्भव प्रयास गरिरहेका हुन्छन् ।

यस्तो झट्काबाट बच्न सक्नुहुन्छ?

यदि तपाईँलाई स्थिर झट्काहरू असहज लाग्छन् भने, निम्न तरिका अपनाएर त्यसलाई कम गर्न सक्नु हुन्छ ।

  • आफ्नो छालालाई मोइस्चराइज गर्नुहोस्: सुक्खा छालामा धेरै स्थिर चार्ज हुन्छ । त्यसैले बारम्बार लोसन प्रयोग गर्नुहोस्।

  • ह्युमिडिफायर प्रयोग गर्नुहोस्: हावामा भएको आर्द्रताले स्थिर बिजुलीलाई डिस्चार्ज गर्छ । यस्तोमा ह्युमिडिफायर प्रयोग गर्दा वातावरणमा आर्द्रताको उपयुक्त स्तर कायम हुन्छ र स्थिर बिजुलीको सञ्चय कम गर्न र हावामा बिजुलीको प्रवाहलाई सहज बनाउन मद्दत गर्दछ ।

  • सिन्थेटिक कपडाहरू नलाउनुहोस्: ऊन वा पोलिस्टरको साटो कपास जस्ता प्राकृतिक कपडाहरू लगाउनुहोस् ।

  • खाली खुट्टा हिँड्नुहोस्: भुइँ वा घाँस जस्ता प्राकृतिक सतहहरूमा खाली खुट्टा हिँड्दा स्थिर बिजुलीलाई डिस्चार्ज गर्न मद्दत गर्दछ ।

कसैलाई छुँदा तपाईँले महसुस गर्ने झिनो विद्युतीय झट्का साधारणतया स्थिर बिजुली हो, जुन जम्मा भएको विद्युतीय चार्जको हानी रहित र प्राकृतिक परिणाम हो । यो सुक्खा अवस्थामा र केही सामग्रीहरूसँग धेरै हुन्छ । तर केही सजिला तरिका अपनाएर, तपाईँ यसलाई कुरा कम गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: चैत २४, २०८१ १०:२७