close

ड्रोन, सीसीटीभी र गोप्रो क्यामेराबाट आजको राजावादी प्रदर्शनको निगरानी गर्दै प्रहरी

टेकपाना टेकपाना

चैत २६, २०८१ ९:५९

ड्रोन, सीसीटीभी र गोप्रो क्यामेराबाट आजको राजावादी प्रदर्शनको निगरानी गर्दै प्रहरी

काठमाडौँ । आज मङ्गलबार २६ चैतका दिन राजधानीमा राप्रपा लगायतका राजतन्त्र समर्थकहरूले गर्ने प्रदर्शनको निगरानीका लागि प्रहरीले प्रविधिको सहयोग लिने भएको छ । बल्खु लगायतका स्थानमा राजतन्त्र पुनर्स्थापना गर्ने माग सहित हुने प्रदर्शनको निगरानीमा ड्रोन, सीसीटीभी क्यामेरा र गोप्रो क्यामेरा प्रयोग गरिने भएका हुन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराले आवश्यकता अनुसार ड्रोनहरू उडाएर प्रदर्शनका क्रममा हुने गतिविधिको निगरानी गरिने बताए । "ड्रोनका साथै सीसीटीभी क्यामेरा र गोप्रो क्यामेराबाट पनि निगरानी बढाइनेछ," टेकपानासँगको कुराकानीमा उनले भने, "गोप्रो क्यामेरा प्रत्यक्ष रूपमा खटिने प्रहरी कर्मचारी तथा अधिकारीहरूको शरीरमा रहनेछ ।"

यसअघि भृकुटी मण्डपमा गर्ने भनिएको सो प्रदर्शन जिल्ला प्रशासन कार्यालयले बल्खुका लागि तोकिदिएको थियो । सोही अनुसार आज राप्रपा सहितका राजावादी समूहले प्रदर्शनको आयोजना गरेका हुन् ।

गएको १५ चैतमा राजधानीको तीनकुने, कोटेश्वर क्षेत्रमा आयोजित राजावादी प्रदर्शनका क्रममा दुई जनाको ज्यान जानुका साथै निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी तथा लुटपाटका घटना भएका थिए । सोही किसिमकव अराजकता दोहोरिन नदिन प्रहरीले सतर्कता अपनाउँदै निगरानी बढाएको हो ।

पछिल्लो अध्यावधिक: चैत २६, २०८१ ९:५९